Files Photo
जाजरकोट । आरनमा बनाउनुपर्ने सबै सामग्री बजारमा सस्तो मूल्यमा पाउने हुँदा पछिल्लो समय विश्वकर्मा समुदायले अँगाल्दै आएको आरन पेसा संकटमा पर्न थालेको छ । युवा पुस्ताले यस पेसाप्रति चासो नहुँदा हस्तान्तरण समेत हुन सकेको छैन । पछिल्लो समय यस पेसा छाड्ने क्रम बढेपनि जाजरकोटका अधिकांश ठाउँमा विश्वकर्मा समुदायले भने यसलाई जसोतसो निरन्तरता दिँदै आएका छन् ।
बारेकोटका जुद्धवीर कामी आफूले विगतदेखि नै यहि पेसालाई अँगाल्दै आएको बताउँछन् । बाजेको पालादेखि शुरु भएको आरन व्यवसाय अहिलेसम्म जसोतसो चलाउँदै आएको उनको भनाई छ । जुद्धवीर भन्छन्, ‘ऊ बेला बाजेले खलो प्रथामा काम गर्नुभयो । अहिले निकै दुःख हामीले खेप्नु परेको छ । बाजेले गरेको पेशा आरन व्यवसाय अहिलेको वर्तमान अवस्थामा संकटमा परेको छ ।’ फलामको भाँडाकुँडा बनाउन फिरन्ते जीवन, खरले बनाएको छाप्रोमा आरन बसेको देख्न सकिन्छ ।
सोही गाउँका ५२ वर्षीय खीमबहादुर विक आरनको छाप्रोमा दैनिक काम गर्दै गरेको अवस्थामा भेटिन्छन् । अनुहारभरि कालो दलिएको अवस्थामा दाहिने हातले घन र अर्को हातले सनासोले रातो फलाम समातेको अवस्था उनी भेटिन्छन् । विक बिहान झिसमिसेमै उठ्ने बित्तिकै फलामको विभिन्न औजारहरु बनाउन आरनमा पुग्छन् । आरनमा परम्परागत हस्तकलाका सामग्री कुटो, कोदाली, बन्चरो हसिया, खुकुरी लगायतको थुप्रै धारिलो मालसामान मेहनतको साथ उनी बनाउँछन् । ती विभिन्न आकृतिको सामानले बजारमा मूल्य नपाउँदा कामको मूल्यांकन हुन नसकेको विक बताउँछन् ।
यस्तै, अर्का हरिबहादुर कामी भन्छन्, ‘बाजेले त गाउँभरिको माल सामान मात्र बनाउनुहुन्थो रे, बाबाले बनाएको खुकुरी बाहिर देश फ्रान्ससम्म बिक्री गर्नु भएको थियो रे । बाबाको जस्तो हामी दाजुभाइमा त्यस्तो क्षमता छैन ।’ २५ बर्षिया रामबहादुर विक भन्छन्, ‘म ४ वर्ष कतार बसेर आएँ । पुख्र्यौली आरन व्यवसायमा अहिलेका युवाले चासो दिएको देखिँदैन ।’ आरन पेसा विस्तारै लोप हुँदै गएको रामबहादुर बताउँछन् । जिजु बाजे र काका बाउले गरेको पुख्र्यौली पेसालाई आधुनिक ढंगले व्यावसायिक रूपमा अघि बढाउन पाए हुन्थ्यो भन्ने लाग्छ उनलाई ।
स्थानीय स्रोतसाधनले गाउँघरमै रोजगारी सिर्जना हुन सक्ने उनको भनाइ छ । बारेकोटका गाउँभरी कात्ने, खन्ने कुटो, कोदाली, हसिँया र खुकुरी बनाउन २ दिन हिँडेर बास बस्नै आउने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘बारेकोट गाउँपालिका मात्र नभएर कुशेमा गाउँ बस्तीहरु धानिरहेका छौं ।’ आरन पेसा व्यापक मात्रामा सञ्चालन भएको उनको भनाइ छ । जिजु बाजेको पालादेखि खलो प्रथामा काम गर्दा धेरै समस्या भोग्नुपरेको उनी बताउँछन् ।
अहिलेको अवस्थामा आरन व्यवसायका लागि चाहिने गोल काट्न साउन, भदौको पानीले गर्दा र फागुनदेखि वैशाखसम्म कहिले पानी र कहिले सुक्खा समयमा हावाहुरीले वन जल्छ कि भन्ने डर त्रास हुने गरेको उनको भनाइ छ । वनमा सुकेको दाउरा नपाउँदा निकै अभाव हुँदै गएको उनी बताउँछन् । उनी भन्छन्, ‘पुर्खादेखि गरिँदै आएको आरन व्यवसाय गर्ने कला अरु जातिमा हुँदैन, मैले पनि सानै उमेरदेखि बाउ बाजेले गरेको काम सिकेको हुँ । पुख्र्यौली पेसा सिकेर खेर जाँदैन, कसैले पनि खोसेर लग्दैन । गर्न सके यो पेसाबाट पनि विदेशमा जस्तै कमाउन सकिन्छ, तर आफूभन्दा साना भाइहरुले चासो राख्दैनन् । मलाई यही पेसाले जीवन चलाउँछु भन्ने लागेको छ ।’
खलो प्रथामा काम गर्दा साहुले जहिले पनि ६ महिनाको अवधिमा दश, एघार पाथी अन्न दिने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘वर्षभरि मालसामान बनाइदिएर आफ्नो काम गरेको परिश्रम माग्दा बाली दिने बेला निकै कचकच गर्ने र भनेको जस्तो बाली नदिँदा परिश्रम उठ्दैन ।’ कुशेका २६ वर्षीया कमल विक भन्छन्, ‘आरन व्यवसाय निकै झन्झटिलो हुने गर्छ । एउटै सामान बनाउन धेरै समय लाग्छ । भनेको जस्तो पैसा पाउन सकिँदैन, पुख्र्यौली आरन पेसा छोड्न सकेका छैनौं ।’
आर्थिक अवस्था कमजोर भएका कारण बाल्यकालदेखि नै पुख्र्यौली आरन पेशा दुःख गर्दै हातमा ठेला मात्र नउठेर फलाम पिट्दा शरीरभरि फलामले पोलेको उनले दुःख व्यक्त गरे ।
खल्खली पसिना बगाएर गरिने यो पेशाबाट जिविकोपार्जन गर्न मुस्किल परेको अधिकांश दलित समुदायको गुनासो छ । स्थानीय तहले अन्य पेशा व्यवसायलाई जस्तै आरन व्यवसायलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाइदिनुपर्ने उनीहरुको माग छ । जुनीचाँदे, कुशे गाउँपालिका, शिवालय गाउँपालिका लगायत जिल्लाका अधिकांश दलित समुदायको पीडा उस्तै छ । सरकारको अनुदानले समेत नछुने उनीहरु बताउँछन् ।
हाम्रो पहुँच संवाददाता । २२ बैशाख २०८१, शनिबार