भ्रष्टाचारले मुलुक थिलोथिलो परेको छ : नेता खड्का


जाजरकोट । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कमानबहादुर खड्काले मुलुक व्यापक भ्रष्टाचारका कारण थिलोथिलो परेको बताएका छन् । आज पत्रकार महासंघ जाजरकोट शाखाले नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता खड्काले यस्तो टिप्पणी गरेका हुन् ।

उनले राज्यका सबै तहमा देखिएको भ्रष्टाचार, कुशासन र जवाफदेहीको अभावले जनताको जनजीविका संकटमा परेको बताए । “देश विकासको बाटोमा अघि बढ्नुको साटो भ्रष्टाचारको दलदलमा फसेको छ,” उनले भने, “जनताको भरोसा राजनीतिप्रति कम हुँदै गएको छ, यसले गम्भीर परिणाम निम्त्याउन सक्छ ।”

नेता खड्काले युवाहरूको विदेश पलायन, बेरोजगारी र सेवा प्रवाहमा देखिएको कमजोरीप्रति चिन्ता व्यक्त गर्दै राजनीतिक दलहरू जिम्मेवार हुनुपर्नेमा जोड दिए । अहिले सत्तामा भएका दलहरुले आत्ममूल्यांकन गर्नुपर्ने अवस्था रहेको समेत खड्काले बताए ।

यस्तै, जिल्लाको समुन्नत विकासका लागि सबै राजनीतिक दलहरू एक भएर अघि बढ्नुपर्नेमा दलका नेताहरूले जोड दिएका छन् । कार्यक्रममा सहभागी नेताहरूले सहकार्य र एकतामै जिल्लाको समृद्धिको मूल मन्त्र रहेको बताएका हुन् ।

नेकपा एमालेका जिल्ला सचिव गोपाल बहादुर नेपालीले विकासमा दलगत स्वार्थभन्दा माथि उठेर साझा एजेन्डा तय गर्नुपर्ने आवश्यकता औंल्याए । “राजनीतिक प्रतिस्पर्धा आफ्नो ठाउँमा हो, तर जिल्लाको विकासका मुद्दामा सबै मिलेर अघि बढ्नुपर्ने बेला आएको छ,” उनले भने ।

त्यसैगरी नेपाली कांग्रेसका सचिव तेजविक्रम शाहले पनि दलहरूबीच सहकार्य र आपसी समझदारी आवश्यक रहेको उल्लेख गर्दै भने, “जिल्लाका जनताको अपेक्षा विकास र परिवर्तन हो, त्यसका लागि हामी सबै जिम्मेवार भएर एकताबद्ध हुनुपर्छ ।”

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि सुशासन, जवाफदेही स्थानीय सरकार, र पारदर्शी विकास योजनाको आवश्यकता औंल्याएका थिए ।

तपाईको प्रतिक्रिया