राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले न्यायिक हिरासतमा पठाएको छ। उनको मुद्दामा आइतबार बहस नसकिएपछि उनलाई अदालतले थुनछेक आदेश नभएसम्मका लागि न्यायिक हिरासतमा राख्न पठाइएको हो।
आइतबार बिहान उनी अदालतमा हाजिर भएकोमा बयान भने सकिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको थुनछेक सुनुवाइ सुरु भएकोमा आइतबार छोटो मात्र बहस भएको छ । सरकारी वकिलहरूले मिसिल अध्ययन गर्न नभ्याएको भन्दै बहसका लागि समय मागेका थिए।
सोमबार उनको मुद्दामा बहसले निरन्तरता पाउने अदालतले जनाएको छ ।
स्वर्णलक्ष्मी सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडियामा गएको र लामिछाने तत्कालीन सञ्चालक हुँदा सो रकम खर्च गर्न चेक काटेको आधारमा उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।
कास्कीमा यस्तै मुद्दामा उनलाई ६५ लाख रुपैयाँ धरौटी माग भएको थियो। काठमाडौंमा थुनछेक नसकिँदासम्म उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंमा राख्न लागिएको छ।
हाम्रो पहुँच संवाददाता । २८ पुष २०८१, आईतवार