सुन्तलाबाट जाजरकोटमा २२ करोड बढी आम्दानी


जाजरकोट । यस वर्ष जाजरकोटमा उत्पादित सुन्तला बिक्रीबाट २२ करोड आम्दानी भएको छ । सुन्तला विक्री बाट २२ करोड २ लाख ७१ हजार ५०८ रुपैयाँ आम्दानी भएको हो ।

जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार जिल्लाबाट करिब दुई हजार ७५३ मेट्रिक टन सुन्तला निर्यात भएको हो । जिल्लामा कुल ६२५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको कार्यालयले जनाएको छ । गत वर्षको तुलनामा कृषकले बोटबाटै राम्रो मूल्य पाएका कारण सुन्तलाको बजारीकरणमा समस्या नपरेको कार्यालयका सूचना अधिकारी नवीन राज आचार्यले जानकारी दिए ।

सुन्तला उत्पादन हुने क्षेत्रफल

आचार्यका अनुसार यस वर्ष बोटमै ५० देखि ८० रुपैयाँ प्रतिकेजी सम्म सुन्तला बिक्री भएको थियो । किसानले सुरुमा बोटबाटै ५० रुपैयाँमा बिक्री गरेका थिए भने अन्तिम समयसम्म बजारमा किसानले ८० रुपैयाँसम्ममा बिक्री गरेका थिए ।

जिल्लाको कुशे गाउँपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, भेरी नगरपालिका, बारेकोट गाउँपालिकामा सुन्तला उत्पादन हुने गरेको छ । किसानको खेतबारीमै पुगेर मल प्रयोग ,काटछाट तथा औषधी दिने सम्मको प्राविधिक कुराहरू दिएर किसानलाई सहयोग गरिरहेको सूचना अधिकारी आचार्यले बताए ।

किसानको माग अनुसार प्राविधिक खटिएर सहयोग गदै आएको उनको भनाई छ । खेर जाने सुन्तलाबाट पछिल्लो समय जाजरकोटका किसानहरूले राम्रो आम्दानी गर्दै आएका छन् । वर्षेनी लाखौँको सुन्तला बिक्री हुँदै दम्दालाका दिपक वलीले जानकारी दिए । सुन्तलाको माग उच्च रहेको समेत उनको भनाई छ ।

तपाईको प्रतिक्रिया