जाजरकोट । सोमबार विहान शिवालय गाउँपालिका भित्र पर्ने मोर्क र सालतरा वीचको सडकमा ठूलो सुख्खा पहिरो खस्यो । सुख्खा पहिरोको वेला सवारी साधनको आवातजावत नभएका कारण मानवीय तथा अन्य क्षति हुन पाएन । झन्डै ८÷९ घण्टा सडक अवरुद्ध भयो । सडक अवरुद्ध हुदाँ यात्रुहरुले भनेको समयमा गन्तव्यमा पुग्न सकेनन् । सुख्खा पहिरो गएको स्थानीले गुनासो गरेपछि गाउँपालिकाले तत्काल डोजर पठाएर पहिरो पन्छयाएर आवातजावतमा सहज बनाएको शिवालय गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बस्नेतले बताए ।
सडकमा अहिले सम्मकै सबैभन्दा ठूलो खुख्खा पहिरो गएको थियो । सडक खन्दा डोजरको अत्याधिक प्रयोगले निम्त्याएको संकट हो यो । यो त एउटा उदाहरण मात्रै हो । जिल्लाका अधिकांश गाउँहरु निकै जोखिममा छन् । विकासका नाममा स्थानीय सरकारहरुले जथाभावी डोजरको प्रयोग गर्दा समस्या निम्तीएको देखिन्छ । यहाँका स्थानीय तहले सुरुवाती चरणमा खनेका अधिकांश सडक प्रयोगविहीन छन् । अर्थात ति सडकमा गाडी गुड्दैनन् । करोडौं रकम खर्चेर खनिएका सडकमा मोटरसाइकल समेत हिड्न सक्ने अवस्था छैन् ।
जथाभावी सडक खन्दा कुरूप बन्दै गाउँ हिउँदको समयमा धमाधम सडक निर्माण हुन्छन् । बर्खाको समय ती सडकमा ठूलाठूला पहिरो जाँदा मानवीय क्षतिका साथै भौतिक सम्पत्तिको ठूलो क्षति हुने गरेको छ । केही बर्ष अघिसम्म यहाँका ग्रामीण क्षेत्र मोटरबाटोले जोडिएका थिएनन् । बजारबाट सामान ओसारपसार गर्न घोडा, खच्चड र भरियाको प्रयोग गरिन्थ्र्याे । टाढाको यात्रा पनि हिँडेरै पार गर्नुपर्ने बाध्यता थियो । स्थानीय सरकारको स्थापनापछि सडक सञ्जाल विस्तार पहिलो प्राथमिकतामा पर्ने गरेको छ । अहिले दूरदराजका गाउँ तथा बस्ती–बस्तीमा सडक पुगेको छ । सडकले ग्रामीण जनजीवनमा आएको परिवर्तनसँगै विनाशको जोखिम पनि बढेको स्थानीय बताउँछन् ।
हिउँदको समयमा धमाधम सडक निर्माण हुन्छन् । बर्खाको समय ती सडकमा ठूलाठूला पहिरो जाँदा मानवीय क्षतिका साथै भौतिक सम्पत्तिको ठूलो क्षति हुने गरेको छ । गाउँमा बनाइने सडक विस्तृत आयोजना प्रतिवेदन(डिपिआए) विना नै निर्माण गरिने भएकाले यसरी निर्माण भएका सडकले गाउँको सुन्दरता घटाएको जुनीचाँदेका स्थानीय महेन्द्र शाहीले बताए ।
‘बिना इञ्जिनियरिङ धमाधम निर्माण भएका सडकले गाउँको सुन्दरता घटाएको छ भने पर्यावरणमा पनि नकरात्मक असर पु¥याइरहेको छ’, उनले भने ।
सडकका कारण पछिल्लो समय पानीका मुहान सुक्ने, मौलिक सम्पदा मासिनुका साथै कतिपयलाई घरबारविहीन बनाएको शाहीको भनाई छ । ‘जिल्लाको सात वटै पालिकामा हरेक वर्ष सडक निर्माणमा करोडौँ बजेट खर्च हुन्छन् तर सडक गुणस्तरीय नहुँदा यातायातका साधन चल्दैनन् । गाडी नगुड्दा स्थानीय पहिलेकै जस्तै पैदल यात्रा गर्नुपर्छ भने दैनिक उपभोग्य सामान पनि बोकेरै ल्याउनुपर्ने बाध्यता छ’, उनले भने । शाहीका अनुसार सडक बाह्रै महिना चल्नुपर्ने भन्दै वर्षमा एकपटक पनि गाडी नगुड्ने माटोरबाटो जिल्लामा थुप्रै छन् । गाउँपालिका तथा नगरपालिकाबाट बजेट पारेर निर्माण भएका धेरै सडक अहिले प्रयोगमा नआएको उनले बताए । उनले गाउँपालिकाले करोडौँ बजेट विनियोजन गरेर गाउँमा सडक खने पनि गाडी भने नचल्दा आफूहरूले सास्ती खेप्नुपरेको बताए । उपभोक्ता समितिमार्फत निर्माण भएका धेरै सडक बिना नापजाँच खनिएको हुँदा गाडी गुड्ने खालको नभएको शाहीको गुनासो छ ।
