भूकम्पले चर्काएकै कोठामा विद्यार्थी

जाजरकोटमा १४३ विद्यालयमा पूर्ण र २९६ मा आंशिक, रुकुम पश्चिमका १९२ विद्यालयमा पूर्ण र ५०९ मा आंशिक र सल्यानका ४२ विद्यालयमा आंशिक क्षति, १३ महिना बित्दा पनि मर्मत तथा पुनर्निर्माण सुरु भएन

वीरेन्द्रनगर । गत वर्ष कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ भण्डारवनस्थित जनप्रिय आधारभूत विद्यालयका २ वटा भवन चर्किए । कक्षाकोठा चर्किएपछि त्यहाँ अस्थायी टहरा निर्माण गरियो ।

भूकम्पलगत्तै कक्षा संचालनका लागि बनाइएका टहरामा हावाहुरीले क्षति गरेपछि विद्यार्थीहरू चर्किएकै भवनमा फर्किएका छन् ।

विद्यालयका प्रधानाध्यापक लाले राना मगर कक्षाकोठा अभाव भएपछि अहिले चर्किएकै कोठामा पढाउनुपरेको बताउँछन् । विद्यालयका चारवटा कक्षाका विद्यार्थी अहिले चर्किएकै भवनमा बसेर पढिरहेका छन् । हावाहुरीले अस्थायी टहरा काम नलाग्ने भएको उनले बताए ।

‘चर्केको कोठामा बसेर पढ्दा विद्यार्थी र शिक्षक दुवैलाई असहज भइरहेको छ । केही समय त विद्यार्थीहरू कक्षाकोठाभित्र पस्न आनाकानी गर्थे । अहिले बानी त परेको छ तर पनि उनीहरूमा भूकम्पको त्रास छ,’ प्रधानाध्यापक मगरले भने ।

६ कोठा मात्र भएको पक्की भवनमा सबै विद्यार्थी राख्ने ठाउँ नभएपछि जोखिम मोलेर चर्किएकै कोठामा राखेर पढाउनुपर्ने अवस्था रहेको उनले सुनाए । अहिले पनि एउटा कक्षा अस्थायी टहरामै सञ्चालन भइरहेको मगरले बताए । बालविकासदेखि ८ कक्षासम्म पढाइ हुने यो विद्यालयमा १ सय ८२ विद्यार्थी छन् ।

जाजरकोटको भेरी नगरपालिका–२ स्थित शंकरभवन मावि बाहुनथानका ४ वटा कक्षाका विद्यार्थी पनि चर्किएकै भवनमा पढिरहेका छन् । कक्षा ९ र १० तथा १ र बालविकास कक्षाका विद्यार्थी कक्षाकोठा अभावले चर्किएकै कोठामा बसेर पढिरहेको प्रअ भीमबहादुर चन्दले बताए ।

उनका अनुसार काठमाडौंको एक संस्थाबाट आएका स्वयंसेवकले बनाएको दुईकोठे अस्थायी टहरामा केही समय कक्षा सञ्चालन गरिएको थियो । तर, गर्मीमा बस्नै नमिल्ने भएपछि चर्किएकै भवनमा फर्किएको उनले बताए ।

‘अस्थायी सिकाइ केन्द्र टिनले बारेर बनाइएको थियो । गर्मीको समयमा विद्यार्थीको खलखली पसिना बग्न थाल्यो । बस्न नसकेपछि चर्किएकै भवनमा सारेका हौं । अहिले त्यहाँ विद्यालयको सामान राख्ने बनाएका छौं,’ उनले भने । यो विद्यालयका ३ मध्ये २ कोठे एउटा भवन भूकम्पले बस्नै नमिल्ने भएपछि भत्काएर अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको थियो ।

अरु भवन पनि भूकम्पले चर्किएको प्रअ चन्दले बताए । शंकरभवन मावि बाहुनथानमा ९ कक्षा पढिरहेकी गंगा वलीले डरैडरमा कक्षामा बस्नुपरेको बताइन् । ‘कतिबेला भूकम्प आएर भत्किन्छ कि भन्ने चिन्ता भइरहन्छ । पोहोर घर भत्किँदाको डर नै हट्न पाएको छैन,’ उनले भनिन्, ‘कक्षाका भित्ता चर्किएका छन् । सानो धक्कामा पनि भत्किने डर छ ।’

