जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि पालिकास्तरीय पढाइ मेला आयोजना गरिएको छ । मेलामा विद्यार्थीले बनाएका शैक्षिक सामग्रीहरुको प्रदर्शनीसमेत गरिएको थियो ।
बालबालिकाको सिकाइ वृद्धि गर्न मेलाले सकारात्मक भूमिका खेल्ने पालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । स्थानीय स्रोत साधनको प्रयोग गर्दै विद्यार्थीले आफ्नो सीप र क्षमताको उपयोग गरिएको पाइएको थियो ।
मेलामा बालबालिकाले बनाएका शैक्षिक सामग्री हेर्न अभिभावकहरु पनि आएका थिए । नियमित पठनपाठन, बालबालिकाको सीपको वृद्धि, पठन संस्कृतिको विकास, बालबालिकाको क्षमता पहिचान गर्न मेला आयोजना गरिएको पालिकाले जनाएको छ । मेलामा २० वटा सामुदायिक विद्यालयले भाग लिएका थिए । पालिकामा २९ वटा सामुदायिक विद्यालय छन् । मेलामा ४ वटा विद्यालय उत्कृष्ट छनौटमा परेका छन् ।
उत्कृष्ट शैक्षिक सामग्री निर्माण, पठन सीप, सिकाईको अवस्था, सामग्रीबारे बालबालिकाले गरेको व्याख्या, शैक्षिक सामग्रीले नियमित पठनपाठनमा पार्ने सकारात्मक प्रभाव लगायतका विषयमा मूल्यांकन गरिएको थियो । मेलामा सहभागी विद्यालयले स्टल राखेका थिए । सबै स्टलको अवलोकन गरिएको थियो ।
कालिका आधारभूत विद्यालय प्रथम, सुन्दरमणि आधारभूत विद्यालय दोस्रो, कालिका आधारभूत विद्यालय हियाखोला तृतीय र कालिका मावि टोप्ला र हिमाली आधारभूत विद्यालय बाबिरा चौथो भएको मेलाको मूल्यांकनकर्ता चक्रबहादुर जिसीले जानकारी दिए । उत्कृष्ट हुने चारवटै विद्यालयलाई शैक्षिक सामग्री तथा नगद पुरस्कार उपलब्ध गराइएको छ ।
तातोपानी गाउँपालिका अध्यक्ष चौलागाईंले सामुदायिक विद्यालय सुधार र शैक्षिक गुणस्तर कायम गर्नका लागि तातोपानीले शिक्षा क्षेत्रलाई विशेष प्रथामिकता दिएको बताए । पहिलो पटक आयोजना गरिएको पालिकास्तरीय पढाइ मेला सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि कोशेढुंगा साबित हुने उल्लेख गरे । यसअघि तातोपानी गाउँपालिकाले पाँच वटा अनुगमन टिम बनाएर विद्यालयमा पठाएको थियो ।
विद्यालयको अवस्था र विद्यार्थीको संख्याको आधारमा विद्यालय मर्ज अभियान सुरु गर्ने अध्यक्ष चौलागाईंले बताएका छन् ।
हाम्रो पहुँच संवाददाता । ९ पुष २०८१, मंगलवार