‘आजभन्दा सात वर्ष अगाडि कुनै पनि गाउँमा सडक पुगेको थिएन् । अहिले सडक नपुगेको गाउँनै छैन् । सडक पुगे पनि धेरै ठाउँमा गाडी चल्दैनन्, दुई–चार घर भएका ठाउँमा पनि सडक पुगेका छन्’, उनले भने, ‘सडकको स्तरीय निकै कमजोर छन्, साँघुरा र जोखिमयुक्त सडकका कारण गाडी चल्दैनन्, गाउँको तल्लो क्षेत्रसम्म गाडी आए पनि अलि माथिल्लो क्षेत्रमा पुग्दैनन् ।’ शाहीले गाउँमा सडक आउनु राम्रो भए पनि जथाभावी रुपमा बनाइएका सडकले गाउँको सुन्दरता बिगारेको बताए । जथाभावी खनिएका सडकले खेतीयोग्य जमिन मास्ने र बजेट सक्ने काम मात्र गरेको उनको भनाई थियो । सडकले पहिलेको तुलनामा आवागमनमा केही सहज भने बनाएको छ । पहिले बजारदेखि नुन, चामललगायत दैनिक उपभोग्य सामान ल्याउन घन्टौँ लाग्ने गरेकामा अहिले १५–२० मिनेट बोकेर ल्याउन सकिने उनको भनाइ छ । सडकलाई गुणस्तरीय बनाएर सबै ठाउँमा गाडी सञ्चालन गर्न सके गाउँको विकासमा टेवा पुग्ने उनको विश्वास छ ।
कुशे गाउँपालिका —०९ पैंकमा दिनेश रोकाय सडकले गाउँलेको दैनिकी नै बदलिएको बताए । उनले गाउँ सडक सञ्जालमा जोडिनुपूर्व दैनिकी कष्टकर भएको सुनाउँदै अहिले धेरै सहज भएको बताएका छन् । सडकका कारण बजारको सेवासुविधा गाउँमा आएको रोकायको भनाई छ । सडकले विकाससँगै गाउँमा ठूलो विनास पनि निम्त्याएको उनले बताए । अव्यवस्थित रूपमा निर्माण भएका सडकमा हिउँदमा गाडी गुडे पनि बर्खाको समय ठप्प हुने र पहिरोले बस्ती बगाउने गरेको रोकायले बताए ।
‘सडक आवश्यकताभन्दा बढी खनिए, त्यसले गर्दा सडकभन्दा तल पट्टीका धेरै बस्ती बाढी र पहिरोको जोखिममा छन् । स्थानीय बर्खामा घर छाडेर भाग्नुपर्ने अवस्था छ, पहिले गाउँ निकै राम्रो थियो, खेतीयोग्य जमिन हराबरा थिए, अहिले सडकले गर्दा उराठिलो बनेका छन्’, उनले भने, ‘तीनरचार वर्ष अगाडि निर्माण भएका सडकमा अझै नाली बनाइएका छैनन् । बर्खाको पानीले सडक क्षतविक्षत बनाउने र पहिरो जाने समस्या निम्त्याएको छ ।’
भेरी नगरपालिका १२ का राकेश बस्नेतले अव्यवस्थित रूपमा निर्माण भएका सडकले गाउँको सुन्दरतामा दाग लागेको बताए । स्थानीय पालिकाले सुरुका वर्षदेखि सडक निर्माणमा ठूलो लगानी गरे पनि व्यवस्थित गराउन नसकेको उनको भनाइ छ । अहिले सबै पालिकालाई सडक निर्माण गर्दा डिपिआर तयार गर्नुपर्ने उनको भनाई छ । अतिआवश्यक स्थानमा बाहेक अन्य ठाउँमा सडक निर्माण नगर्न पालिकालाई उनले सुझाव दिए । ‘सडक विकासको मुख्य आधार भएकाले सडक विस्तार आवश्यक छ । केही समय अगाडि जथाभावी निर्माण भएका सडकका कारण गाउँ कुरुप बनेका छन्, अब सडकलाई व्यवस्थित गर्न सकिएन भने वातावरणमा ठूलो असर पुग्ने देखिन्छ’, बस्नेतले भने, ‘हामीले सबै पालिकालाई सडक निर्माण गर्दा डिपिआर तयार गरेर काम गर्न आग्रह गरेका छौं ।