जाजरकोट, रुकुम पश्चिम र सल्यानमा अहिले भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीहरू चर्किएकै भवनमा बसेर पढिरहेका छन् । विभिन्न संघसंस्थाले बनाएका अस्थायी संरचनाहरू जीर्ण भएका छन् भने भवन पुनर्निमाण हुने सुरसार छैन । रुकुम पश्चिम सानीभेरी–१ पक्रैयास्थित शीतल माविका विद्यार्थी पनि अहिले चर्किएकै कोठामा फर्किएका छन् । नयाँ भवन बन्ने सुरसार नभएको प्रअ वेदकुमार पुन बताउँछन् ।

‘सुरुमा प्लास्टिकले बारेर अस्थायी सिकाइ केन्द्र बनाइएको थियो । केही समय अघि पालिकाले अलिक खर्च गरेर बस्न मिल्ने बनाएको छ,’ उनले भने, ‘त्यहाँ २ वटा कक्षाका विद्यार्थी मात्र अटाउन मिल्ने छ । त्यसैले चर्किएकै भवनबाट पठनपाठन गराउँदै आएका छौं ।’

अहिले ५ वटा कक्षाका विद्यार्थीलाई चर्केका भवनमा राख्नुपरेको उनले बताए । चर्किएका भवनमा बस्दा विद्यार्थी मानसिक रूपमा त्रासमा रहने भएकाले सिकाइ पनि प्रभावकारी नहुने उनले बताए । विद्यालयका ६ वटा भवन मध्ये भूकम्पले ४ वटा चर्किएको उनले सुनाए ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार भूकम्पबाट जाजरकोटका १ सय ४३ विद्यालयमा पूर्ण क्षति र २ सय ९६ मा आशिंक क्षति पुगेको छ । यस्तै रुकुम पश्चिमका १ सय ९२ विद्यालयमा पूर्ण क्षति र ५ सय ९ मा आशिंक क्षति पुगेको छ । सल्यानका ४२ विद्यालयमा आंशिक क्षति पुगेको मन्त्रालयको तथ्यांक छ ।

चर्किएका भवन र कक्षाकोठामा पढाउन पर्दा विद्यार्थी सँगै शिक्षकको मनस्थिती पनि भयग्रस्त भएको शीतल माविका प्रअ पुनको गुनासो छ । कक्षाकोठा अभावमा जोखिम मोलेरै पढाउनुपर्ने बाध्यता भएको उनले सुनाए । ‘नयाँ भवन बनाउन तत्काल कुनै स्रोत छैन, अर्को वर्षसम्म नगरले बनाउने आश्वासन दिएको छ,’ प्रअ पुनले भने, ‘त्यतिबेलासम्म कसरी पढाइ सञ्चालन गर्ने अन्योल छ ।’

भूकम्प प्रभावित क्षेत्रका विद्यालयमा एकै कोठामा धेरै कक्षा सञ्चालन पनि गर्नुपरेको छ । अधिकांश कोठा भूकम्पले क्षति पुगेपछि जाजरकोटको दारनेटास्थित विष्णु आधारभूत विद्यालयमा एकै कोठामा दुई/तीन कक्षा संचालन गर्नुपरेको शिक्षिका जयप्रधा वलीले बताइन् । उनका अनुसार यहाँ एक वर्षदेखि ३ देखि ५ कक्षासम्म एकै कोठामा राखेर कक्षा सञ्चालन भइरहेको छ ।

रुकुम पश्चिमको सानीभेरी–१ मा रहेको प्रगति आधारभूत विद्यालयमा पनि बहुकक्षा सञ्चाललन गर्नुपर्ने बाध्यता छ । कक्षाकोठा अभावमा १ देखि ३ सम्मका विद्यार्थीलाई एकै कोठामा राख्नुपरेको विद्यालयले जनाएको छ । शीतल माविमा पनि कहिले १ देखि ३ सम्मका र कहिले ३ देखि ५ सम्मकालाई एकै कोठामा राखेर पढाइरहेको शिक्षकहरू बताउँछन् ।

