बारीमा बिक्रीयोग्य भइसकेका स्याउले बजार नपाउँदा कुहिँदै

blogरुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका ५, गोतामकोटका स्याउले बजार नपाउँदा कुहिन थालेका छन् । बारीमा बिक्रीयोग्य भइसकेका स्याउले बजार नपाउँदा किसान चिन्तित भएका छन् । अघिल्लो वर्ष फलेका स्याउले बजार नपाउँदा कुहिएर फाल्नु परेको किसानको भनाइ छ । स्याउ उत्पादक किसान नरबहादुर शाहीले आफ्नो बारीमा रहेका करिब ७५ वटा स्याउका बोटका फल बिक्रीका लागि तयार भएको बताउनुभयो । दुई रोपनी जग्गामा स्याउ लगाएका शाहीले अघिल्लो वर्षभन्दा यस पटक धेरै स्याउ फलेको तर बिक्री नहुँदा कुहिएर खेर जान्छ कि भन्ने पीर लागेको जनाउनुभयो ।

उहाँले आफ्नो बारीमा मात्रै करिब १० क्विन्टल स्याउ बिक्रीयोग्य रहेको जानकारी दिनुभयो । अर्का किसान वीरबहादुर भण्डारीले दुःखजिलो गरेर फलाएका स्याउले समयमै बजार र सोचे जस्तो मूल्य नपाउने समस्या रहेको बताउनुभयो । उहाँको बारीका करिब ६० बोटमा लटरम्म फलेका स्याउ बिक्रीयोग्य भएका छन् । स्याउले बजार र मूल्य पाए आगामी दिनमा स्याउ खेती विस्तार गर्ने सोच रहेको उहाँले जनाउनुभयो । आफूले करिब दुई हजार दाना स्याउ टिपेर राखेको तर तौल नगरेको उहाँले बताउनुभयो । यहाँका करिब ३० जना किसानले उत्पादन गरेका स्याउ अहिले बिक्रीका लागि तयारी भएका छन् । अघिल्लो दुई वर्षयता यहाँ स्याउ उत्पादन हुन थालेको हो । अघिल्ला दुई वर्ष फलेका स्याउ बजार अभावमै खेर फाल्नु परेको थियो । स्याउ बिक्रीबाट भएको आम्दानीले घरखर्च चलाउने योजना थियो, त्यो पनि पूरा नहुने देखिएको उहाँले बताउनुभयो ।

वडाध्यक्ष घनश्याम भण्डारीले गाउँका किसानका उत्पादनले बजार नपाउँदा समस्या हुने गरेको बताउनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न बजार क्षेत्र तथा जिल्लाबाहिर स्याउ पठाउन पहल भइरहेको छ । वडाध्यक्ष भण्डारीको बारीमा पनि ५९ वटा ठुला र २० वटा साना स्याउका बोट छन् । स्याउ खेतीलाई व्यावसायिक बनाउन चाहेको तर उत्पादनले बजार नपाउने अवस्था रहेको उहाँको भनाइ छ । यहाँका किसानलाई कृषि प्रविधि, बोट तथा फलमा लाग्ने विभिन्न रोगको जानकारी, उपचार पद्धतिबारे जानकारी दिनसमेत आवश्यक रहेको वडाध्यक्ष भण्डारीले जनाउनुभयो । किसानले टिपेका स्याउ सङ्कलन गरी करिब दुई ट्रक स्याउ तत्कालै बिक्रीका लागि तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो । गोतामकोटमा उत्पादन भएका स्याउ रोयल र गोल्डेन जातका हुन् । विषादीरहित अर्गानिक उत्पादन भएकाले खानामा स्वादिलो र स्वास्थ्यवर्धक रहेको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । जुम्लालगायतका जिल्लाबाट स्याउका बिरुवा ल्याएर स्याउ खेती गरिएको किसानको भनाइ छ ।

तपाईको प्रतिक्रिया