गहुँ भित्र्याउन किसानलाई भ्याइनभ्याई, बाँदर आतंक बढ्दै

Files Photo

जाजरकोट । किसानलाई यतिबेला खेतमा पाकेको गहुँ बाली भित्र्याउन भ्याइनभ्याई भएको छ । हिउँदको समयमा लगाएको गहुँ बाली पाकिसकेपछि उनीहरूलाई गहुँ बाली भित्र्याउन भ्याइनभ्याई भएको हो । खेतमा लगाएको गहुँ बाली, मसुरो पाकेर तयारी अवस्थामा भएपछि कृषक निकै व्यस्त छन् ।

भेरी नगरपालिका –०१ रावतगाउँका किसान वीरबहादुर रावतको दैनिकी यतिवेला खेतवारीमै वितिरहेको छ । खेतमा गहुँ बाली पाकेर बिग्रिने अवस्थामा पुगेकाले बिग्रिने भन्दै चिन्ता व्यक्त गरे । उनले भने, “हिजोआज घरको सबै काम छाडेर खेतमै बढी समय बित्ने गरेको छ, झिसमिसे अँध्यारो समयसम्म खेतमै हुन्छौँ र बिहान पनि सबेरै खेतमा जान्छौँ ।”
केही दिनदेखि गर्मी बढ्दै गएको र वर्षा हुनसक्ने भन्दै गहुँ बाली भित्र्याउनका लागि यस क्षेत्रका किसानको अधिकांश समय खेतबारीमै बित्ने गरेको छ । किसानका परिवारका सबै सदस्य प्रायःजसो खेतबारीमै भेटिने गर्छन् । सातवटै स्थानीय तहका किसानहरु यतिवेला खेतवारीमा भेटिने गरेका छन् ।

पानी पर्ने डरले समेत किसानहरु गहुँ भित्र्याउँदै चटारोमा छन् । किसानलाई गहुँ भित्र्याउन भ्याइन भ्याई भएको छ । विहानको झिसमिसे मै गहुँ काटन खेतमा निष्कने किसान झमक्क साँझ परेपछि मात्रै घर फर्किने गरेका छन् । गुहँ, जौं भित्र्याएर मकै लगाउने चटारोमा किसान रहेको बारेकोट गाउँपालिका —०२ का गोरख कामीले बताए । पाकेको वाली पानी परेपछि विग्रने भएकोले किसानलाई वाली भित्र्याउन भ्याइनभ्याई भएको हो । बारेकोट गाउँपालिका ०२ का किसान रामबहादुर महर भन्छन्, ‘गहुँ काटनै लाग्दा मौसममा आएको परिवर्तनका कारण निकै चिन्तित भएका छौं, गहुँ काटेर घरभित्र राख्न पाए ढुक्क भइन्थ्यो, मौसम विग्रेर पानी पर्न सक्छ, खेतमै खाना खाएर गहुँ काटनु पर्ने अवस्था छ ।’

जाजरकोटमा रहेको कुल खेतीयोग्य २५ हजार ३८४ हेक्टर क्षेत्रफल जमीनमध्ये १० हजार ४४० हेक्टर क्षेत्रफलमा गुहँ खेती हुने गरेको छ । कृषि विकास कार्यालय जाजरकोटका अनुसार गत बर्ष २६ हजार तीन सय १० मेट्रिकटन गुहँ उत्पादन भएको थियो । उत्पादकत्व २ दशमलव ५० रहेको छ । यसबर्ष गहुँ उत्पादन घट्ने आंकलन गरिएको कृषि विकास कार्यालय जाजरकोटका कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिए । समयमै पानी नपर्नु, पर्याप्त जमीनमा सिंचाई नहुनु, मल, वीउको अभाव, जंगली जनावरको विगविग्रीले गहुँ वाली उत्पादनमा कमी आउने प्रमुख आचार्यले बताए ।

बाँदर आतंक, बाली बचाउन किसानलाई हम्मे
जाजरकोटमा बाँदर आतंक बढ्दै गएको छ । बाँदर आतंकका कारण किसानलाई बाली जोगाउन मुस्किल भएको छ । किसानले खेतबारीमा लगाएको हिउँदे अन्नबाली बाँदरले नष्ट गर्न थालेपछि किसान हैरान भएका हुन् ।

जिल्लाका सात वटै स्थानीय तहमा बाँदरले दुःख दिइरहेको किसानले बताएका छन् । कर्णालीका अधिकांश जिल्लामा प्राय पछिल्लो समय उत्पादनमा ह्ररास हुन थालेको छ । खेतवारीमा फलेको अन्नबाली किसानले भित्राउन नपाउदै बाँदरले खाइदिनु,गाउँमा खाद्यान्न अभाव हुनु,बाँदरका कारण खेतवारी बाँझै हुनुले थप समस्या भएको कुशे गाउँपालिका —०५ का दुर्गाबहादुर वलीले बताए ।

खेतबारीमा लगाएको गहुँ,तरकारी बाँदरले नष्ट गर्न थाले अधिकांश ठाउँमा जमिन बाँझै छ । स्थानीय सरकारले कुनै पनि पहल नगरेको किसानको गुनासो छ । जिल्लाको जुनीचाँदे गाउँपालिका, कुशे गाउँपालिका, शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, बारेकोट गाउँपालिका, नलगाड नगरपालिका भित्र बाँदरले आतंक नै मच्चाउने गरेको छ । मकै वालीमा समेत जंगली जनावरले क्षति पु¥याउने गरेको छ ।

यस्तै नलगाड नगरपालिका–८ निवासी शिव केसीले पनि आफूहरूले बाँदर आतंक झेल्दै आएको बताए । ‘खाना पकाएर अन्य कामका लागि बाहिर गएको बेला बाँदरले घरभित्र पसेर खान समेत दिँदैनन्,’उनले भने,‘अन्नबाली त्यसैगरी नष्ट गरिदिन्छ । हिजो आज त बाँदर धपाउँदै दिन बित्छ । घरको काम सबै छुट्छ । के खाने,के लगाउने भन्ने पीर छ ।’ बाँदर नियन्त्रणका लागि स्थानीय सरकारले कुनै पहल गर्न सकेका छैनन् ।

तपाईको प्रतिक्रिया