‘एकै कोठामा धेरै कक्षा सञ्चालन गर्दा विद्यार्थीको ध्यान पढाइभन्दा अर्को कक्षामा केन्द्रित भइरहेको हुन्छ । यसले सिकाइ प्रभावित भइरहेको छ,’ शिक्षिका वलीले भनिन् ।

कर्णाली प्रदेश सरकारले भूकम्पले क्षति पुर्‍याएका सामुदायिक विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माणको काम बल्ल सुरु गरेको छ । जाजरकोट, रुकुम पश्चिम र सल्यानका विद्यालय र स्वास्थ्य संस्थाका भवन निर्माणमा प्रदेश सरकारको भौतिक तथा सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा सम्पन्न हुने गरी ५० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

गत असोजमा बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पबाट क्षतिग्रस्त विद्यालय र स्वास्थ्य संस्थाको भवन पुनःनिर्माण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८१ पनि स्वीकृत गरिसकेको छ ।

मन्त्रालय र मातहतका पूर्वाधार विकास कार्यालयबाट स्थानीय तहबाट सिफारिस भएका आयोजना जिल्लाको सिफारिसका आधारमा कार्यान्वयन हुने प्रावधान राखिएको छ ।

जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा रहने सिफारिस समिति सदस्यमा प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख, सामाजिक विकास कार्यालय प्रमुख, स्वास्थ्य इकाइ कार्यालयका प्रमुख, आवास तथा भवन शाखा प्रमुख रहेका छन् ।

उक्त समितिले पुनःनिर्माण गर्नुपर्ने विद्यालय र स्वास्थ्य भवनको तथ्यांक मन्त्रालयमा बुझाइसकेको छ । यसमा मन्त्रालयले काम गरिरहेको मन्त्रालयका प्रवक्ता ससिनियर डिभिजन इन्जिनियर रमेश सुवेदीले बताए ।

उनका अनुसार सल्यानबाट स्वास्थ्य संस्था र विद्यालय गरी ४२ वटा संरचना निर्माणका लागि प्रस्ताव आएको थियो । प्राथमिकताका आधारमा सिफारिस समितिले ५ वटाको नाम छनोट गरेको छ । रुकुम पश्चिमबाट १ सय २० संस्थाको नाम प्रस्ताव गरिएकामा समितिले ३३ वटा मात्रै छनोट गरेको छ ।

जाजरकोटबाट ४६ को प्रस्ताव आएकामा समितिले ३९ वटा छनोट गरेर मन्त्रालयमा बुझाएको छ । भवन अभावका कारण नियमित पठनपाठन र स्वास्थ्य सेवा प्रवाहमा बाधा भएको, जिल्ला विपद् व्यवस्थापन समितिले पुनःनिर्माण गर्नुपर्ने पहिचान गरेका विद्यालय तथा स्वास्थ्य संस्थाको पुनःनिर्माणका लागि सम्बन्धित जिल्लाबाट छनोट भई आएका मध्ये कार्यविधिमा प्रक्रिया पुगेकालाई मन्त्रालयले छनोट गरेर पठाउने प्रवक्ता सुवेदीले बताए ।

प्रस्तावित आयोजनाको लागत विद्यालयको हकमा अधिकतम ७५ लाख र स्वास्थ्यको हकमा ५० लाख रुपैयाँ बराबरको बनाउनुपर्नेछ । जसमा जाजरकोटलाई २५ करोड, रुकुम पश्चिममा २२ करोड र सल्यानका लागि ३ करोड छुट्याइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि विद्यालयका संरचनाको अवस्था हेरेर प्राथमिकताका आधारमा काम गर्ने जनाएको छ । भवन निमार्णका लागि मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइ बनेको छ । केही दातृ निकायले विद्यालयका भवन बनाउन सम्झौता गरे पनि निर्माणको काम अघि बढेको छैन ।

कान्तिपुर बाट साभार गरिएकाे

तपाईको प्रतिक्रिया