कर्णाली । सुर्खेतबाट क्यान्सर रोगको उपचार हुने भएको छ । संघीय सरकारको ‘एक प्रदेश, एक जिल्ला’ बाट सेवा विस्तार गर्ने लक्ष्यअनुरूप जिल्लाबाट क्यान्सर रोगको उपचार हुने भएको हो । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सात वटै प्रदेशमा सेवा विस्तार गर्ने भएपछि कर्णाली प्रदेशको सुर्खेत जिल्लाबाट क्यान्सरका रोगीले उपचार पाउने भएका हुन् । संघीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेको छ ।क्यान्सर सरुवा रोग नभए पनि यसको प्रकोप बढ्दो छ । बिरामीको चाँप कम गर्न सबै प्रदेशमा सेवा विस्तार गर्न लागिएको भरतपुर क्यान्सर अस्पतालले जनाएको छ । सात वटै प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङ्ग सेवा विस्तार गर्ने योजना बनाएको छ ।
अस्पतालका उपनिर्देशक डा। उमेश नेपालले अस्पतालमा आउने बिरामीको चाप कम गर्न र बिरामीलाई उच्चस्तरको सेवा प्रदान गर्न सेवा विस्तार गर्न लागेको जानकारी दिनुभयो । सामान्य उपचार प्रदेश–प्रदेशमा गरिनेछ भने जटिल रोगको उपचार केन्द्रीय अस्पतालमै गरिनेछ । हरेक प्रदेशको एउटा सरकारी अस्पतालमा कम्तीमा पाँच शैय्याको क्यान्सर उपचारकक्ष सञ्चालन गर्नेगरी सेवा विस्तार हुने उहाँले बताउनुभयो । डा। नेपालका अनुसार हरेक महिना एक साता अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको टोली विस्तारित केन्द्रमा खटिने छन् । सबै प्रदेशका स्वास्थ्य संस्थासँग समन्वय गरेर सेवा सञ्चालन गरिनेछ ।
भौगोलिक विकटताका कारण कर्णालीका अधिकांश बिरामी अन्तिम अवस्थामा अस्पताल पुग्ने गरेका छन् । भौगोलिक विकटताका कारण समयमै क्यान्सर रोगको पहिचान नहुनु प्रमुख कारण रहेको उपनिर्देशक डा। नेपालले बताउनुभयो । उहाँका अनुसार अन्य प्रदेशको तुलनामा कर्णालीका अधिकांश बिरामी अन्तिम अवस्थामा अस्पताल पुग्ने गरेका छन् । समस्यालाई समाधान गर्न सातवटै प्रदेशमा सेवा विस्तार गरिएको उहाँको भनाइ छ ।सुर्खेत जिल्लामा क्यान्सर रोगका बिरामी बर्सेनी थपिँदै गएका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्न थालेका छन् । त्यसमध्ये पनि क्यान्सर रोगका बिरामीको संख्या धेरै रहेको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०८०–८१ मा सुर्खेत जिल्लामा ११० जना क्यान्सर रोगका बिरामी फेला परेका छन् । यो संख्या उपचारमा सहुलियत लिन आएकाको हो । गत वर्ष जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतबाट ५० जनाले प्रतिव्यक्ति २० हजारका दरले सहुलियत यातायात खर्च लिएका छन् । अन्य ६० जनाले सहुलियत लिन निवेदन पेस गरेको कार्यालयले जनाएको छ । सहुलियतका लागि गत वर्ष प्रदेश सरकारले कार्यालयलाई १० लाख बजेट पठाएको छ । यसैगरी स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले समेत क्यान्सरका बिरामीलाई उपचार सहुलियत दिने गरेको छ । विपन्न नागरिक यातायात सहायता कार्यक्रममार्फत् रकम दिने गरिएको निर्देशनालयले जनाएको छ । गत वर्ष १३० जना क्यान्सरका बिरामीलाई सहायता रकम दिइएको निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलले बताउनुभयो । गत वर्ष प्रदेश सरकारले ‘विपन्न नागरिक यातायात सहायता कार्यक्रम’ का लागि ५० लाख बजेट निर्देशनालयमा पठाएको थियो । उक्त रकमबाट १३० जना क्यान्सरका बिरामीले सहुलियत यातायात खर्च लिइएका छन् ।
चालु आवमा करोड विनियोजन
प्रदेश सरकारले क्यान्सरका रोगीलाई उपचारमा सहायताका लागि चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरेको छ । यो वर्ष नयाँ कार्यविधि निर्माण गरेर सहायता रकम वितरण गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । गत वर्षमा फरक–फरक रूपमा बिरामीलाई यातायात खर्च दिने गरिएको थियो । २० हजारदेखि ३० हजारसम्म दिने गरिएकोमा यो वर्ष बजेट थप गरेर वितरण गरिने मन्त्रालयका जनस्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार अप्रेसन भएका क्यान्सरका बिरामीलाई प्रतिव्यक्ति एक लाख दिनेगरी कार्यविधि निर्माण भइरहेको छ । रजनी योगी
हाम्रो पहुँच संवाददाता । ३१ श्रावण २०८१, बिहीबार