
जाजरकोट । भेरी नगरपालिकामा कर्मचारीहरूको कार्यशैलीप्रति स्थानीयवासी असन्तुष्ट छन् । कर्मचारीहरू कार्यालय समयमा हाजिरी गर्ने गरे पनि कार्यकक्षमा नदेखिने गुनासो बढ्दो छ । कतिपय कर्मचारीहरू त विदा स्वीकृत नै नगरी बिना जानकारी कार्यालय नआएको पाइन्छ ।
स्थानीय स्रोतका अनुसार, बिहान हाजिरी गरेपछि केही कर्मचारीहरू कार्यालयबाट बाहिरिने गरेका छन् । सेवाग्राहीहरू आफ्नो काम लिएर कार्यालय धाउँदा सम्बन्धित कर्मचारी कार्यकक्षमा नहुँदा सेवा प्रवाहमा असर परेको छ ।
“हामी बिहानै काम लिएर आउँछौं, तर कर्मचारी कार्यकक्षमा भेटिँदैनन् । कतिपय त हाजिरी गरेपछि निजी काममा बाहिर जाने गरेको देखिएको छ,” एक स्थानीयले भने ।
कर्मचारीको गैरजिम्मेवारीपनले नगरपालिका प्रशासन अस्तव्यस्त बनेको छ । अधिकांश कर्मचारी बिहान हाजिरी गरेर कार्यकक्षमै नबस्ने प्रवृत्तिले सेवा प्रवाहमा गम्भीर असर परेको छ । झन् विदा स्वीकृत नगरी बिना जानकारी घर फर्किने वा काम छोडेर हिड्ने कर्मचारीहरूको संख्यामा वृद्धि हुँदै गएको छ ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्
“कर्मचारीहरू कार्यकक्षमै नभएपछि हामी कामका लागि बारम्बार धाउनुपरेको छ । सम्बन्धित शाखामा पुग्दा ढोका बन्द, कुर्सी खाली देखिन्छ,” एक सेवाग्राहीले भने ।
“हामी बिहानै काम लिएर कार्यालय धाउँछौं, तर सम्बन्धित कर्मचारी कार्यकक्षमा भेटिँदैनन्,“अर्का सेवाग्राही गुनासो गर्छन् । यो गुनासो अहिले भेरी नगरपालिकामा दिनदिनै सुनिन थालेको छ । कार्यालय समयमै हाजिरी गर्ने तर त्यसपछि निजी काममा हिड्ने कर्मचारीहरूको व्यवहारले नगरवासी हैरान भएका छन् ।
हाजिरीमा हस्ताक्षर तर सेवा छैन
स्थानीय स्रोतअनुसार, केही कर्मचारीहरू बिहान कार्यालय आएर हाजिरी बुकमा हस्ताक्षर गर्छन्, त्यसपछि उनीहरूको उपस्थिति कार्यकक्षमा देखिन्न । “कतिपय त कागजी रूपमा कार्यालयमा भएपनि व्यवहारिक रूपमा कार्यालयमा हुँदैनन्,” एक कर्मचारीकै सहकर्मी बताउँछन् ।
यस्ता गतिविधिले नगरपालिका मार्फत प्रवाह हुने नागरिक सेवामा प्रत्यक्ष असर परेको छ । सेवाग्राही सेवा पाउन बाट बञ्चित छन् । कर्मचारी मनपरी ढंगले चल्दा निकै समस्या थपिएको छ ।
विदा स्वीकृत नै नगरी गायब
कतिपय कर्मचारी विदा स्वीकृति बिना नै कार्यालय नआएको पाइएको छ । कुनै जानकारी वा औपचारिक प्रक्रिया बिनै कार्यालय अनुपस्थित रहेको देखिन्छ । कुनै जानकारी वा अनुमति नदिई कार्यालय नआउने गरेका छन् । विदा स्वीकृत नगरी नै कर्मचारीहरु हराउने यो प्रवृत्तिले नगरपालिकाको प्रशासकीय संरचना माथि नै प्रश्न उठेको छ । नगरपालिकाका ७९ जना कर्मचारी मध्ये मंगलबार ३२ जना कर्मचारी अनुपस्थित थिए ।
निमित्त प्रमुख प्रशासकीय भ्रमणमा जाँदा आर्थिक सेवा ठप्प
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती जिल्ला बाहिर भ्रमणमा रहेका कारण आर्थिक सेवा समेत ठप्प भएको छ । सेवाग्राहीहरू भुक्तानी, सिफारिस, योजना पास जस्ता आर्थिक विषय लिएर कार्यालय आउँदा जिम्मेवार अधिकार प्राप्त कर्मचारीको नहुँदा काम अघि अगाडि बढ्न सकेको छैन ।
“तीन दिनदेखि नगरपालिका धाउँदैछु, कुनै जवाफ छैन । प्रमुख प्रशासकीय भ्रमणमा हुनुहुन्छ रे, अनि अरू कसैसँग जवाफ छैन,“ एक सेवाग्राहीले गुनासो गरे ।
काम रोकिएको छैन् : निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश बटाला
सेवाग्राहीको कुनै पनि काम नरोकिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश बटालाले बताए । उनले भने, “प्रक्रिया पु¥याएर आएका कुनै पनि सेवाग्राहीको काम रोकिएको छैन्, यस्ता गुनासो पनि आएको छैन् ।” तर कर्मचारी हाजिर, गरेर र विदा स्वीकृत नगरी गएको स्वीकार गर्छन् । नगरपालिका जतिवेला पनि सेवा प्रवाह गर्न तयार भएको उनको भनाई छ ।
प्रशासन मौन, कमजोर निगरानी
यस्ता बेथिति भएपनि नगरप्रमुख र उपप्रमुख भने मौन देखिन्छन् । नगर प्रमुख चन्द्रप्रकाश घर्तीलाई यस विषयमा सोध्न खोज्दा फोन उठेन् । कर्मचारीप्रतिको अनुशासन र सेवाप्रवाहका विषयमा कडा निगरानी र अनुगमन गर्नुपर्ने देखिन्छ ।
“नियमित अनुगमन आवश्यक छ,“एक स्थानीय अगुवा भन्छन्, “नगरपालिकाको सेवा प्रणाली सुधार्न जनस्तरबाट दबाब दिनुपर्ने अवस्था आएको छ ।”
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्
















































हाम्रो पहुँच संवाददाता । ४ बैशाख २०८२, बिहीबार