जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका —०२ रोकायगाउँका जस्वीर कामीले आरनको काम गर्न छाडेको दुई वर्ष भयो । ६५ वर्षीय जस्वीरले आरनको काम गर्न छाडेसँगै उनको गाउँमा अहिले आरनको काम गर्नेको संख्या कमै छ ।
आरन पेशामा आम्दानी नदेखेपछि उनका तीन भाई छोराले त्यो पेशामा हातै हालेनन् । उनको जेठो छोरा विनोद नेपाली अहिले वैदेशिक रोजगारीमा भारत आउने जाने गर्छन् ।
उनले टेलिफोनमा भने, ‘अब वुवाले गरेको आरन पेशा नै गर्न हुन्थ्यो नि, त्यसमा आम्दानी पनि छैन, लगानी गर्न आफूसँग पूँजी पनि छैन, अहिले त फलाम सम्बन्धी काम गर्ने ठूला ठूला पसल खुल्न थालिसके ।’
पुख्र्यौली पेशाका रुपमा आरनबाट परिवार पाल्न नसक्ने स्थिति आएपछि पेशाबाट नै विस्थापित भएको जस्वीर कामीले बताए । लामो समयदेखि हँसिया, खुर्पा, बञ्चरो बनाएर परिवार पाल्दै आएका उनले बजारमा आएको आधुनिक सामग्रीका कारण यो पेशा सङ्कटमा परेको जानकारी दिए । उनल भने, ‘बजारमा आधुनिक हातहतियार र भाँडाकुँडा भित्रिने क्रम बढेसँगै पेशा नै सङ्कटमा पर्न थालेको छ, विगतमा यही पेशाबाटै राम्रोसँग घरखर्च चलिरहेको थियो, तर अहिले ती सामग्री नै बिक्री हुन छाडेपछि आफू यो पेशा छाडेको हुँ ।’
फलामलाई आगोमा पगालेर बनाइने सामग्री र बजारमा आयात सामग्रीको गुणस्तरमा धेरै नै फरक भए तापनि त्यसको महत्व नबुझेर मानिसहरुले आयात सामग्री प्रयोग गर्न थालेको उनको गुनासो छ । विगतमा यही पेशाको माध्यमबाट परिवार पाल्दै आए पनि अबको पुस्ता यो पेशाबाट बाँच्न नसक्ने अवस्थामा पुगेको जस्वीरको भनाई छ । फलामलाई कोइलामा ताप दिई आकार प्रकार दिएर बनाइने खुर्पा लगायतका औजार बलियो भएतापनि समयको परिवर्तनसँगै विस्थापित भएर जाने क्रममा रहेको जनता आधारभुत विद्यालयका प्रधानध्यापक धनबहादुर नेपालीले बताए ।
यसरी दलित समुदायले गर्दै आएको लुगा सिलाउने, जुत्ता सिलाउने र फलामको काम सम्बन्धी पुख्र्यौली पेशामा सोही समुदायका युवाको आकर्षण घटेपछि अहिले सङ्कटमा पर्दै गएको छ । पुस्तौँदेखि दलित समुदायले गर्दै आएको परम्परागत पेशामा आधुनिकीकरण सँगै राज्यले लगानी नगर्दा विस्थापित हुन पुगेको छ । दलित अधिकारकर्मी हजारी नेपाली, दलित समुदायले गर्दै आएको परम्परागत पेशालाई राज्यले बेवास्ता गरेका कारण अहिले सङ्कटमा परेको बताउँछिन् । उनले भनिन्, ‘दलित समुदायका विभिन्न जातिले गर्ने सीपमूलक पेशा र व्यवसायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नहुँदा तथा राज्यले समेत उनीहरुको सीप र क्षमताअनुसार अनुदान नदिँदा युवा पुस्ताको आकर्षण घटेको हो, अब यो पेशालाई जीवित राख्नका लागि यसमा राज्यले नै लगानी गर्नुपर्ने आवश्यक छ ।’
