पहिलोपटक पश्चिम जाजरकोटमा खुल्यो ‘आँखा उपचार केन्द्र’


मनघाट । छेडागाड नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पतालको सहयोगमा वडा नं. ५ वडावनको फुर्किचौरमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।

नगरपालिका प्रमुख रत्न बहादुर खड्काले रिवन काटेर उद्घाटन गरेको आँखा उपचार केन्द्रले सोमबार देखिनै आँखा जाँच गर्न सुरुवात गरेको छ । सुर्खेत आँखा अस्पतालमा कार्यरत नेत्र चिकित्सक डा. मन्जु पन्तले नगरप्रमुख खड्काका दुवै आँखा परीक्षण गरेर आँखा जाँचको सुरुवात गरेकी थिइन् । डा. पन्तकानुसार प्रमुख खड्काको दाँया आँखामा मोतिविन्दु भएको र बाँया आँखामा मासु पलाएको बताएकी थिइन् । मोतिविन्दु भन्दा पहिला बाँयामा पलाएको मासुको शल्यक्रिया गर्नु पर्ने बताएकी थिइन् ।
धुलो, धुवा, खानपान जस्ता ग्रामीण जीवनशैलीका कारण बर्सेनी मोतिविन्दुका बिरामीहरुको संख्या बढ्दै गएको नगर प्रमुख खड्काले भनाइ राखेका थिए । नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको सहयोगमा नगरपालिकाले आँखा उपचार केन्द्र स्थापना गर्न सफल भएको नगर प्रमुख खड्काले भनाइ राखेका थिए । आँखा उपचार केन्द्रको लागि आँखा जाँच गर्ने मेसिन, भिजन चार्ट, पिन होल्डर लगाएतका सामाग्री सहितको प्राथमिक औषधि सहयोग गरेकोमा सुर्खेत आँखा अस्पताललाइ नगर प्रमुख खड्काले धन्यवाद दिएका थिए ।

चेतनामा दृष्य ज्ञान हासिल गराउने आँखा मानव जीवनको महत्वपूर्ण अंग भएको नगर उपप्रमुख चन्द्र बहादुर थापाले भनाइ राखेका थिए । तुलनात्मक रुपमा मोतिविन्दुको समस्या जेष्ठ नागरिकहरुमा बढि रहेको बताउदै नगर उपप्रमुख थापाले सामान्य आँखा जाँच गर्नको लागि जिल्ला भन्दा बाहिर जानुपर्ने अबस्थाको अन्त्य भएको भनाइ राखेका थिए ।

नियमित आखाँ जाचँ गर्नु, समयमै मोतिविन्दु पहिचान गर्नु, जनचेतना अभिबृद्धि गर्नु, चश्मा तथा लेन्स सम्बन्धी सेवा उपलब्ध गराउन आँखा उपचार केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा सुर्खेत आँखा अस्पताल संचालक समितिका अध्यक्ष रामलाल आचार्यले भनाइ राखेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले आँखा उपचार केन्द्रबाट प्रवाह हुने सेवाहरुलाई विश्वसनीय तथा गुणस्तरीय बनाउन दक्ष जनशक्ति, उपकरण, औषधीको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

पश्चिम जाजरकोटका लागि उक्त आँखा उपचार केन्द्र पहिलो भएको बताइएको छ । सो केन्द्रबाट कुशे, जुनीचाँदे, शिवालय गाउँपालिका र छेडागाड नगरपालिकाका नागरिकहरु लाभाम्बित हुन सक्ने अपेक्षा राखिएको छ ।

आँखा उपचार केन्द्र स्थापनासंगै छेडागाड नगरपालिकाको आर्थिक, नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र खलंगा जाजरकोटले दुइ दिने निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर संचालन गरेको छ ।

छेडागाड नगरपालिका–५ फुर्किचौर स्थित नगर अस्पतालमा आयोजित शिविरको पहिलो दिन ८० जना मोतिविन्दुका विरामीहरुका आँखा शल्यक्रिया गरिएको सामुदायिक आँखा उपचार केन्द्र खलंगाका इन्चार्ज प्रदीपजंग शाहले जानकारी दिए ।

मोतिविन्दु शल्यक्रिया शिविरको पहिलो दिन सेवा लिने विरामीहरु छेडागाड नगरपालिका, जुनीचाँदे, कुशे र बारेकोट गाउँपालिकाका रहेका थिए । उक्त शिविरमा सुर्खेत आँखा अस्पतालमा कार्यरत नेत्र चिकित्सक डा. मञ्जु पन्तको टिमले शल्यक्रिया गरेको छ ।

तपाईको प्रतिक्रिया