सार्वजनिक सूचना निकालेर संरचना भत्काउन अनुरोध नगरप्रमुख

सुर्खेत । सार्वजनिक सूचना निकालेर संरचना भत्काउन अनुरोध गरेपनि व्यवसायीहरूले अटेर गरेपछि आज वीरेन्द्रनगर नगरपालिकाले डोजर चलाउने भएको छ । वीरेन्द्रनगर नगरपालिका–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा नगरप्रमुख मोहनमाया ढकालले डोजर चलाउने भएकी हुन् । त्यसका लागि नगरपालिकाले आवश्यक तयारी गरिरहेको छ । ११ बजेतिर उक्त क्षेत्रमा डोजर लिएर जाने र संरचना भत्काउने तयारी भइरहेको नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले रातोपाटीलाई जानकारी दिए । माघ १७ गते नगरपालिकाले उक्त क्षेत्रमा व्यापारीहरूलाई आफ्ना संरचना भत्काई त्यहाँबाट हट्न अनुरोध गरेको थियो । नगरपालिकाले निकालेको सूचना फागुन २३ गते सकिएको छ । त्यसपछि मंगलबारसम्म समयावधि तोकिएको थियो । तर, व्यवसायीहरू संरचना हटाउनुको साटो आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले पटक–पटक संरचना हटाउन आग्रह गरेपनि अटेर गरिरहेकाले आज नगर आफैँले भत्काइदिने गरी एक्सनमा उत्रिएको हो ।

नगरप्रमुख मोहनमाया ढकालले उक्त क्षेत्रमा पार्किङ, बगैँचा लगायतका संरचना बनाइने बताउँदै आएकी छिन् । पटक–पटक आग्रह गर्दापनि अटेर गरेपछि नगर आफैँले भत्काइदिने ढकालले चेतावनी दिँदै आएकी थिइन् । नगरले डोजर चलाएको खण्डमा उक्त क्षेत्रमा १२५ जना साना व्यवसायीहरू विस्थापित हुनेछन् । ५० को दशकयता ती व्यवसायीहरू भाडामा जमिन प्रयोग गरेर संरचना बनाई व्यवसाय गरिरहेका थिए ।

तपाईको प्रतिक्रिया