स्याला मुल्साम बारेकाेट, जाजरकाेट
जाजरकोट । वरिपरि अग्ला पहाड । दुई गाउँको वीचमा आफ्नै सुरमा वगिरहेको खोला । पुग्न कठिन, पुगेपछि स्वर्गको अनुभूति । मनै लोभ्याउने गाउँले जीवनशैली, रहनसहन, भेषभूषा, कला र संस्कृति । प्रकृति, संस्कृति, आर्थिक समृद्धिको बलियो सम्भावना बोकेका ठाउँ हुन् मुल्साम । बारेकोट गाउँपालिकाको वडा नं.—०३ मा पर्छन् पहाडा र स्याला मुल्साम । प्रकृतिको सुन्दर जस्तै विकासले सुन्दर हुन नसकेका वस्ती हुन मुल्साम । देशमा संघीयता आएको एक दशक पुग्न लाग्यो । संघीयता आएको जस्तो लागिरहेको छैन मुल्सामबासीलाई । शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सञ्चार, खाद्यान्नका समस्या उस्तै छन् । स्थानीय सरकार गठन भएको सात बर्ष पुग्यो ।
सरकारको अनुभूति गर्न पाएका छैनन् मुल्सामवासीले । पाँच घण्टा पैदल हिडेर गाउँपालिकामा सेवा लिन आउने गरेको स्थानीय राममाया रोकायले बताईन् । ‘विहानै हिडेर १२ बजेसम्म गाउँपालिका पुग्छौं, उनले भनिन्, ‘वेलुका घर आउँदा राती १० सम्म बज्छ, विकासले हाम्रो गाउँलाई छोएकै छैन् ।’ चुनावको वेला नेताहरुले ठूला‒ठूला सपनाहरु बाँडिरहेका हुन्छन् ।
पहाडा मुल्साम
चुनावपछि नेताहरु कहिल्यै फर्केर नआएको स्याला मुल्सामका प्रेमबहादुर बोहराले बताए । ‘चुनावको वेला नेताहरु आउँछन् आश्वासन बाँड्छन्, जितेपछि आउँदैनन्, उनले भने, ‘मुल्सामबासीको पीडा कसले सुनिदेला र ?’ प्रकृतिको अनुपम ठाउँलाई बरु नेताहरुले दुर्गमको ट्याप लगाईदिएका छन्, मुल्सामबासीको जीवनस्तर उकास्न नेताहरुले नचाहेको बोहराले बताए ।
गर्भवती, सुत्केरी महिलाहरुले झनै पीडा खेपिरहेका छन् । समान्य रुघाखोकीको औषधी समेत नपाईने ठाउँमा कसरी नयाँ जीवन सम्भव छ ? आमाहरुले मृत्यु सँग लडेर बच्चावच्चीहरु जन्माईरहेकी छन् स्थाानीय प्रखर सीले बताए । ‘न वर्थिङ्ग सेन्टर, न अस्पताल यी नभएपछि डाक्टर हुने कुरै भएन उनले भने, ‘अस्पताल हिडेर जान ५÷६ घण्टा लाग्छ, सुत्केरी महिलाहरुले वीच बाटोमै शिशु जन्माउने गरेका छन्, सडक पुगेको छैन् ।’ विरामीहरुले अस्पताल सम्म ल्याउँदा वीच बाटोमै जीवन गुमाउनुपर्ने स्थिति रहेको उनको भनाई छ ।
एक केजी नुनको मुल्य ८० रुपैयाँ !
