
जाजरकोट । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले २०८२ सालभित्रै ओलीकरणको अन्त्य हुने दाबी गरेका छन् । जाजरकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भुसालले नेपाली राजनीतिमा व्यक्ति केन्द्रित, सत्तामुखी र अधिनायकवादी प्रवृत्तिको जरो काट्ने समय आइसकेको बताए ।
पत्रकारहरुले अहिलेको सरकार कति टिक्छ ? भन्ने प्रश्न गरेका थिए । विचौलियालाई महत्वपूर्ण स्थान दिने सरकारको यो प्रवृत्ती आलीकरण भएको बताए । सरकारले जनताकाे काम भन्दा पनि विचाैलियामुखी काम गरिरहेकाे छ, ओली सरकार २०८२ साल भित्रै ढल्ने बताए ।
उनले भने, “ओलीकरणले विचार, सिद्धान्त र संगठनलाई तहसनहस पारेको छ । तर अब जनताको चेतना बढ्दै गएको छ, यसले दीर्घकालीन प्रभाव पार्न सक्दैन । आगामी ८२ सालभित्रै यसको अन्त्य हुनेछ ।”
भुसालले ‘ओलीकरण’ लाई व्यक्तिवादी, सत्तामुखी र अधिनायकवादी सोचको नाम दिँदै यसले मुलुकको लोकतान्त्रिक अभ्यास र वाम आन्दोलनलाई कमजोर बनाएको टिप्पणी गरे ।
उनले भने, “अब जनताको चेतना उच्च भएको छ, विचारहीन राजनीति र शक्ति मोहको अन्त्य हुने निश्चित छ । ओलीकरणजस्तो प्रवृत्ति ८२ सालभित्रै अन्त्य हुनेछ ।”
भुसालले हालका प्रमुख दलहरूको व्यवहारले जनता निराश बनेको उल्लेख गर्दै, यस्ता प्रवृत्तिबाट राजनीति मुक्त हुन आवश्यक रहेको बताए । “दलहरूले देखाएको गैरजिम्मेवारपन, अवसरवाद र सिद्धान्तहीन कार्यशैलीका कारण जनतामा असन्तुष्टि बढेको छ,” उनले भने ।
नेता भुसालले आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) सुशासन र रोजगारी ल्याउने एजेण्डामा केन्द्रित रहेको उल्लेख गरे । “हाम्रो पार्टी वैकल्पिक शक्ति बन्ने तयारीमा छ । हामी रोजगारी सिर्जना गर्छौं, सुशासन कायम गर्छौं, र युवालाई विदेश जान बाध्य पार्ने अवस्थाको अन्त्य गर्छौं,” भुसालले स्पष्ट पारे ।
उनले समग्र वामपन्थी शक्ति बीच सहकार्य आवश्यक रहेको भन्दै विचार र नीतिमा आधारित एकता नै दीगो समाधान हुने बताए ।
उनले वर्तमान राजनीतिक अवस्थामाथि पनि टिप्पणी गर्दै वामपन्थी एकताको आवश्यकता र जनविश्वास पुनःस्थापित गर्ने कार्यमा एकीकृत समाजवादी अग्रसर रहेको बताए ।
















































हाम्रो पहुँच संवाददाता । २४ चैत्र २०८१, सोमबार