अव सार्वजनिक विदामा पनि प्रशासनको सेवा प्रवाह


जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले सार्वजनिक बिदाका दिनमा पनि कार्यालयबाट सेवा प्रवाह गर्ने भएको छ । कार्यालयले बुधबार परेको रामनवमी सहित सरकारले सार्वजनिक बिदा दिएका १८ दिनमा पनि कार्यालयबाट सेवा प्रवाह गर्ने जनाएको छ ।

२०८१ सालमा पर्ने सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह हुने कार्यालयले सूचना प्रकाशन गरेर जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यका अनुसार सार्वजनिक बिदाको दिन पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्रको सेवा प्रवाह हुनेछ ।

२०८० माघ २९ गतेको राजपत्रमा प्रकाशित सूचना बमोजिम सार्वजनिक सेवा प्रवाहमा विशेष व्यवस्था भए अनुसार नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानीका सेवाहरू सार्वजनिक बिदाका दिनमा समेत प्रवाह गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

प्रशासन कार्यालयका अनुसार सार्वजनिक बिदा रहेका १८ दिनमा कार्यालयले सेवा दिनेछ छ । वैशाख ५ गतेको राम नवमी, जेठ १० गतेको उभौली पर्व, जेठ १५ गतेको गणतन्त्र दिवस, भदौ ३ गते पर्ने रक्षा बन्धन, भदौ १० गतेको श्रीकृष्ण जन्माष्टमी, असोज १७ गतेको घटस्थापना, मङ्सिर ३० गते पर्ने उँधौली पर्व तथा योमरी पुन्हि, पुस १० गतेको क्रिसमस डे र पुस १५ गतेको तमु ल्होसार पर्वका दिन कार्यालयबाट सेवा प्रवाह हुने छ ।

त्यसै गरी पुस २७ गतेको पृथ्वी जयन्ती, माघ १ गतेको माघी पर्व, माघ १६ गतेको सहिद दिवस, माघ १७ गतेको सोनाम ल्होसार, फागुन ७ गतेको प्रजातन्त्र दिवस, फागुन १४ गतेको महाशिवरात्रि, फागुन १६ गते पर्ने ग्याल्पो ल्होसार, फागुन २४ गते पर्ने अन्तर्राष्ट्रिय महिला दिवस र नेपाल सरकारले निर्णय गरी सार्वजनिक बिदा दिइएको ईद पर्व (इद उल फित्र) को दिनमा पनि जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने भएको छ । दसैँ, तिहारको बिदामा भने सबै सेवा बन्द रहने छन् । सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह हुने भएपछि सेवाग्राहीलाई सहज हुने भएको छ ।

No description available.

तपाईको प्रतिक्रिया