गाउँको सुन्दरता, भौगोलिक अवस्था बुझेर मात्रै बाटो खन्न भनेका छौँ ।’ जाजरकोटमा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको खण्ड पनि पर्छ । यस खण्डको अधिकांश भागमा ग्रामीण सडकले असर पु¥याएको छ । हिउँदमा निर्माण भएका ग्रामीण सडकबाट बर्खामा भल र लेदोसहित आउने माटोले कालोपत्र भएको लोकमार्गलाई क्षति गर्ने गरेको छ भने सडकभन्दा तलका धेरै बस्ती विस्थापित भएका छन् ।
विकासले खडेरीको सिर्जना
चैत्रको पहिलो हप्ता अधिकांश पानीका स्रोत सुकिसकेका छन् । बर पिपल र सुस्ताउने चौतारी छैनन् । आकाशे पानी लामो समयपछि पर्छ । सिंचाईको अभाव हुदाँ गरिखाने जमिन बाँझै छ । यी परिवर्तनसँगै पहिलेका सुन्दर गाउँको स्वरुप अहिले विरुप बन्दै गएको छ । जताततै पहिरोको जोखिम छ । तर, विकासका नाममा बाटो खन्ने काम भने अझै रोकिएको छैन ।
त्यसैले दुर्गमका गाउँ बस्तीमा समस्या बढ्दै भएको छ । स्थानीय तहले विकासका नाममा जथाभावी सडक खन्दै जाँदा गाउँमा समस्या भएको छ । सडककै कारण देवी देउराली मासिएका छन् । जंगल सखाप भएको छ । यी सबै भोलिका सन्ततिलाई पनि चाहिन्छ भन्ने कुराको वास्ता कसैलाई छैन । सबै मासियो भन्यो भने आफ्नै गाउँमा विकास विरोधी भइन्छ र गाउँमा एक्लो भइन्छ भन्ने डरले विरोध गर्ने कोही छैनन् ।
त्यसैले भोकै तिर्खै भए पनि विकासको नाममा खनिएका सडकमा उडेको धुलो हेरेर धित् मार्नूपर्ने अवस्था सर्वसाधारणको छ । ‘सडक आवश्यकता हो, बनाउनु पनि पर्छ, जनतालाई सडक पनि चाहिन्छ,’ बारेकोट गाउँपालिका —०२ रोकायगाउँका भीमबहादुर रोकायले भने, ‘तर पानी खाने कुवा, पानी पलाउने खोला र सिँचाइ गर्ने कुलो मासेर सडक खनियो र अहिले यो अवस्था सृजना भयो ।’ यस्तैयस्तै कारणले पछिल्लो समय गाउँलेले बाँझो जमिन हेर्दै बेसाहा किनेर गुजारा गर्नुपर्ने अवस्था आएको उनले बताए ।
गाउँका बुढापाका, भद्रभलाद्मी बसेर आराम गर्ने र सभा कचहरी गर्ने चौतारा सडक निर्माणका नाममा मासिए । ‘अब त बाटो हिँडदै जाँदा गलियो भने सुस्ताउने चौतारा पनि भेटिँदैनन्,’ छेडागाड नगरपालिका —०३ का रामबहादुर थापाले भने, ‘सडक विस्तारसँगै चौतारा विस्थापित भए ।’ वर्षभरि खाने धान फल्ने खेतमा पानी लाग्ने कुलो सडक बनाएकै कारण कतिपय गाउँमा मासिएको उनले बताए ।
‘जथाभावी सडक निर्माणले गाउँघर नै कुरुप बनाएको छ, र पहिरोको जोखिमसमेत बढाएको छ,’ बारेकोटका रामबहादुर शाही भन्छन्, ‘सडक खन्दै गयो, अगाडि मन्दिर होस् वा पाटी पौवा या चौतारी, खानेपानीको मुहान होस् वा कुलो केही वास्ता गरिँदैन ।’ कुवा, मन्दिर, पाटीपौवा, चौतारा र कुलो मासेर बनाइने सडक विकास हो वा विनास ? स्थानीयले छुट्याउन नसकेको उनले बताए ।
सर्वसाधारणको माग भएको भन्दै स्थानीय तहले अघिल्लो निर्वाचन पछिको पहिलो र दोस्रो वर्ष बजेट सडकका लागि विनियोजन गरेका थिए । स्थानीय तहले अहिले पनि झण्डै त्यही परम्परालाई निरन्तरता दिइरहेका छन् । तर, हचुवाका भरमा स्क्याभेटर चालकले आफू इन्जिनियरझैं जथाभावी सडक खन्दा गाउँ कुरुप बनेका छन् भने पहिरोको जोखिममा छन् ।
हाम्रो पहुँच संवाददाता । ६ चैत्र २०८०, मंगलवार