
जाजरकोट । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको आर्थिक सहयोगमा भेरी नगरपालिका–२ स्थित श्री शंकर भवन माध्यमिक विद्यालयको नवनिर्मित भवन आज एक कार्यक्रमबीच उद्घाटन तथा हस्तान्तरण गरिएको छ।
अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूबाट संकलित २५ हजार अस्ट्रेलियन डलरको सहयोगमा उक्त भवन निर्माण गरिएको हो। २०८० सालको भूकम्पले क्षतिग्रस्त बनाएको विद्यालय भवनको पुनर्निर्माण एनआरएनए अस्ट्रेलियाको आर्थिक सहयोग र यार्सन जाजरकोटको प्राविधिक सहजीकरणमा सम्पन्न गरिएको हो।
उक्त भवनको उद्घाटन एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले गरे। अध्यक्ष पोखरेलले विद्यालय भवन निर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए। “भूकम्पको बेला राहत वितरण गरेका थियौं, पछि विद्यालय निर्माणका लागि पनि सहयोग जुटायौं,” उनले भने।
आठ महिनाअघि सुरु गरिएको भवन निर्माण अब सम्पन्न भई चालू शैक्षिक सत्रदेखि नै पठनपाठन सुरु भइसकेको छ। पोखरेलका अनुसार यो परियोजनामा अस्ट्रेलियामा रहेका विभिन्न संघसंस्था र व्यक्तिहरूको योगदान रहेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रकाश सिंहले विद्यालय भवन निर्माणमा आर्थिक सहयोग पुर्याएकोमा एनआरएनए अस्ट्रेलियालाई धन्यवाद व्यक्त गरे। कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष शम्भु गाइसी, ओसियाना क्षेत्रीय संयोजक दिनेश पोखरेल, विद्यार्थी, अभिभावक तथा स्थानीयको उपस्थिति रहेको थियो।


















































हाम्रो पहुँच संवाददाता । ११ बैशाख २०८२, बिहीबार