जाजरकोट । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कर्णालीमा माओवादी केन्द्रले इमान्दारिता देखाउनुपर्ने बताएका छन् । एमाले जाजरकोटको सातौं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उपमहासचिव ज्ञवालीले सत्ता समीकरणमा इमान्दारिता देखाउनुपर्ने बताएका हुन् । ‘हाम्रो पार्टीले लुम्बिनी र बाग्मती प्रदेशमा इमान्दारिता देखाएर सत्ता हस्तान्तरण गरिसकेका छौं, उनले भने, ‘तर कर्णालीमा माओवादीले आनाकानी गर्नु उसको राजनीतिक इमान्दारिता होइन् ।’ माओवादी केन्द्रले इमान्दारिताका साथ एमालेलाई सत्ता हस्तान्तरण गर्नुपर्ने उनको भनाई छ ।
केन्द्रको निर्णय अनुसार कर्णालीको नेतृत्व गर्न एमालेलाई माओवादीले साथ दिनुपर्ने बताए । नयाँ सत्ता गठबन्धन देशको आवश्यकताको आधारमा बनेको समेत उनले बताए । ‘अहिले सबैलाई चासो भईरहेको छ यो सत्ता गठबन्धन कति टिक्छ, उनले भने, ‘केन्द्रमा भएको सहमति अनुसार सरकार चल्छ, कर्णालीमा माओवादीले एमालेलाई सत्ता हस्तान्तरण गर्नुपर्छ ।’ सोमबार सम्म एमालेले मुख्यमन्त्री पाउने समेत उपमहासचिव ज्ञवालीले दावी गरे । फरक प्रसंगमा बोल्दै ज्ञवालीले लोकतन्त्रको विकल्प राजतन्त्र नभएको बताए ।
‘अहिले देशमा केही तत्वहरु राजतन्त्र फर्किन्छ भन्दै लागिरहेका छन्, उनले भने, ‘बरु भेरी फर्किएला राजतन्त्र फर्किदैन्, लोकतन्त्रको विकल्पमा बरु उन्नत लोकतन्त्र हो राजतन्त्र होइन् ।’ जनताको पार्टी एमाले बन्नुपर्छ, जब ठूलो पार्टी बन्दैन्, तब देशमा अरुले हेप्न थाल्छन्, त्यसैले जाजरकोटमा सबैभन्दा ठूलो पार्टी बनाउन लाग्नुपर्ने पार्टी कार्यकर्तालाई निर्देशन गरे ।
एमाले सरकारमा रहेको वेला जनता लक्षित कार्यक्रम ल्याएको देखेर सरकार नै टिक्न नदिएको बताए । सरकारीले स्वास्थ्य, शिक्षा र रोजगारीमा ठूलो उपलब्धी गरेको बताए । चुनावी नाराहरु, समृद्ध देश सुखी नेपाली सहितका नाराहरु सफल पार्न सरकारमा सहभागी भएको उपमहासचिव ज्ञवालीले बताए ।
‘पुर्ननिर्माणको गति सुस्त भयो’
भूकम्पपछि पुर्ननिर्माणको गति सुस्त भएको उपमहासचिव ज्ञवालीले बताए । अहिले सम्म सबै अस्थायी आवासको निर्माण भईसक्नुपर्ने हो, तर पहिलो किस्ता नै नपाउनु निकै दुःखद कुरा भएको उनको भनाई छ । ‘अस्थायी आवास निर्माण गरी स्थायी आवास निर्माण तिर सरकार लाग्नुपर्ने हो, उनले भने, ‘अहिले सम्म अस्थायी आवास निर्माण नै नगर्नु निकै दुःखद कुरा हो, यसमा सरकारको लाप्रवाही देखियो ।’
जाजरकोट आउँदा यस बारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत ज्ञवालीले बताए । ‘अहिले एमाले पनि सरकारमा छ, उनले थपे, ‘हामी एक पटक छलफल चलाउँछौं, स्थायी आवास सहितको पूर्ननिर्माणको गति बढ्नुपर्छ, बर्षातको समयमा निकै जोखिम हुने देखिन्छ ।’
एमाले जनतामा दुःख देख्न नसक्ने पार्टी भएकोले भूकम्प पीडितहरुमा मलम लगाउन तयार भएको दावी गरे । भूकम्पपछि १४ सय भन्दा बढी अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरिएको बताए । उद्घाटन सत्रका वक्ताहरुले पार्टीको आन्तरिक संगठन सुधार गरी ८४ मा एकल सरकार बनाउने गरी लाग्नुपर्ने बताएका छन् । जाजरकोट जिल्लाको अधिवेशनमा पनि सकभर सर्वसहमति होस् भन्ने कामना व्यक्त गरेका छन् ।
तीन दिन सम्म चल्ले अधिवेशनमा नयाँ नेतृत्वको लागि चुनावी हुने देखिन्छ । अध्यक्षमा खीमबहादुर शाही र नरेन्द्र शाही अहिले पर्दामा देखिन्छन् । सचिवमा गोपाल नेपाली र नरबहादुर बस्नेत –(एनवी) अगाडि सरेका छन् । एमाले जाजरकोटका एक नेताका अनुसार चुनाव पछि मात्रै नेतृत्व छान्न सकिने अवस्था रहेको छ । जिल्लाभरी बाट ४ सय १ जना प्रतिनिधी रहेका छन् ।
हाम्रो पहुँच संवाददाता । २६ चैत्र २०८०, सोमबार