लागुपदार्थ दुव्र्यसन विरुद्ध नगरको एक्सन : सार्वजनिक स्थलमा रक्सी चुरोट प्रतिबन्ध, सुराकीलाई पुरस्कार, नाकामा निगरानी


जाजरकोट । भेरी नगरपालिकाले लागुपदार्थ दुव्र्यसन विरुद्धको एक्सन सुरु गरेको छ । नगरभित्रका किशोरकिशोरी तथा यूवाहरुलाई लागुपदार्थ दुव्र्यसन बाट मुक्त गर्न एक्सन सहित अभियानको सुरुवात गरेको हो । सार्वजनिक स्थलमा रक्सी चुरोट सेवन गरेमा नगरपालिकाले कारवाही गर्ने भएको छ । युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो तर पछिल्लो समय लागुपदार्थ दुव्र्यसनी जस्ता क्रियाकलापमा फसेकोले त्यहाँ बाट मुक्त गर्न अभियानको सुरुवात गरिएको नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

‘युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवतर्नका संवाहक शक्ति हुन्, नगरप्रमुख घर्तीले भने, साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोत समेत मानिन्छ ।’

तर पछिल्लो समय नगरभित्रका यूवाहरु लागुपदार्थको लतमा फसेको, विद्यालय छोड्ने यूवाको संख्या बढेको जनगुनासोका आधारमा नगरपालिकाले लागुपदार्थ रोकथाम तथा दुव्र्यसनी विरुद्धको अभियान सुरु गरेको बताए । अभियानका लागि नगरले एक करोड रुपैयाँ परिचालन गरेको छ ।

अभियान सफल पार्नका लागि लागु औषध उत्पादन र विक्रि वितरण गरिने क्षेत्र पहिचान गरी उत्पादन नष्ट गर्ने निर्णय गरिएको अभियानका फोकल पर्सन शिक्षा अधिकृत अमृतबहादुर पुनले जानकारी दिए । उनका अनुसार, लागुऔषध ओसारपसार गर्ने नगरभित्रका मुख्य नाकाहरु रिम्ना, धल्का, छेडा, मटेला, कालेगाउँ कुदु, पाँचकाटियामा निगरानी वढाउने, सार्वजनिक स्थलमा मद्यपान÷धुम्रपान पुर्ण प्रतिवन्ध लगाउने र उल्लंघनकर्तालाई प्रचलित कानून वमोजिम कार्वाही गरिने निर्णय गरिएको छ ।

यस्तै, लागुऔषध उत्पादन र विक्री वितरण सम्बन्धी सूचना दिने नागरिकलाई पुरस्कृत गर्ने निर्णय समेत गरिएको छ । लागुपदार्थ ओसारपसार गर्नेलाई तत्काल नियन्त्रणमा दिई कार्वाही गर्न जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको छ । लागु पदार्थ दुव्र्यसन तथा नियन्त्रण गर्ने प्रयोजनका लागि सुचना तथा तथ्यांक संकलन गर्ने जिम्मेवारी प्रहरीलाई दिईएको फोकल पर्सन पुनले बताए । जोखिममा रहेका युवालाई पहिचान गरेर उपचारका लागि पुर्नस्थापना केन्द्रमा पठाउने निर्णय समेत गरिएको छ ।

लागु पदार्थ भनेको के हो ?
मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ । कानूनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ हो ।

विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरिरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको छ । लागु औषध नियन्त्रण ऐन २०३३ को दफा घ मा लागु औषधलाई गाँजा, औषधोपयोगी गाँजा,अफिम, तयारीको अफिम, औषधोपयोगि अफि, कोकाको झार र पात र अफिम तथा कोककाको सारतत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने कुनै कुनै पदार्थलाई बुझिन्छ । नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागु औषध तथा मनोदिपक पदार्थ (साइकोट्रपिक्स सब्स्टान्स) र तिनको लवणहरू तथा अन्य पदार्थ समेत सम्झनु पर्दछ भनि परिभाषित गरिएको छ ।

सार्वजनिक स्थलमा धुम्रपान गर्दा  सजाय के हुन्छ ?

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ अनुसार अन्य व्यक्तिलाई असर पर्ने गरी धुम्रपान गर्न निषेध छ । सार्वजनिक स्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्नलाई १ सय रुपैयाँ जरिवाना वा कार्यलयको हाताबाट निष्कासन वा दुवै गर्न सकिने व्यवस्था छ । कुनै पनि सञ्चार माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन, कार्यक्रम, समाचार, सुचना सम्प्रेषण वा प्रायोजन गरे १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिन्छ ।

१८ वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गरे, वा निःशुल्क उपलब्ध गराएमा, सुर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गरेमा, फुटकर रुपमा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्री गरेमा तथा निःशुल्क रुपमा सुर्तीजन्य पदार्थ वितरण गरे वा उपहार दिएमा प्रत्येक गल्ति कार्यको रु १० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ । कार्यालय र सार्वजनिक स्थलमा सरोकारवाला आफैले धुम्रपान तथा सुर्ती सेवन निषेधको सुचना टाँस गर्नुपर्नेछ यदि नगरेमा ५ हजार रुपैया जरिवाना लाग्छ । सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न इजाजत पत्र अनिवार्य गरिएको छ यदि इजाजत पत्र नलिई बिक्री गरे १० हजार रुपैयाँसम्म जरिवाना लाग्छ । सुर्तीजन्य पदार्थको सेवनका कारण मुखको क्यान्सर, फोक्सो, पेट, फियो आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुनाका साथै दम, दीर्घ श्वासप्रश्वास, उच्च रक्तचाप, हृदयाघात, मस्तिष्काघात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने जस्ता समस्या हुने गर्दछ ।

सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वार्षिक ९२ लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा पनि सुर्तीजन्य वस्तुको सेवनका कारण वार्षिक २७ हजारले अकालमा ज्यान गुमाउनुपरेको छ । क्यान्सर रोग लाग्नुको मुख्य कारण सुर्तीजन्य वस्तुको प्रयोग भएको र जम्मा मृत्युको १३ प्रतिशत क्यान्सरकै कारण हुने गरेको बताइएको छ ।

नेपालमा हरेक वर्ष २० देखि ३० हजार मानिसलाई विभिन्न प्रकारका क्यान्सर हुने गरेको पनि बताइएको छ । वर्षमा एकपटक स्वास्थ्य परीक्षण गराउने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, नियमित रूपमा शारीरिक व्यायाम तथा योग गर्ने, सिर्जनशील तथा रचनात्मक काममा लाग्ने बानीले क्यान्सर रोगबाट बच्न सकिने बताइएको छ । नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ कार्यान्वयनमा रहेको छ ।

तपाईको प्रतिक्रिया