जाजरकोट । जिल्लाको भेरी नगरपालिकाले अटो रिक्सा सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ । सोमबार नगरपालिका उप ‒प्रमुख सीता जैसीले उद्दघाटन गरेसँगै इ‒अटो रिक्सा सञ्चालनमा आएको हो । २०८१ वैशाख ९ गते बसेको बैठकले नगरभित्र अटो रिक्सा चलाउन सक्ने निर्णय गरिएको थियो । नगरपालिका भित्र सञ्चालन हुने अटो रिक्साहरुको भाडादर समेत निर्धारण गरिएको छ ।
भाडादरमा एक किलोमिटर दुरीको १५ रुपैयाँ निर्धारण गरिएको उपप्रमुख जैसीले जानकारी दिईन् । नगरपालिका भित्र रहेका १८ वटा सडकमा अटो रिक्सा सञ्चालनमा आउने भएको छ । उपप्रमुख जैसीका अनुसार खलंगा—रिम्ना, तल्लो थाप्ले‒ शान्तिचौतारा, जिरी प्वाइन्ट देखि कालेगाउँसम्म, शान्तिचौरता देखि वडा २ को दारखोला सम्म सञ्चालन हुने छ । यस्तै, खलंगा— कुदु, जगतिपुर, बुरुङ्गे, स्याउली,लामाकाटिया, कालाभुर, भुरपोखरा सम्मको सडकमा सञ्चालन गरिनेछ ।
अटो रिक्सा सञ्चालनपछि नागरिकहरुलाई आवतजावतमा निकै सहज भएको छ । स्थानीय सडकमा गाडी कुर्दाकुर्दै समय वित्ने गरेको थियो । अव अटो सञ्चालन भएपछि निकै सहज हुने स्थानीय कालिका सिंहले बताईन् । पछिल्लो समय अटो रिक्सा भित्रिएका छन् । खलंगा अटो रिक्सा आएसँगै वजारमा आवतजावतमा सजिलो हुन थालेको छ । अटो रिक्साले वजारमा किनमेल गर्ने र अप्ठेरो अवस्थामा विरामीलाई अस्पतालसम्म लैजान समेत सहयोगी बनेको छ ।
अटो रिक्सा आएपछि स्थानीयलाई निक्कै सुविधा थपिएको छ । अटो रिक्सा भित्रियो तर ग्रामिण सडकमा स्तरोन्नती नहुँदा अटो रिक्सा सञ्चालकलाई समस्या भएको छ । कच्ची बाटाहरुमा अटो रिक्सामा यात्रुलाई आवतजावत गर्न खतरा देखिन्छ ।
सामान्य नजिकको दुरी तथा भेरी नगरपालिकाका स्थानीयलाई जुनसुकै समयमा भए पनि सुविधा दिने भएकोले स्थानीय अटो रिक्सालाई भरपर्दो सुविधाका रुपमा लिन थालेका छन् । अटो रिक्साले नगरभित्रका नागरिकहरुलाई आवतजावतमा सुविधा दिएको छ । आवश्यक कागजात सहित अटो रिक्साहरु नगरपालिकामा दर्ता गर्नुपर्नेछ । नागरिकहरुलाई आवतजावतमा सहजता आवस् भनेर अटो रिक्सा सञ्चालन गरिएको उपप्रमुख जैशीले जानकारी दिईन् ।
बजार भित्रका बिभिन्न स्थानहरूमा पुग्न र सामान ओसारपसार गर्नका लागि अरू सवारीसाधान सञ्चालन नहुँदा यात्रुलाई निकै समस्या थियो । तर हालै केही दिनयता एकैपटक धेरै अटो रिक्सा सञ्चालनमा आएसँगै यात्रुलाई सहज भएको छ । ’बजारभित्र ठूला सवारीसाधनले चाहेको स्थानसम्म नपु¥याउने हुँदा समाग्रीसहित यात्रुलाई असहजता थियो’ व्यवसाय गर्दै आएका विनोद विकले भने, ’अटो रिक्सा सञ्चालनमा आएपछि सहजता हुनेछ ।’
पसलमा समान किनेपछि भनेको स्थानमा गाडीले सामान नउठाउने गर्दा लेबरबाट गाडि छुट्ने स्थान सम्म सामान लैजानुपर्ने बाध्यता थियो । बजारमा बस्दै आएका केवी विक भन्छन्, ‘अटो रिक्सा सञ्चालनमा आएपछि निकै फाइदा हुने विश्वास लिएको छु ।’
विभिन्न स्थानबाट आएका कुरियरका सामाग्री बसपार्कमा झारेपछि निश्चित स्थानसम्म लैजाने नहुदा भनेको बेला लेबर नपाउनु र लेबरमार्फत बोकाएर लैजानुपर्ने बाध्यता थियो । अटो रिक्सा सञ्चालनमा आएपछि सजिलो भएको छ । छरिएर रहेका सरकारी कार्यालयमा जान समेत सेवाग्राहीलाई निकै समस्या भएको थियो । अव अटो रिक्सा सञ्चालनमा सहज हुने भएको छ ।
मालपोत, नापी, शिक्षा कार्यालयमा जान बोहरा गाउँ सम्म पुग्नुपर्ने बाध्यता थियो । वीचमा गाडी हिड्दैन्थे, भएपनि छोटो समय सम्म यात्रुलाई बोक्दैन्थे, अव अटो चलेपछि निकै सहज हुने विश्वास लिईएको छ । सडकको अवस्था अलि कमजोर भएकोले अटो चलाउन सजिलो छैन् ।
हाम्रो पहुँच संवाददाता । २ जेष्ठ २०८१, बुधबार