
जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिकाको नाममा नक्कली छाप, लेटरप्याड र रसिद बनाएर ठगी गर्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुनिचाँदे गाउँपालिका–२ का २३ वर्षीय पारस शाही र वडा नं. ११ का २१ वर्षीय यज्ञश्वर बहादुर शाही रहेका छन्।
उनीहरूले गाउँपालिकाबाट निकासी हुने जडिबुटी तथा खनिजजन्य पदार्थ ढुवानीका लागि आवश्यक पर्ने अनुमति देखाउने नक्कली कागजात तयार गरी, गाडी मालिकहरूसँग अवैध रुपमा रकम असुली गर्ने कार्य गर्दै आएका थिए।
प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बडावन र प्रहरी चौकी जुनिचाँदेबाट खटिएको संयुक्त टोलीले छानबिन गर्दै जाँदा, छेडागाड र जुनिचाँदे गाउँपालिकाको सिमानास्थित रादेउ सडकखण्डबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार, पक्राउ परेका दुबै जनामाथि जिल्ला अदालत खलंगा, जाजरकोटबाट पाँच दिनको म्याद थप अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार उनीहरूबाट नक्कली छाप, रसिद र लेटरप्याडसहितका प्रमाणहरू बरामद गरिएको छ। अनुसन्धानपछि उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
















































हाम्रो पहुँच संवाददाता । ९ जेष्ठ २०८२, बिहीबार