जाजरकोट । बारेकोट गाउँपालिका —०२ रोकायगाउँका भीमबहादुर नेपाली जिल्ला मालपोत कार्यालयमा जग्गा नामसारी गर्न खलंगा आए । मालपोत कार्यालयको सेवाग्राही बस्ने लाइनमा बसे । एक घण्टापछि उनको पालो आयो । तर उनका दाईको नागरिकता नम्बरको एउटा अंक मेटिएको थियो । मालपोत कार्यालयले मानेन् । त्यसपछि उनी लामो समयको प्रखाईमा बसेको पालो छोडेर जिल्ला प्रशासन कार्यालयमा धाउनुप¥र्याे ।
‘प्रशासनमा आउनलाई भनेकै समयमा गाडी भेटिएनन्, अन्य सवारी साधन पाउन सकिएन्, पाँच दिनमा हाम्रो काम सकियो उनले भने, ‘सबै कार्यालयहरु एकै ठाउँमा भएको भए यति दुःख हुने थिएन् ।’ कुशे गाउँपालिका —०९ का रामबहादुर रोकाय एक दुई वटा काम सक्ने गरेर खलंगा झरे । छोरीको नागरिकता र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा किराना पसल दर्ता गर्नुपर्ने थियो । पहिले खलंगा बाटै सेवा लिएका उनी नागरिकता बनाएर किराना पसल दर्ता गर्न बोहरा गाउँ पुगे । बोहरागाउँ खलंगा बाट २ किलोमिटर टाढा छ । ‘गाडी पाउनै मुस्किल रहेछ, सेवाप्रवाह गर्ने कार्यालयहरु छरिएका छन्, मेरो काम चार दिनमा सकियो, उनले भने, ‘विकेन्द्रीत सेवाप्रवाहले दुःख पाईरहेका छौं ।’ बोहरागाउँमा जान आउन सेवाग्राहीलाई निकै सास्ती भईरहेको छ । सरकारी कार्यालयहरु एकै ठाउँमा छैनन् ।
यहाँका सरकारी कार्यालय सदरमुकामबाट बोहरागाउँमा सरेपछि जनताले सास्ती पाउन थालेका छन् । जनतासँग प्रत्यक्ष सम्बन्ध राखेका मालपोत, नापी, शिक्षा तथा समन्वय एकाइ कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले सदरमुकाम छाडेर भेरी नगरपालिका–४, बोहरागाउँबाट सेवा प्रवाह गर्न थालेपछि सर्वसाधारणलाई समस्या भएको हो । विगतमा सदरमुकाम खलङ्गामा भाडाका घरबाट सेवा दिँदै आएका सरकारी कार्यालयले निजी भवन निर्माण गरी बोहोरागाउँबाट सेवा प्रवाह गर्न थालेपछि गाउँबस्तीबाट सेवा लिन आएका सेवाग्राहीलाई सास्ती हुने गरेको छ । काम नसकिएर बास बस्नुपर्ने अवस्था आउँदासमेत सेवाग्राहीले होटल नपाउने अवस्था रहेको छ ।
मालपोत, नापी कार्यालयसहित शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय भवनबाट तीन वटा सरकारी कार्यालयले सेवा प्रवाह गरेका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले निजी घरबाट सेवा विस्तार गरेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयको भवन निर्माणाधीन अवस्थामा छ । मालपोत, नापी कार्यालयका भवन पनि निर्माणको चरणमा रहेका छन् ।
मालपोत कार्यालयका प्रमुख डिल्ली केसीका अनुसार तीन वटा कार्यालयको काम एउटै भवनबाट दिनु परेपछि सेवाग्राही, कर्मचारी दुवैलाई समस्या भएको छ । कर्मचारीलाई समेत बस्ने व्यवस्था छैन, सेवाग्राहीलाई टन्टलापुर घाम लागेको बेला गर्मीमा कोठाबाहिर पठाएर काम गर्नुपर्ने बाध्यता छ । कर्मचारीको बसाइ व्यवस्थापन नभए पनि जनताले पाउने सेवा सहज रूपमा प्रदान गरेको उनले दावी गरे ।
शिक्षा विकास तथा समन्वय एकाइ, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय भूकम्पअघि सरिसकेका थिए । भूकम्पले भाडाका घर भत्किएपछि कार्यालयका स्रेस्ता तथा कागजात राख्ने घर नपाएपछि पुनः सदरमुकाममा नआउने गरी गएका छन् । कुसे गाउँपालिका–८ का मगबहादुर रोकायले कार्यालय सारिएपछि सेवाग्राहीलाई सास्ती बढेको बताए ।
भेरी नगरपालिका–११ का तिलक आचार्यले जनतासँग सम्बन्ध भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले बोहोरागाउँबाट सेवा दिन थालेपछि पुरानो कार्यालय बसेको घरमा पुगेर कार्यालय कहाँ गयो भन्ने अवस्था आएका बताए । सरकारी कार्यालयलाई एकै ठाउँमा ल्याउन सरोकारवाला निकायले पहल गर्न आग्रह गरे । सरकारी कार्यालयहरु धमाधम सर्न थालेपछि सेवाग्राहीलाई निकै सास्ती भएको छ । जाजरकोटमा सरकारी कार्यालयहरुको केन्द्रकृत सेवा प्रवाह छैन् । नागरिकहरुले समान्य कामका लागि समेत सास्ती खेप्नुपरेको देखिन्छ । एकै दिनमा काम सकेर घर जाने योजना बनाएका सेवाग्राही एक हप्ता सम्म पनि काम नहुने गरेको गुनासो गर्दै आएका छन् ।
हाम्रो पहुँच संवाददाता । १९ बैशाख २०८१, बुधबार