चाडपर्व लक्षित बजार अनुगमन


जाजरकोट । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर जाजरकोटमा बजार अनुगमनलाई तीव्रता दिईएको छ । दसैँ, तिहार, छठ जस्ता महान पर्वलाई लक्षित गरी बजार अनुगमन थालिएको हो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटको आयोजनामा संयूक्त बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय, भेरी नगरपालिका, कृषि विकास कार्यालय,उद्योग वाणिज्य संघ, पशु अस्पताल तथा पशु सेवा कार्यालय,उपभोक्ता संरक्षण मञ्च, नागरिक समाजको संयूक्त सहभागितामा बजार अनुगमन गरिएको हो ।

ठाँटी बजार, न्यूरोड, शान्तिचौताराका होटेल, किराना पसलको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकिय अधिकृत समिर गौतमले जानकारी दिए । उनका अनुसार १० हजार बढीको खाद्यान्न बरामद गरी नष्ट गरिएको छ । पेट्रोल तथा डिजेल तथा आयल स्टोरमा समेत अनुगमन गरिएको अधिकृत गौमतले बताए । आयल स्टोरहरुमा बढी बदमासी देखिएकोले अहिले सुधारका लागि सुझाव दिईएको बताए ।

बजारमा दररेट फेरबदल, म्याद नाघेका समानको विक्री, मुल्यमा एकरुपता नभएको भन्ने सर्वसाधरणको गुनासो आएपछि संयूक्त बजार अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटमा कार्यरत पवन शर्माले जानकारी दिए । अधिकांश पसलहरु पहिलेको भन्दा सुधार भएको शर्माले बताए ।

गैरीखाली,शान्तिचौतारा, ठाँटी बजारमा अनुगमन गरिएको छ । कतिपय पसलहरु बाट म्याद गुज्रेका खाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ । दर्ता नभएका उद्योग तथा पसलहरुलाई दर्ता गर्न सल्लाह दिईएको छ । सरकारले अहिले पनि बजार अनुगमनलाई परम्परा शैलीमा खुद्रा पसलमा केन्द्रित गरेको छ । उपभोक्ता ठग्ने व्यापारीलाई पहुँचका भरमा कारबाही नगरी उन्मुक्ति दिने, ठूला व्यवसायलाई छाडेर स–साना व्यवसायमा मात्र अनुगमन केन्द्रित भएपछि प्रभावकारी बन्न नसकेको स्थानीयको गुनासो छ ।

तपाईको प्रतिक्रिया