पत्रकार महासंघ जाजरकोटले बुझायो प्रशासनलाई ज्ञापन पत्र


खलंगा । नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले पत्रकारको योजनाबद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमणको विरोधमा जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई ज्ञापत्र बुझाएको छ । महासंघ केन्द्रीय समितिको आह्वानमा सोमबार नेपाल पत्रकार महासंघ जाजरकोटले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।

नेपाल पत्रकार महासंघ जाजरकोट शाखा सचिव रेशम बहादुर खड्काले घटनाको निष्पक्ष ढङ्गबाट छानबिन हुनुपर्ने बताए । राजावादीको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको, अन्नपूर्ण पोस्ट दैनिक, कान्तिपुर टेलिभिजनको भवनमा आगजनी तथा तोडफोड गरिएको क्षतिको माग गर्दै घटनाहरूमा संलग्नलाई कारबाही गर्नुपर्ने बताए ।

यसैगरी, नेपाल पत्रकार महासंघ जाजरकोटका पूर्वअध्यक्ष राजेन्द्र कार्कीले पत्रकार हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न उनले सरकारसँग माग समेत गरे ।

ज्ञापन पत्र बुझ्दै जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले आन्दोलनका क्रममा जनधनको जुन क्षति भएको छ, त्यसको सत्यतथ्य पत्ता लगाएर पीडित पक्षको माग पूरा गर्न पहल गरिने बताए । उनले पत्रकार सुरेश रजकको घटना प्रति दुःख व्यक्त गर्दै नेपाल सरकारको तर्फबाट हामी हामी दुःखी भएको बताए । उनले पत्रकारले समाजमा भएका राम्रा गतिविधिलाई बाहिर ल्याउन समेत आग्रह गरे । उनले जिल्लामा पत्रकारको सुरक्षालाई गम्भीरताका साथ लिने प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया