जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–५, खाराखोला र बारेकोट गाउँपालिका–८ जोड्ने पक्की पुल अलपत्र परेको छ । पाँच वर्षअघि पुल निर्माणका लागि मन्त्रालयसँग ठेक्का सम्झौता गरेका निर्माण व्यवसायीले समयमा काम नगरेपछि अलपत्र परेको हो ।
कर्णाली प्रदेशकै गौरवको आयोजना ४१७ मेगावाट नलसिङगाड जलविद्युत्को ड्यामसाइड जोड्ने पक्की पुल अलपत्र परेपछि स्थानीयका साथै आयोजनामा समेत असर परेको हो । प्राकृतिक सौन्दर्य तथा पर्यटकीय क्षेत्र मानिएको बारेकोट गाउँपालिका पुग्दा खोलामा पुल नहुँदा सर्वसाधारणले सास्ती पाउने गरेका छन् ।
नलसिङगाड जलविद्युत् आयोजनाले ताकिता नगर्दा कालीमाटीदेखि बारेकोट गाउँपालिकासम्मको सडक जीर्ण हुनुका साथै पुलको कामले गति लिन नसकेपछि यात्रुले दुःख पाउने गरेका छन् । गाउँपालिकामा कामको सिलसिलामा जान थालेका सवारीसाधन भए पनि खाराबजारमै छोडेर झोलुङ्गे पुल तरेर स्थानीय सवारीसाधनमा महँगो भाडा तिरेर पुग्ने गरेका छन् ।
पक्की पुलका वारिपारि पिल्लर जडान गरेर बिचमै निर्माण व्यवसायीले काम छोडेपछि अलपत्र परेको हो । पुल नबेनपछि कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले नलगाड नगरपालिका–५, खाराखोला र छेडागाड नगरपालिका–१२, मनघाटका लागि बेलिब्रिज तयार गर्न एक वर्षअघि ल्याएको सामानसमेत जडान नहुँदा अलपत्र परेको छ ।
बारेकोट गाउँपालिका–८ का वडाध्यक्ष योगेन्द्र सिंहका अनुसार पुल निर्माणका लागि ताकिता गरे पनि गति लिन नसकेको बताउनुभयो । निर्माण व्यवसायीले छिटोछरितो पुल निर्माण गरिदिए आन्तरिक तथा बाह्य पर्यटक भित्रिने उहाँको भनाइ छ । जिल्ला सदरमुकामदेखि भौगोलिक विकटता भएको बारेकोट गाउँपालिका ग्रामीण बस्तीमा सडक सञ्जाल जोडिए पनि बारेकोट गाउँपालिकाको प्रदेशद्वार खाराखोलामा पुल नहुँदा सर्वसाधारणलाई आवागमनमा निकै समस्या पर्ने गरेको छ ।
बर्खामा खोला बढेपछि यात्रु पुनः झोलुङ्गे पुल तरेर अर्को सवारीसाधनमार्फत गन्तव्यमा पुग्ने गरेका छन् । गाडीबाट ओर्लिएपछि घरमा चाहिने आवश्यक सामग्री ओसारपसार गर्न समस्या हुने गरेको छ । खोलामा पानी घटेपछि स्थानीयले अस्थायी रूपमा काठेपुल बनाएका छन् । अस्थायी पुल निर्माण गरेपछि केही महिना गाडी सहज रूपमा वारपार गर्दा यात्रा सहज हुने गरेको छ ।
बारेकोट गाउँपालिका–८ का रत्न सिंहका अनुसार पर्यटकीय बस्तीमा पुग्न नै सास्ती हुने भएपछि ओझेलमा परेको हो । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भौतिक विकास हुनुपर्ने उहाँले बताउनुभयो । सरोकारवाला निकायले विकास गरी पर्यटकीय क्षेत्र बनाउन सके सर्वसाधारणको आयआर्जनमा सुधार हुने देखिन्छ । निर्माण व्यवसायीले जिम्मा लिएका काम नगरी अलपत्र पार्दा पनि सरोकारवाला निकायले चासो नलिएपछि विकास निर्माणले गति लिन नसकेको स्थानीयको गुनासो छ ।
हाम्रो पहुँच संवाददाता । २५ मंसिर २०८१, मंगलवार