जाजरकोट पुगेर मन्त्री शाहले गरे तीनवटा पुलको शिलान्यास

जाजरकोट । पक्की पुल अभावले खोला तर्न र आवतजावतमा समस्या रहेका जिल्लाका तीन ठाउँमा पुल निर्माणको काम सुरु भएको छ । सोमबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीब बिक्रम शाहले तीनवटा पुल निर्माणको शिलान्यास गरेका हुन् ।

शिवालय गाउँपालिका वडा ९ र छेडाघाट नगरपालिका जोड्ने रिठ्ठे खोलामा पक्की पुल, छेडाघाट नगरपालिका ५ र जुनीचाँदे गाउँपालिका ६ जोड्ने बेलीब्रिज र छेडागाड नगरपालिकाको वडा ५ र १२ जोड्ने मनघाट खोलामा बेलीब्रिज पुलको शिलान्यास गरेका हुन् ।

पुलको शिलान्यास गर्न जाजरकोट पुगेका अर्थमन्त्री शाहले जनताको आवश्यकता अनुसार सरकारले सडक र पुलको निर्माणलाई प्राथमिकतामा राखेको बताए ।

पुल नहुँदा यहाँका स्थानीयले घुमाउरो र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता अन्त्य हुनेछ । कर्णाली प्रदेश सरकारले तीनवटा पुल निर्माण गर्न टेण्डर आह्वान गरेको थियो । अर्थमन्न्री शाहले आफूले निर्वाचनमा जनतासँग गरेका बाचा पूरा गर्ने कार्यमा लागि परेको बताए ।

‘मैले शिलान्यास मात्र गरेर हुँदैन, यहाँका जनता आफ्नो क्षेत्रमा हुन थालेको विकासमा चासो र चनाखो बने तोकिएको समयमै पुल निर्माण हुन्छ,’ उनले भने, ‘पुल निर्माणपछि यहाँका नागरिहरुको कष्टकर आवतजावत अन्त्य हुन्छ ।’

भौतिक पूर्वाधार मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठाले प्रदेश सरकारले विकास निर्माणमा ढिलाई नगर्ने नीति बनाएकाले सम्झौता अवधिमै पुल निर्माण हुने दाबी गरे ।

तपाईको प्रतिक्रिया