प्रशासनको सेवा अब प्रिफ्याब भवन बाट !


जाजरकोट । भुकम्पका कारण भवनमा क्षति पुगेपछि टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोट सोमवार देखि प्रिफ्याब भवनमा सरेको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी)को सहयोगमा प्रिफ्याब भवन बनेपछि कार्यालय संचालनमा सहजता आएको प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले बताए ।

भुकम्पले स्थानीय प्रशासनको भवन क्षतिग्रस्त बनाएपछि सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । भुकम्प पछि अस्थायी टेन्ट र त्रिपालबाट सेवा संचालन भैरहेको थियो । भवन नहुँदा सेवा प्रवाहमा निकै समस्या थियो । सेवाग्राही उभिन र हामी बस्न समेत राम्रो सँग पाएका थिएनौ । युएनडीपीले ६ कोठे प्रिफ्याब भवन बनाईदिएपछि निकै सहजता हुने देखिएको प्रजिअ आयार्यले बताए । उनले भवन निर्माण गरिदिएकोमा युएनडीपीलाई धन्यवाद दिए । यो भवन आगो नलाग्ने, तापक्रम लाई नियन्त्रणमा राख्न सक्ने र भुकम्प प्रतिरोधी भवन हो । भुकम्पको ६ महिना पछि जिल्ला प्रशासन कार्यालय सुविधा सहितको भवनमा सरेको प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताए ।

सोमवार एक कार्यक्रमका वीच युएनडीपीका उपआवासिय प्रतिनिधी विजय सिंहले जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई भवन हस्तान्तरण गरे । ६९ लाख ५१ हजार ६ सय ५५ रुपैयाँ लागतमा निर्माण भएको भवनको प्राविधिक तथा आर्थिक सवै सहयोग युएनडीपीले गरेको हो । युनएनडीपीका उपआवासिय प्रतिनिधी विपदको सामना सवै मिलेर गर्नु पर्ने बताउँदै भुकम्पका कारण भवनमा क्षति हुँदा जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहमा समस्या देखिएपछि सहयोग गरिएको बताए । उनले भने ‘छोटो समयमा निर्माण गर्न सकिने, भुकम्प प्रतिरोधी, आगलागी रहित र कम्तीमा १५÷२० बर्ष सम्म टिकाउ हुने गरि प्रिफ्याब प्रविधिको भवन निर्माण गरेका छौ । हाम्रो सानो सहयोगले विपदमा परेका नागरिकको सेवा प्रवाहमा ठुलो सहयोग हुनेछ ।’

युएनडीपीले जिल्ला प्रशासन कार्यालयका साथै जिल्लाकै नलगाड नगरपालिकामा इलाका प्रहरी कार्यालय भवन, बारेकोट गाँउपालिकामा कृषि र पशु कार्यालयका भवन, रुकुम पश्चिमका आठविसकोटमा इलाका प्रहरी कार्यालय भवन र आठवीसकोटकै १४ नम्बर वडा कार्यालय भवन निर्माणको अन्तिम चरणमा रहेको सिंहले बताए । भवन निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने केहीलाई सम्मान पत्र प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया