
बारेकोट । बारेकोट गाउँपालिका ‒२ रोकायगाउँका नरिवाने कामी उमेरले ७५ बर्षका भए । सरकारले दिने वृद्धभत्ता बुझ्नका लागि गाउँपालिकाको केन्द्र लिम्सामा रहेको कृषि विकास बैंकको शाखामा पुगे । राम्ररी उभिन समेत नसक्ने उनी लामो लाइनमा बसे । सोमबारको दिन थियो । घडीमा दिउँसोको ३ बज्यो । बैंकका कर्मचारीलाई चेक देखाए । कर्मचारीले तपाईको काम आज हुदैन् भन्दै फर्कादिए ।
‘वृद्धभत्ताको केही पैसा लिन म बैंक आएको थिए, लामो लाइनमा बसे, उनले भने, ‘कर्मचारीले आज तपाईको काम हुदैन् भनेपछि म फर्किए, दिनदिनै बैंक जाने मेरो सामथ्र्य छैन्, एक हप्तापछि मेरो काम भयो ।’ लठ्ठीको साहारामा हिड्डुल गर्ने उनी वृद्धभत्ता बुझ्न समेत सास्ती पाईरहेको बताउँछन् ।

सोही वडाकी सुनिता विक काँधमा १ बर्षको छोरा लिएर बैंकमा छोराको बालपोषण भत्ता निकाल्न गईन् । राम्ररी खाता नम्बर चेक नगरी तपाईको पैसा आएको छैन भन्दै बैंकका कर्मचारीले थर्काए र रित्तै पठाईदिए । ‘लामो लाइन बसेर बैंकमा कुर्नुपर्छ, हाम्रो काम आएको दिनमा हुदैन्’ उनले भनिन्, ‘कर्मचारीले राम्ररी बोल्नुपनि हुदैन्, कर्मचारीले चिनेका मान्छेको काम धमाधम हुन्छ, हामी कुर्छाै, तरपछि रित्तै फर्किन्छौं ।’
उनीहरु त केही उदाहरण पात्र मात्रै हुन् । कृषि विकास बैंक लिमिटेड लिम्साको शाखामा सेवाग्राहीले सास्ती पाईरहेका छन् । कर्मचारीले दादागिरी शैलीमा सेवाग्राहीलाई धम्की दिने गरेको समेत गुनासो छ । बारेकोट गाउँपालिकामा एक मात्र बैंक छ त्यही बैंकको साहारामा बारेकोटबासी छन् ।
सामाजिक सुरक्षा भत्ता, तलव, अन्य पारिश्रमिक बुझ्नका लागि बैंकमा सेवाग्राही जाने गर्छन् । सेवाग्राहीको समयमै काम नहुँदा हैरानी हेप्नुपरेको स्थानीय सुरेन्द्र पुनले बताए ।
‘बैंकमा समयमा काम हुदैन्, सेवाग्राहीको ठूलो लाइन हुन्छ, उनले भने, ‘कर्मचारीले पैसा जम्मा गर्न जाँदा समेत अनावश्यक हैरानी दिने गरेका छन्, बैंकको सेवा प्रवाहका विषयमा पटकपटक कुरा उठेपनि सुधार हुन सकेको छैन् ।’ बैंकको सेवाप्रवाहको विषयमा विरोध हुदै आएको छ ।
चारघण्टा हिडेर बैंक पुगेका सेवाग्राही रित्तै फर्किन बाध्य छन् । बारेकोट गाउँपालिकाका अधिकांश काम त्यही बैंक शाखामा हुन्छ । बैंकले गतिलो सेवाप्रवाह नगर्दा नागरिक सन्तुष्ट हुन सकेका छैनन् । बैंकका कर्मचारीको लाप्रवाहीले बारेकोटवासीले समस्या झेल्नुपरेको स्थानीय बताउँछन् ।
हप्ता दिन सम्म काम नहुदाँ सेवाग्राहीले पैसा पठाउन र पाउन समेत मुस्किल परेको छ ।
यता बैंकका कर्मचारी नवीन गौतमले वास्तविक सेवाग्राहीले सेवा पाईरहेको र गलत मनसायले प्रचार भईरहेको बताएका छन् । बैंकमा विजुली, नेटवर्कको समस्याले सेवाप्रवाहमा केही समस्या भईरहेको स्वीकार गरे । उनले भने, ‘केही मात्रामा समस्या भएपनि उहाँहरुले भनेको जस्तो सेवा प्रवाहमा समस्या भएको छैन् ।’ सेवाग्राहीलाई सेवा प्रवाह गर्न बैंक खटिरहेको उनले दावी गरे ।



















































हाम्रो पहुँच संवाददाता । २४ माघ २०८१, बिहीबार