बहुआयामिक सम्भावना बोकेको बारेकोट !

परिचय
कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि करिब १९२ कि.मि. उत्तरमा अवस्थित बारेकोट गाउँपालिका जाजरकोट जिल्लाका सात स्थानीय तहहरूमध्ये एक महत्वपूर्ण स्थानीय तह हो ।

विशेषतः उच्च पहाडी भू–भागमा फैलिएको यो गाउँपालिका प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक, जैविक र कृषि विविधताले भरिपूर्ण क्षेत्र हो । साबिकका रामीडाँडा, नायकवाडा, सक्ला, र रोकायगाउँ विकास समितिहरूलाई समेटेर २०७३ साल फागुन २७ गते यो गाउँपालिका गठन गरिएको हो ।

नामाकरण र ऐतिहासिक महत्व
गाउँपालिकाको नाम “बारेकोट” राखिनुको विशेष कारण छ । यो नाम यहाँ रहेका बाह्र वटा ऐतिहासिक कोट (डाँडा वा थुम्का) हरुको आधारमा राखिएको हो ।

ती कोटहरू क्रमशः सिनाकोट, धौलकोट, रानाकोट, सुवाकोट, तलकोट, चिमकोट, रतनकोट, उनीकोट, दुनीकोट, लम्तीकोट, नयरकोट, र चुत्रीकोट हुन् । यी डाँडाहरूले केवल भौगोलिक मात्र होइन, ऐतिहासिक र सांस्कृतिक महत्व पनि बोकेका छन् ।

भौगोलिक अवस्था
बारेकोट गाउँपालिका समुद्री सतहदेखि ६१० मिटरदेखि ५,४१२ मिटरको उचाइमा फैलिएको छ । २८ डिग्री ५८ मिनेट उत्तरदेखि २९ डिग्री ०७ मिनेट उत्तरी अक्षांश र ८२ डिग्री ११ मिनेट पूर्वदेखि ८२ डिग्री ४१ मिनेट पूर्वी देशान्तर बीच फैलिएको छ । यस्तो भौगोलिक विविधताले यहाँ समशीतोष्णदेखि हिमाली जलवायु क्षेत्रसम्मका सम्पदाहरू प्रदान गर्दछ ।

No photo description available.

साइक्वाँरी ताल बारेकाेट तस्विर : गाेविन्द्र सिंह

प्रशासनिक संरचना
यो गाउँपालिका ९ वटा वडामा विभाजित छ । यसको प्रशासनिक केन्द्र साविकको रोकायगाउँ गाविसको लिम्सा गाउँमा राखिएको छ ।

जनसंख्या, जातीय संरचना, धर्म र भाषा
बारेकोट गाउँपालिकाको कुल क्षेत्रफल ५७७.५ वर्ग किलोमिटर हो । यहाँ कुल ३ हजार ८ सय ८७ घरधुरीमा करिब २२ हजार ५ जनसंख्या बसोबास गर्छन् ।

जातीय संरचना अनुसार यहाँ प्रमुख रूपमा क्षेत्री (४१%), विश्वकर्मा (२२%), ठकुरी (२०%), मगर (६.४%), मिजार (३.२%), र ब्राह्मण (२.८%) छन् । हिन्दू धर्मावलम्बीको बाहुल्यता (९८.४%) रहेको छ । भाषाको हिसाबले नेपाली ९८.७% ले बोल्छन् भने अन्य भाषाहरू १.३% ले प्रयोग गर्छन् । साक्षरता दर ७८.६% रहेको छ ।

कृषि, पशुपालन, फलफूल, र जडीबुटी
बारेकोटको अर्थतन्त्र मुख्य रूपमा कृषि, पशुपालन, जडीबुटी संकलन र पर्यटनमा आधारित छ । करिब ८६.३% जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेशामा संलग्न छन् ।

मुख्य अन्नबालीहरूमा मकै, गहुँ, फापर, आलु र विभिन्न तरकारीहरू छन् । फलफूल उत्पादनमा ओखर, किवी, सुन्तला, कागती, आरुबखडा, आरु, केरा आदि मुख्य छन् ।

पशुपालनमा गाई, भैंसी, बाख्रा, भेँडाच्यांग्रा पालन प्रचलनमा छ । जडीबुटी व्यवसायका लागि बारेकोट राष्ट्रिय रुपमा चिनिएको क्षेत्र हो । यहाँ पाइने प्रमुख जडीबुटीहरूमा यार्सागुम्बा, जटामसी, गुच्छी च्याउ, बोझो, पाँचऔले, पदमचलाल, सिलाजित, अल्लो, भिर मह, भूतकेश, सिस्नो, बन लसुन, अतिस, कचुर, कुरीलो आदि छन् ।

DSC04587

सिर्पाचाैर

गाभा र सिस्नोः स्वाद र स्वास्थ्यको संगम
बारेकोट र जाजरकोटका लागि विशेष र लोकप्रिय परिकारहरूको रूपमा गाभा र सिस्नो महत्वपूर्ण स्थान ओगट्छन् । यी परिकारहरू स्थानीय जनजीवनको अभिन्न हिस्सा बनेका छन् ।

गाभा पिडालुको भक्खर पलाएको मुनालाई पकाएर सुकाएर बनाइन्छ । यसलाई स्वादिलो तरकारीको रूपमा प्रयोग गरिन्छ । यसको स्वाद खासगरी “खादा” नामक परिकारमा झन् स्वादिलो हुन्छ । जाजरकोटका राजा समेत यसको स्वाद र महत्व बुझ्ने गरेको स्थानीय भनाइ छ ।

सिस्नो एक जंगली वनस्पति हो जसलाई भाजी, सूप, चटनी, अचारको रूपमा प्रयोग गरिन्छ । यसमा उच्च मात्रामा भिटामिन सी, क्याल्सियम, आइरन जस्ता पोषक तत्वहरू पाइन्छन् । यसले पाचन सुधार्ने, रक्तसञ्चार राम्रो बनाउने र सूजन कम गर्ने औषधीय गुण बोकेको छ ।

बारेकोटका पुर्खाहरूको ऐतिहासिक व्यापारिक यात्रा
बारेकोटका पुर्खाहरूले हुम्ला र जाजरकोटबाट कटुको र जटामसी संकलन गरी नेपालगन्जसम्म पुर्याएर बेच्ने गर्थे । त्यहाँबाट नुन, लत्ता–कपडा, र भाँडाकुडा ल्याएर गाउँ फर्किन्थे ।

व्यापारिक मार्ग र कठिन यात्रा
त्यस समयमा यातायातको कुनै सुविधा थिएन् । व्यापारीहरू कुशेको समाइला हुँदै थलह, सुवानाउली, मनघाट, सलिबजार, बोटेचौर, छिन्चु हुँदै नेपालगन्ज पुग्थे । आवश्यक खाद्यान्न, भाँडाकुडा आफैं बोकेर महिनौं पैदल यात्रा गर्नु परेको थियो ।

“हाट“ भन्ने परम्परा
यस व्यापारिक यात्रालाई “हाट” भनिन्थ्यो । “हाट” केवल किनमेल नभई महिनौंको संघर्षपूर्ण यात्राको पर्याय थियो । हाटबाट फर्किंदा गाउँमा उत्सव झैं माहोल हुन्थ्यो ।

सामाजिक र आर्थिक प्रभाव
हाट यात्राले गाउँमा आर्थिक जीवन्तता ल्याउँथ्यो । व्यापारिक सामग्रीको आयातले गाउँको उपभोग्य वस्तुहरूको आपूर्ति सुनिश्चित हुन्थ्यो ।

सडक निर्माणसँगै हराउँदै गएको परम्परा
हाल सडक सञ्जाल विस्तारसँगै हाट जाने परम्परा हराउँदै गएको छ । आधुनिक यातायातले जीवन सहज बनाएको छ तर परम्परागत संस्कृति र साहसिक यात्राको अनुभव हराउँदै गएको छ ।

No description available.

राँगाबाचिलाकाे देवता मनाउँदै स्थानीय

धार्मिक महत्व
बारेकोटका मुख्य देवताहरूमा राँगाबाचिलो, काल्फुर्को, सुवाकोटी, बर्मा आदि देवी–देवता प्रमुख छन् । राँगाबाचिलो देवता विशेष पूजनीय मानिन्छ ।

वडा नं. ४ मैना गाउँमा अवस्थित मन्दिरमा हरेक वर्ष भदौ पूर्णिमादेखि त्रयोदशीसम्म मेला लाग्छ । जंगलको मन्दिरमा चर्तुदशीका दिन देवता नाच्ने परम्परा रहेको छ ।

ऐतिहासिक किंवदन्ती अनुसार, नेपाल–चीन युद्धका बेला नेपाली सेनाले बार मन्दिरमा भाकल गरेपछि ताउलाखार युद्ध जितेको विश्वास छ । सेनाले सुनको जमरा लगाएको निशान सोही मन्दिरमा छोडेको भन्ने भनाइ छ, जुन अहिले पनि सुरक्षित रूपमा राखिएको छ ।

No photo description available.

करिव ५ हजार ४ सय मिटर उचाइ रहेकाे कराँचुली हिमाल

मुख्य मेला
बारेकोटमा लाग्ने प्रमुख मेला–पर्वहरूमा रामीडाँडा मेला, सुगुरखाला मेला, र कार्किज्युला मेला रहेका छन् ।

वन्यजन्तु तथा जैविक विविधता
यहाँ रेडपान्डा, कस्तुरी मृग, सालक, भालु, बाघ, झारल, घोरल, लंगुर, बदेल, स्याल, फ्याउरो, चितुवा, डाँफे, मुनाल, चाखुरा, बाज, गिद्ध जस्ता स्तनधारी र चराचुरुंगी जनावरहरूको प्रचुरता पाइन्छ ।
सामुदायिक वन व्यवस्थापन
बारेकोटको कुल क्षेत्रफलमध्ये ५९% वनजंगल छ (करीब ३४,०१० हेक्टर)। यहाँ ३३ वटा सामुदायिक वन र २१ वटा कबुलियती वन छन् ।
पूर्वाधार विकास र चुनौतीहरू
हालसम्म पनि यातायात, स्वास्थ्य, शिक्षा, तथा कृषि प्रविधि क्षेत्रमा व्यापक सुधारको खाँचो छ । सडक विस्तार भए पनि दुरगामी पहाडी बस्तीहरू अझै दुर्गम छन् ।

शैक्षिक क्षेत्र विद्यालयहरु
बारेकोटमा माद्यामिक विद्यालय ८ वटा रहेका छन् । आधारभुत विद्यालय १४ वटा र प्राथमिक विद्यालय २२ वटा गरी जम्मा ४४ वटा सामुदायिक विद्यालय रहेका छन् ।

बारेकोटका पारम्परिक व्यवसाय र आधुनिक आय आर्जनका उपायहरू
बारेकोटका मानिसहरूको प्रमुख जीविकोपार्जनका स्रोतहरू कृषिमा आधारित भएपनि बैशाखदेखि जेठ महिनासम्म विशेष किसिमका जडिबुटी संकलन तथा पशुपालनसम्बन्धी व्यवसायहरूमा पनि उनीहरू संलग्न हुन्छन् । डोल्पा र बारेकोटको सीमावर्ती क्षेत्रहरूमा पाइने गुच्छी च्याउ, जटामसी, झ्याउ, खिर्यौन्ग्लो, लगायतका बहुमूल्य जडिबुटीहरू संकलन गरेर मानिसहरूले राम्रो आम्दानी गर्ने गर्छन्। यसबाहेक, यार्सागुम्बा संकलन गर्न पनि डोल्पातर्फ जानु सामान्य प्रक्रिया बनिसकेको छ ।

स्थानीयवासीहरू भेडा, बाख्रा, गाई, भैंसी पालेर त्यसको दुध, दहि, घ्यू तथा मासु बिक्री गर्ने गर्छन्। साथै, निगालोको डोको, पाई, कुर्ची लगायतका सामाग्रीहरू बनाउने परम्परागत सीपका आधारमा पनि यहाँका मानिसहरूले आय आर्जन गर्ने गरेका छन् । यी सबै व्यवसायहरू बारेकोटका ग्रामीण जनताको आर्थिक जीवनशैलीको मूल आधार हुन् ।

निष्कर्ष
बारेकोट गाउँपालिका प्राकृतिक, ऐतिहासिक, कृषि, धार्मिक र पर्यटन हिसाबले अत्यन्त सम्भावनायुक्त क्षेत्र हो । यहाँका परम्परागत संस्कृति, स्वादिष्ट परिकारहरू, जैविक विविधता, साहसिक इतिहास र धार्मिक स्थलहरूले बारेकोटलाई नजिकबाट जान्न चाहनेहरूका लागि एक अद्भुत गन्तव्य बनाउँछ । राज्य, नीति निर्माता र स्थानीय तहले सामूहिक प्रयास गरेमा यो गाउँपालिकाले निकट भविष्यमा विकासको उत्कृष्ट नमुना पेश गर्न सक्छ ।

लेखक बस्नेत कुशे गाउँपालिका जाजरकोटमा कृषि नायब प्राविधिक सहायक पदमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया