काठमाडौं । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले शिक्षकको राजनीतिक अवद्धता नखोज्न वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेका छन् । पूर्व शिक्षामन्त्रीसमेत रहेका पौडेलले बरु शिक्षकले विद्यालय समयमा कस्तो शिक्षण गरेको छ भनेर अनुगमन र नियमन गर्न आग्रह गरे । मंगलबार प्रतिनिधि सभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै उनले शिक्षकको राजनीतिक आवद्धता खोजेर गाली गर्ने काम उचित नभएको बताए ।
‘आजकल शिक्षकलाई गाली गरेपछि विद्यालय सुधिन्छ कि भन्ने तर्क गरिन्छ । ड्राइभरलाई गाडी चलाउँदा राम्रो गरिनस् भनेर गाली गर्दा राम्रोसँग गाडी चलाउँछ र रु’ उनले प्रश्न गरे । शिक्षामन्त्री श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएकी छन् । उनले शिक्षा विभाग र जिल्ला शिक्षा समन्वय इकाइबाट समेत राजनीतिमा आवद्ध शिक्षकहरुको विवरण र कारबाही प्रक्रियाबारे जानकारी माग गरेकी छन् ।यो पृष्ठभूमिमा सत्ताको नेतृत्वकर्ता दल माओवादीका नेता पौडेलले त्यो आवश्यक नरहेको तर्क गरे । पौडेलले बुटवलको कालिका मानवज्ञान मावि, चितवनको नारायणी मावि, मोरङको शुक्ला मावि, काठमाडौंको ज्ञानोदय माविको नाम लिँदै ती उत्कृष्ट सामुदायिक विद्यालयलाई अहिलेको अवस्थामा पु¥याउन राजनीतिक दलमा आवद्ध शिक्षकहरुकै भूमिका रहेको आशय व्यक्त गरे ।
‘त्यो विद्यालयलाई त्यहाँ पु¥याउनेहरुको पृष्ठभूमि हेर्नुभयो भने अर्कै देखाउँछ । त्यसो भएर यो आरोप सही छैन’, उनले अगाडि भने, ‘शिक्षकहरुको अनावश्यक रुपमा डीएनए परीक्षण गर्दै हिँड्ने कुरा राम्रो छैन । ट्रेड युनियन अधिकार विपरीत हुन्छ । शिक्षामन्त्री श्रेष्ठलाई तीन काम गर्न पूर्वमन्त्री पौडेलले सुझाव दिए । ‘खाली विद्यालय समयमा शिक्षकले गरेको पठनपाठनमा ध्यान दिने हो । भौतिक पूर्वाधारमा सुधार, शिक्षण सिकाइमा सुधार र कानुनमा सुधार, यी तीन कुरामा सुधार ध्यान दियो भने विद्यालय शिक्षामा सुधार हुन्छ’, उनले भने । पौडेलले शिक्षकको क्षमता अभिवृद्धि गर्न र उनीहरुलाई खुशी बनाउन शिक्षामन्त्रीले ध्यान दिनुपर्ने धारणा राखे । ‘‘अरु कुरामा बहकाउमा नलागेर शिक्षकलाई इम्पावर गर्ने, शिक्षकलाई खुसी बनाउने, शिक्षकलाई खुसी बनाएर विद्यालय पु¥याउने, दरबन्दी पु¥याउने, सिकेको छैन भने तालिम दिएर सक्षम बनाएर विद्यालय पु¥याउने नै मन्त्रालयको काम हो’ पौडेलले भने ।
हाम्रो पहुँच संवाददाता । २९ जेष्ठ २०८१, मंगलवार