
खलंगा । जाजरकोटका विभिन्न विद्यालयहरूले आज बाट सुरु हुने भनिएको विद्यार्थी भर्ना अभियान स्थगित गरेका छन् । शिक्षा ऐनको माग गर्दै काठमाडौँमा भइरहेको शैक्षिक आन्दोलनका कारण विद्यालयमा भर्ना अभियान लगायतका कार्यक्रमहरू स्थगित गरिएको विद्यालयले जनाएका छन् ।
जिल्लाको भेरी नगरपालिका ‒०३ थाप्लेमा रहेको त्रिभुवन माद्यामिक विद्यालयका प्रधानाध्यापक भक्तबहादुर मल्लले एक सूचना जारी गर्दै भर्ना अभियान स्थगित गरिएको जानकारी दिए ।
उनले गत चैत २० गतेदेखि शिक्षक महासङ्घको नेतृत्वमा राजधानीकेन्द्रित शैक्षिक आन्दोलन र २५ गतेबाट अनिश्चितकालिन शैक्षिक आम हड्ताल चलिरहेकोले आजदेखि हुने भनिएको भर्ना अभियान स्थगन गरिएको बताए । प्रधानाध्यापक मल्लले अर्को सूचना जारी नभएसम्मका लागि विद्यार्थी भर्ना अभियान लगायतका सम्पूर्ण कार्यक्रमहरू नहुने उल्लेख गरे ।
जिल्लाका अन्य विद्यालयहरूले पनि भर्ना अभियान सञ्चालन गरेका छैनन् । देशभरबाट राजधानीकेन्द्रित शिक्षकहरूले शिक्षा ऐनको माग गर्दै काठमाडौँमा आन्दोलन गरिरहेका छन् । माग पूरा नभएसम्म आन्दोलन चर्काउने उनीहरूको भनाइ छ ।

















































हाम्रो पहुँच संवाददाता । २ बैशाख २०८२, मंगलवार