सरकारले अनुदानमा वितरण गर्ने आयोडिनयूक्त नुन एक केजीको मुल्य मुल्साममा ८० रुपैयाँ छ । साल्ट टेडिङ्ग कर्पाेरेशनको नजिकैको कार्यालयमा रु. १० मा आउँछ । नुनमा मात्रै होइन् खाद्यान्नको मुल्य पनि दोब्बर बढी छ । सडक नपुगेका कारण व्यापारीहरुले खाद्यान्नको मुल्य ढुवानी लाग्यो भनेर लिने गरेको स्थानीय प्रखर सीले जानकारी दिए । नुन, तेल, चामल,दाल, बेसार लगायतका खाद्यान्नको मुल्य छोइ सक्नुछैन् । महंगीले खाद्यान्न किनेर खाना सक्ने अवस्था नरहेको उनले दुःखेसो पोखे । ‘हाम्रो गाउँमा सडक पुगेको भए, यति धेरै दुःख भोग्नुपर्ने थिएन्, सडक कहिले आउँछ भन्ने कुनै सुरसार छैन् उनले भने, ‘जनप्रतिनिधीहरुको प्राथमिकतामा मुल्साम परेको देखिदैन् ।’ विकासको पूर्वाधारमध्ये सडकलाई पहिलो मानिन्छ । सडक पुगेपछि खाद्यान्न, विकास निर्माणका सामग्री ढुवानी गर्न निकै सजिलो हुन्छ ।
अहिले पनि घोडा खच्चड बाट सामग्रीको ढुवानी भईरहेको छ । ‘मानिसले आफैले चार÷पाँच घण्टा हिडेर सामग्री ल्याउनुपर्छ, उनले भने, ‘त्यसैले यहाँ समान निकै महंगो छ ।’ खाद्यान्न र स्वास्थ्य क्षेत्रमा मात्रै होइन् सञ्चार, शिक्षा क्षेत्रमा पनि उस्तै पीडा छ । फोन गर्नका लागि गाउँमा अहिले पनि नेटवर्क गतिलो छैन् । केहीवेर हिडेर अग्लो डाँडा गएपछि मोबाइलमा टावर आउँछ स्थानीय रणबहादुर रोकायले बताए । सञ्चारको राम्रो सुविधा नहुँदा टाढाटाढा हिडेर जानुपर्ने बाध्यता उस्तै छ । संविधानले माद्यामिक तहलाई ९‒१२ बनाईसकेको छ । ‘निःशुल्क पाईने शिक्षा पनि मुल्सामबासीले पाउन सकेका छैनन् । गाउँमा १० कक्षा सम्मको विद्यालय छ । त्यसपछि ११÷१२ पढ्नका लागि चार ÷पाँच घण्टा हिड्नुपर्छ ,रणबहादुरले भने । बारेकोटका सबै वडामा सडक पुगीसकेको छ । वडा नं ३ को वडा कार्यालय सम्म सडक पुगेको छ ।
वडाको सिंगो वस्ती मुल्साम हुन् । स्याला र पहाडा गरी पाँच सय घरधुरी छन् । अहिले आधारभुत आवश्यकता समेत पाउन सकेका छैनन् । नागरिकलाई आधारभुत आवश्यकता बाट बञ्चित गर्नुहुदैन संविधानमा लेखिएको छ तर मुल्सामबासीलाई संविधानले छुन सकेको छैन् । बहुमुल्य ढुङ्गा खानी मुल्साममा पाइन्छ, तर उत्खनन्मा स्थानीय सरकारले ध्यान नदिदा चोरी भईरहेको स्थानीयले बताए । ‘स्थानीय सरकारले मुल्सामबासीलाई प्राथमिकतामा राखेको छैन, कसरीले संघीय सरकारको भर गरौं’, स्थानीय विज्ञान सी ।
शिक्षा, स्वास्थ्य, यातायात, सञ्चारm विद्युत जस्ता नैर्सगिक अधिकारबाटै नागरिकहरु बञ्चित भईरहेका छन्, तर सरकारको ध्यान जान नसक्नु राज्यले नागरिकलाई उपेक्षित बनाईरहेको देखिन्छ । वडा नं. ३ का वडाध्यक्ष रामबहादुर सिंहले मुल्साममा सडक निर्माणका लागि बजेट आएको छैन, बजेट आएपछि ८१÷८२ मा बन्ने आकलन गरे । ‘अहिले सडक खन्ने काम भईरहेको छ, उनले भने, ‘दुवारे सम्म खनिएको छ, बजेट अनुसारको काम सकियो, पैसा आयो भने, एक दुई बर्षमा पुग्छ ।’ ८० लाखको सडक खन्ने काम सकिएको छ । बारेकोट गाउँपालिका र यूएनडिको साझेदारीमा सडक खनिएको छ, आर्थिक अभावले विचमै छोडिएको अध्यक्ष सिंहले बताए ।
हाम्रो पहुँच संवाददाता । १ जेष्ठ २०८१, मंगलवार