अझै लोकप्रिय ‘पानी घट्ट’

अधिकांश कुटानी पिसानीका लागि जान्छन्, त्यही बाट केहीको गुजरा चलिरहेको छ ।


जाजरकोट । प्रविधिको विकाससँगै जिल्लाका अधिकांश भागमा आधुनिक घट्टको प्रयोग भएका छन् । बिजुलीबत्ती पुगेका ठाउँहरूमा पानीबाट चल्ने घट्ट विस्थापित भएपनि नपुगेका ठाउँमा अझै परम्परागत पानी घट्ट नै लोकप्रिय छन् ।

पानी घट्ट चलाउँदै आइरहेका बारेकोट गाउँपालिका —०२ की सपना रोकाय घट्ट चलाएर गुजारा चलाउने गर्छिन् । ‘हाम्रो जस्तो बिजुलीबत्ती नपुगेको ठाउँमा यसको प्रचलन उत्तिकै लोकप्रिय छ’ उनले भनिन्, ‘दिनभर मकै, कोदो लगायतको अन्न पिस्ने गर्छु, यसैले नै जीविका धानिरहेको छ ।’ परापूर्वकालदेखि नै घट्टबाट नै पिसेको अन्नले दैनिक भान्सा पाक्ने गरेका उनी बताउँछिन्।

जिल्लाका अधिकांश ठाउँमा बिजुली बत्तीको सुविधा पुगेको छैन । पुगेका ठाउँहरूमा पनि दैनिक जीवनको लागि अति आवश्यक पर्ने कुटानी पिसनीका आधुनिक मिल छैन । यसले गर्दा अझै पनि पानी घट्टमा नै आश्रित हुनु परेको छ । बढ्दो आधुनिकतासँगै सहरबजारमा पानी घट्टको प्रयोग हुन छाडेपनि बिजुलीबत्ति नपुगेका गाउँबस्तीमा भने घट्टको लोकप्रियता घटेको छैन । स्थानीयले उत्पादन भएका अन्नबालीलाई पिस्नको लागि खोला किनारमा पानी घट्ट बनाएर पिस्दै गुजारा चलाएका छन् । दिनभरि लगाएर घट्टमा पालो पर्खेर फापर, गहुँ, मकै पिस्ने गरेको स्थानीयवासीको भनाई छ ।

सहर–बजारमा विद्युतीय सामानको प्रयोग बढ्दो छ । धान, चिउरा, पिठो पिस्न वा तेल पेल्न विद्युतीय मोटर जडित मिलको प्रयोग हुन्छ । ग्रामीण क्षेत्रमा भने पानीघट्ट नै लोकप्रिय छ । विद्युत विस्तार भएका गाउँका स्थानीय बासिन्दा पानीघट्टकै प्रयोग गर्छन् । ‘घट्टमा पिसेको पिठो आधुनिक मिलमा पिँधेको भन्दा खानमा स्वादिष्ट हुन्छ’ उनले भनिन्, त्यसैले ‘यहाँका स्थानीयहरू समय लगाएरै भएपनि मकै, गहँु, कोदो लगायतका अन्न घट्टमा नै पिस्ने गरेका छन् ।’ हरेकजसो गाउँमा एउटा पानीघट्ट रहेको र पानी घट्टकै सहारामा काम उनीहरुले चलाउने गरेका छन् । जिल्लाकै सात वटा स्थानीय तहका अधिकांश मानिसहरुले पानीघट्ट चलाएरै आफ्नो जीविका धानिरहेका छन् ।

आर्थिक रूपमा विपन्न स्थानीयहरुले पानी घट्ट संचालन गरी परिवारका लागि साँझ बिहानको खाना जुटाउँदै आएका छन् । कुशे गाउँपालिका — ०८ का रामबहादुर रोकाय भन्छन्, ‘अन्न पिसानी गर्दा केही हिस्सा घट्ट संचालन गर्दै आएका परिवारलाई दिने गरेका छन्, त्यहि हिस्साले साँझ बिहानको छाक छार्ने गछौं ।’ घट्टमा पिसानीका लागि आउनेहरूले दिने पिठोले चार महिना गुजारा चल्ने गरेको र बाँकी खानाका लागि पाखो बारीमा लगाइएको अन्नले धान्ने गरेको बताउँछन् ।

घट्ट चलाउने व्यक्तिलाई घटेरो भन्ने गरिन्छ। अन्न पिसे बापत घटेरोहरूले त्यही अन्नबाट ज्याला निकालेर बिहान बेलुकाको छाक टार्ने गर्दछन् । त्यहाँ रहेका पानी घट्टमा कोदो, फापर, गहुँ, चामल, मकै लगायतका अन्न पिस्नको लागि आसपासका बस्तीदेखि मानिसहरु आउने गरेका छन् । बारेकोटमा मात्रै ५० भन्दा बढी यस्ता पानी घट्टछन् । नेपाली जीवनशैलीमा आदिम कालदेखि स्थान पाएको पानी घट्ट चलाउन न बिजुली चाहिन्छ न त खर्चिलो भयो भनेर डराउनु पर्छ । पानीको फोहोराबाट यसलाई चलाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया