
जाजरकोट । जिल्लाको नलगाड नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिरहेको छ । कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ संशोधन विधेयकमा कर्मचारीमैत्री माग तथा मुद्दाहरू समावेश नभएको भन्दै अत्यावश्यक बाहेका सेवा प्रवाह बन्द गरिएको हो ।
यसै सन्दर्भमा, स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल, कर्णाली प्रदेश समितिको आयोजनामा सुरु गरिएको आन्दोलन अन्तर्गत अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ।

नलगाड नगरपालिका सहित प्रदेशका विभिन्न नगरपालिकाहरूमा कार्यरत कर्मचारीहरूले विरेन्द्रनगर, सुर्खेत केन्द्रित धर्ना दिँदै सरकारसँग आफ्ना माग पुरा गर्न दबाब दिइरहेका छन् ।
नलगाड नगरपालिका कर्मचारी सञ्जाल नेपालले एक विज्ञप्ति जारी गर्दै मिति २०८२ जेठ ११ गतेदेखि अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ । यसबाट सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूले क्षमा याचना गरेका छन् ।
संयोजकको हस्ताक्षरसहित जारी विज्ञप्तिमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई समन्वय तथा सहजीकरणका लागि अनुरोध गरिएको छ भने जिल्ला प्रशासन कार्यालय, जाजरकोटलाई जानकारीका लागि पत्र पठाइएको छ ।
स्थानीय सेवा कर्मचारीहरूको आन्दोलनले प्रदेशमा सेवा प्रवाह प्रभावित बनेको छ भने यस आन्दोलन थप विस्तार हुने संकेत देखिएको छ ।

















































हाम्रो पहुँच संवाददाता । १२ जेष्ठ २०८२, आईतवार