सल्यान । सल्यानको कालिमाटी गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार बढीले सेवा लिएका छन् । शिविरमा आएकाहरुमध्ये सात जना महिलाहरुमा पाठेघरको मुखको क्यान्सर भएको पत्ता लागेको छ । यही वैशाख ५ गतेदेखि पाँच दिनसम्म आयोजना गरिएकोे स्वास्थ शिविर नेपालगञ्जबाट विशेषज्ञ चिकित्सकसहितको टोली सहभागी थियो । शिविरमा भेरी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा। सन्देश आचार्य, डा। देवेन्द्र आचार्य र डा। रवि शर्मा वाग्लेले स्वास्थ्य जाँच गरेका थिए ।
कालिमाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोरख बहादुर थापाले शिविरमा आएकाहरुमध्ये ७ जनालाई पाठेघरको मुखको क्यान्सर देखिएको जानकारी दिए । ‘१२५ जनामा भीआईए परीक्षण गर्दा ७ जनामा पोजेटिभ देखियो,’ स्वास्थ्य शाखा प्रमुख थापाले भने, ‘उहाँहरुलाई थप उपचारका लागि नजिकको अस्पतालमा जान सुझाव दिइएको छ ।’ यसैगरी पाठेघर खसेका १० जना महिलाहरुमा रिङ्ग समेत राखिएको उनले बताए ।
जिल्लाको विकट मानिने कालिमाटी गाउँपालिकाका ७ वटै वडाका बासिन्दालाई पायक पर्ने हिसाबले वडा नं। १, ३, ५, ६ र ७ गरी पाँच ठाउँका स्वास्थ्य संस्था भवनमा शिविर सन्चालन गरिएको थियो । शिविरमा १ हजार २५ जनाले सेवा लिएको र निःशुल्क औषधि वितरण गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर वलीले जानकारी दिए । उनले यस्ता खालका कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । स्वास्थ्य शिविरमा जनचतेना सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सन्चालन गरिएको थियो । स्त्रीरोग विशेषज्ञ डा। सन्देश आचार्यले पाठेघरको संक्रमणले क्यान्सरको रुप लिने जोखिम बढिरहेको भन्दै स्वास्थ शिविरले त्यसको पहिचान गर्न कालिमाटी गाउँपालिकाका बासिन्दालाई सहज भएको हुनसक्ने बताए ।
कार्यक्रमबाट गरिब, असहाय तथा लामो समयसम्म विभिन्न रोगबाट पीडित भएर स्वास्थ पहुँचबाट बाहिर रहेकाहरुले राहत महसुस गरेको कालिमाटी गाउँपालिकाकी उपाध्यक्ष सनसिल्ता वली डिसीले बताइन् । स्वास्थ शिविरमा आएकाहरुले आफ्ना समस्याबारे चिकित्सकहरुसँग खुलेर सेवा तथा परामर्श लिएको डा देवेन्द्र आचार्यले बताए ।
हाम्रो पहुँच संवाददाता । ११ बैशाख २०८१, मंगलवार