लागुऔषध दुर्व्यसन रोकथामको अभियानमा भेरी : २५० जनालाई प्रशिक्षण, यस्ता छन् योजना ?


जाजरकोट । लागुऔषध दुर्व्यसनी रोकथामको अभियानमा भेरी नगरपालिका जुटिरहेको छ । नगरपालिकाले गत बर्षदेखि लागुऔषध विरुद्धको अभियान सञ्चालन गरिरहेको छ ।

विद्यालय स्तरमा कार्यक्रम, गोष्ठी, सरोकारवाला, अभिभावकहरुलाई प्रशिक्षण कार्यक्रम नियमित गरिरहको छ । नगरभित्रका स्कुले बालबालिका र यूवा पुस्ताहरु लागुऔषध दुर्व्यसनको सिकार भईरहेकोले त्यसको रोकथाममा नगरपालिका लागेको जनाईएको छ ।

यस बर्ष लागुऔषध दुर्व्यसन विरुद्धको अभियान अन्तर्गत ३५ लाख बजेट विनियोजन गरिएको छ । सोही बमोजिम विहीबार २५० जना सहभागीहरुलाई अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।


अन्तर्राष्ट्रिय नार्काेनन् अमेरिका दक्षिण एसिया प्रमुख बसन्त राज कुवँरले सहभागीहरुलाई प्रशिक्षण गरेका हुन् । उनले लागुऔषध बाट कसरी बच्ने, सेवन गर्दा हुने वेफाईदा, व्यक्तिगत तथा सामाजिक जीवनमा पार्ने असर, सिर्जनशील उमेरका यूवाहरु कसरी फस्छन् ? लगायतका विषयमा प्रशिक्षण गरेका थिए ।

लागुऔषध विरुद्धको अभियानमा स्थानीय सरकार कसरी लाग्ने भन्ने सन्देशमुलक प्रशिक्षण अभिनय मार्फत गरेका थिए । भेरी नगरपालिका भित्रका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, यूवा क्लव, गैरसकारी संस्थाका प्रतिनिधि, पत्रकार, नागरिक समाज, लगायत जिल्ला स्थित सबै सरोकारवालाहरुको उपस्थिति रहेको लागुऔषध विरुद्धको रोकथाम कार्यक्रमका फोकल पर्सन दीपक वलीले जानकारी दिए ।
सचेतनामुलक कार्यक्रम
लागूऔषध दुर्व्यसनका कारण समाजमा बढ्दो समस्या समाधान गर्न नगरपालिकाले सक्रिय अभियान सञ्चालन गर्ने योजना बनाईएको छ । नगरपालिकाले समुदाय, प्रहरी प्रशासन, विद्यालय, तथा अन्य सरोकारवालासँग सहकार्य गर्दै युवालाई लागूऔषधबाट टाढा राख्ने विविध कार्यक्रम अघि बढाएको छ ।


नगरप्रमुख चन्द्रप्रकाश घर्तीले भने, “लागूऔषध दुर्व्यसन  हाम्रो समाजमा गम्भीर असर पु¥याइरहेको छ । यसलाई न्यूनीकरण गर्न शिक्षा, सचेतना, पुनस्र्थापना र कडाइका उपायहरू आवश्यक छन् ।”

नगरपालिकाले स्थानीय विद्यालयहरूसँग सहकार्य गरी लागूऔषधको असरबारे सचेतना जगाउने अभियान थालनी गर्ने भएको छ । विद्यार्थीहरूलाई लागूऔषधबाट हुने मानसिक, शारीरिक र सामाजिक असरबारे जानकारी दिन विशेष कक्षाहरू सञ्चालन गर्ने नगरप्रमुख घर्तीले बताए ।

समुदाय प्रहरी साझेदारी
लागूऔषध कारोबार नियन्त्रण गर्न स्थानीय प्रहरीसँग सहकार्य गर्दै गस्ती, निगरानी र छड्के अपरेशन तीव्र पारिनेछ । साथै, लागूऔषध कारोबारीहरूलाई कानूनी दायरामा ल्याउन नगरपालिकाले विशेष पहल गर्ने समेत प्रमुख घर्तीले बताए ।

युवाहरूका लागि खेलकुद र सिर्जनात्मक गतिविधि
नगरपालिकाले युवाहरूलाई सकारात्मक कार्यमा संलग्न गराउन खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम र अन्य सिर्जनात्मक गतिविधिहरूको आयोजना गर्ने जनाईएको छ ।

लागुऔषधमा फसेका नागरिकलाई पुर्नस्थापनाका लागि पहल गर्ने समेत बताईएको छ । नगरपालिकाले सम्पूर्ण नागरिकलाई लागूऔषध दुर्व्यसन विरूद्द सचेत रहन, अवैध कारोबारबारे प्रहरीलाई जानकारी दिन, र प्रभावितलाई पुनः स्वस्थ जीवनतर्फ फर्काउन सहयोग गर्न अनुरोध गरेको छ । नगरपालिकाको यो पहलले लागूऔषधको समस्या न्यूनीकरण गर्न प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया