दुर्गम गाउँमा खाद्यान्न संकट : खाद्य डिपोमा छैन चामल, रित्तै फर्कन्छन् सेवाग्राही


जाजरकोट । जिल्लाको जुनीचाँदे गाउँपालिकामा खाद्य संकट परेको छ । यातायातको पहुँच नपुगेको र न्यून खाद्य उत्पादन हुने जुनीचाँदेका विभिन्न बस्तीहरूमा खाद्य संकट परेको हो । जुनीचाँदेका जुर्क, निपाने, मैनपाखा, ढड्गाउँ, सागियाँ लगायतका गाउँमा खाद्यान्न हुँदा स्थानीयलाई निकै सास्ती भएको छ ।

ति गाउँमा हुने खाद्य संकटलाई मध्य नजर गरेर सरकारले स्थापना गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्य बिक्री केन्द्रमा पनि खाद्यान्न नहुँदा थप समस्या परेको जुनीचाँदे गाउँपालिका— ७ का वडाध्यक्ष नैनसिंह घर्तीले बताए । ति गाउँहरू अहिले पनि यातायातको पहुँचमा पुगेका छैनन् । जुनीचाँदेको प्रशासनिक केन्द्र परालेसम्म मुस्किलले साना गाडी पुग्ने गरेका छन् । गाउँपालिकाको माथिल्लो भेग जुम्लासँग सिमाना जोडिएका बस्तीमा जाने सडक बन्न सकेको छैन ।

सडकको पहुँच नहुँदा खाद्यान्न लैजान समस्या छ । ढुवानी समस्याले गर्दा खाद्यान्नको समस्या भएको वडाध्यक्ष घर्तीले बताए । खाद्य कम्पनीको बिक्री केन्द्रमा चामल नपाउँदा स्थानीय रित्तै फर्कन बाध्य छन् । घरमा खाने अन्न छैन । ‘बिक्री केन्द्रमा पनि चामल पाया नाई क्या खाएर बाँच्न्या हो’ स्थानीय पार्वती रोकाले भनिन, ‘खाद्य नपाउँदा हामी त निकै समस्यामा परिम् । छाक टार्न निकै मुस्किल भो ।’

खाद्य कम्पनीको बिक्री केन्द्रमा खाद्यान्न लिन जानेहरू चामल नहुँदा हिजोआज रित्तै फर्कने गरेका छन् । बिक्री केन्द्रमा मौज्दात चामल गत साता नै सकिएको जिल्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटका प्रमुख रामप्रसाद पौडेलले बताए । चालु आर्थिक वर्षमा सुर्खेतबाट पाँच सय क्वीन्टल र जिल्ला सदरमुकामबाट सात सय क्वीन्टल चामल पठाइएको थियो । उक्त चामल सबै बिक्री भइसकेको पौडेलले बताए । चामलको माग धेरै छ ।

आर्थिक वर्ष समाप्त नहुँदै निर्धारित कोटाको चामल सकिएको हो । सरकारले दुर्गम क्षेत्रका लागि ढुवानी अनदान दिँदै आएको छ । ’बिक्री केन्द्रमा खाद्यान्न सकिएको र थप माग गरेपछि स्थलगत अवस्था बुझ्न केही दिन अघि दुर्गम गाउँ रजुतारा पुग्दा त्यहाँको अवस्था निकै समस्याग्रस्त रहेछ’, पौडेलले भने, ’त्यहाँ उत्पादित अन्नले वर्ष दिनमा तीन महिना पनि नपुग्ने रहेछ ।

यातायातको पहुँच र बजार नहुँदा किनेर खाने अन्न पनि नपाइँदो रहेछ । खाद्य संकटले गर्दा स्थानीय निकै समस्यामा छन् ।’
बर्सेनि खाद्य संकट भैरहने ति बस्तीका लागि स्थायी रूपमै खाद्य डिपो स्थापनाका लागि माग गरिएको स्थानीय हिमाल घर्तीले बताए । दुर्गम र विकट बस्ती भएका कारण अन्न उत्पादन खासै हुँदैन । यातायातको सुविधा नहुँदा खाद्यान्न ढुवानीमा समस्या छ । त्यही भएर खाद्यको चामलमा भर पर्नु पर्ने बाध्यता रहेको उनको भनाइ छ ।

जुनीचाँदे लगायतका विकट गाउँमा खाद्य सङ्कट परेकाले रजुतरालगायतका बिक्री केन्द्रमा खाद्यान्न सकिएपछि जिल्ला खाद्य व्यवस्था समितिले थप अनुदानको चामल पठाउन सरकारसँँग माग गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यको अध्यक्षतामा बसेको बैठकले रजुतराामा थप पाँच हजार क्वीन्टल चामलको व्यवस्था गर्न सरकारसँग माग गर्ने निर्णय गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख पौडेलले जानकारी दिए ।

बैठकले कुशेको टापुचौर बिक्री केन्द्रका लागि थप पाँच सय क्वीन्टल र नलगाडको चौखा खाद्य डिपोका लागि नौ सय क्वीन्टल चामलको कोटा थप गर्न माग गरेको छ । प्रमुख जिल्ला अधिकारी आचार्यले ति स्थानमा पनि चालु वर्षको निर्धारित कोटा सकिएपछि थप माग गरिएकोे बताए । त्यस्तै, बैठकले शिवालय गाउँपालिका ३ शिवालय, छेडागाड नगरपालिका ३ थलह बजार र नलगाड नगरपालिकाको कैनामा थप बिक्री केन्द्र स्थापनाका लागि सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरेको प्रजिअ आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया