शान्तिचौतारा‒कालेगाउँ सडकखण्ड : तीन बर्षमै खाल्डाखुल्डी, धुलोले पैदल हिड्नेलाई समेत सास्ती


जाजरकोट । सदरमुकाम खलंगाको शान्तिचौतारी देखि कालेगाउँ सम्मको सडक कालोपत्रे गरेको तीन बर्ष पुग्यो । तर सडक धुलाम्य र हिलाम्य हुन थालिसकेको छ । अर्थात कालोपत्रे गरिएको जस्तो छैन् । पैदल हिड्ने यात्रुहरुले समेत सास्ती खेप्नुपरेको छ । सडकका वीचमा ठूलठूला खाल्डाखुल्डी छन् । सवारी साधनलाई आवतजावत गर्न मुस्किल भईसकेको छ ।

साँघुरो सडक, त्यसैमा वीचमा खाल्डाखुल्डी दुर्घटनाको उच्च जोखिममा रहेको स्थानीय बताउँछन् । छेउछाउमा रहेको घुम्ती, पसलहरु समेत धुलोले भरिएका हुन्छन् । बर्खामा हिलो उस्तै हुन्छ । जिल्ला प्रवेश गर्ने, जिल्ला बाहिर निस्कने दैनिक दर्जनौं बढी सवारी साधन यही सडकमा हिड्छन् ।

सदरमुकाम भित्रकै सडकको यस्तो हालत हुदाँ निर्माणमा भने कसैको चासो देखिएको छैन् । २०७९ सालमा खैरावाङ्गी भवानी निर्माण सेवाले उक्त सडक निर्माण गरेको थियो । तत्कालिन सहरी विकासको कार्यक्रम पूर्वाधार विकास कार्यालय जाजरकोटले सञ्चालन गरेको थियो । भ्याट सहित ८४ लाख ६० हजार २१२ कुल लागतमा निर्माण गरिएको सडक तीन बर्षमै जीर्ण बनेको छ ।

न सडकमा नाली बनाईएको छ, न सडक गतिलो छ । निर्माण व्यवसायीले लाप्रवाही गरेको स्थानीयको आरोप छ । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख इन्जिनियर भूपेन्द्र प्रसाद जैसी सहरी विकासले त्यतिवेला ५० प्रतिशत मात्रै रकम भुक्तानी गरेको बताउँछन् । ‘५० प्रतिशत जति मात्रै रकम सहरी विकास बाट आयो, यो सडक निर्माणका लागि कुनै बजेट आएको छैन्, उनले भने, ‘त्यसपछि कुनै कार्यक्रम थपिएन, निर्माण कम्पनीलाई ५० प्रतिशत मात्रै भुक्तानी गरिएको छ ।’

निर्माण कम्पनीले पैसा नपाएको प्रमुख जैसीले बताए । कर्णाली प्रदेश सरकारले कुनै बजेट विनियोजन नगरेको उनको भनाई छ । अहिले निर्माण गर्न सकिने स्थिति नभएको बताए । जिल्ला सदरमुकाम भित्रकै सडकको यस्तो हातल बन्दा समेत जिल्लाका जनप्रतिनिधीको ध्यान जान सकेको छैन् । निर्माण कम्पनीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

तपाईको प्रतिक्रिया