दलित अधिकारकर्मी हिक्मतबहादुर नेपाली दलितको परम्परागत सीप पछिल्लो समयमा लगानी गर्न सक्ने अन्य जातिले समेत सञ्चालन गर्न शुरु गरेपछि दलित समुदाय पलायन हुनुपरेको बताउँछन् । सामाजिक अपमान र राज्यको समेत सहयोग नहुँदा दलित युवा परम्परागत सीपमूलक व्यवसायप्रति आकर्षित नभएको दलित अधिकारकर्मीको भनाई छ । ‘राज्यको असहयोगका कारण दलित समुदायबाट यो पेशा खोसिएको छ, अपमानित हुने बेलामा दलितले काम गरे, पैसा कमाउने बेलामा गैरदलित आए, ठूलठूला व्यवसायका रुपमा अगाडि बढाए’ धनबहादुर नेपालीले भने ।
कुनैबेला दलित समुदायले मात्रै गर्ने टेलरिङ पेशा पछिल्लो समयमा दलित भन्दा गैरदलितले गर्दै आएका छन् । दलित समुदायले गर्दै आएको पेशा खोसिएको हुँदा उनीहरुलाई पुनः आफ्नै पेशामा फर्काउन राज्यले लगानी गर्नुपर्ने आवश्यकता देखिन्छ । आफ्नो पेशा व्यवसाय गरिरहेका दलित समुदायलाई अन्यसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउन सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने हुन्छ । दलित समुदायले मादल बनाउने पेशा समेत संकटमा परेको छ । सरकारले दिएको अनुदान लक्षित वर्ग सम्म नपुगी विच बाटोमा अरुले स्वाँ पार्ने प्रवृतिले संकटमा परेको बारेकोट गाउँपालिका —०१ रामीडाँडाका डम्बर विकले बताए ।
जीविकोपार्जनमा समस्या
कुशे गाउँपालिका ०५ का रामबहादुर कामीलाई आरन चलाएर जीविका चलाउन गाह्रो भएको छ । आरन चलाएर निर्माण गरिने धातुका वस्तु बिक्री हुन छाडेपछि उनलाई जीविका चलाउन गाह्रो भएको हो । आरनबाट जीविका चलाउन गाह्रो भएपछि धेरै जना पेसा पलायन भई मजदुरीका लागि भारततर्फ जान थालेका छन् । युवाहरूले आरन पेसालाई अँगाल्न छाडेका छन् । बाबुबाजेदेखि आरन चलाउँदै आए पनि थोरै आम्दानी हुने हुँदा युवाले अरु पेसा रोजेका हुन् ।
“पहिला स्थानीय कारिगरले आरन चलाएर बनाउने हाँसिया, बन्चरो, कोलोली चलन निकै थियो”, उनले भने, “ती सबै स्थानीय आरन चलाउनेले बनाउने गर्दथे, हाल बजारमै सबै सामान किन्न पाइन्छ, हातले बनाउँदा टिकाउ भए पनि महँगो हुन्छ, बजारमा सस्तो छ ।” मठमन्दिरमा चढाउने देवी–देवताका धातुका मूर्तिको माग पनि आउन छाडेको उनले बताए । घरायसी प्रयोग हुने चरु, फोला, हुडु, माना, पाथीको प्रचल हटेसँगै पुख्र्यौली पेसा नै ओझेलमा परेको उनको भनाइ छ । “हाल हँसिया बनाउने र त्यसमा धार लगाउने कार्यबाहेक अरु काम नआउँदा परिवारको खर्च धान्न मुस्किल भएको छ”, उनले भने, “पहिला कमाइ हुन्थ्यो, छोराछोरीलाई अलिअलि पढाए, अहिलेको जस्तो भए भोकभोकै बस्नु पर्दथ्यो ।”
५१ बर्षिय आरन पेसालाई निरन्तरता दिँदै आए पनि उनका दुई वटै छोरा भने कमाइका लागि भारतमा काम गर्दै आएका छन् । अहिले कमाई नै हुन छाड्यो, “धान, गहुँ काट्ने सिजनमा केही कमाइ हुन्छ”, उनले भने, “बाँकी समय थोरैमै चित्त बुझाउनुपर्ने हुन्छ, पुर्खौँदेखिको पेसा भएकाले छाड्न पनि सकिएको छैन ।”
बारेकोट गाउँपालिका ०२ रोकायगाउँका खिमबहादुर कामी २१ बर्षदेखि आरान पेशा गर्दे आएका छन् । “परम्परात पेसालाई आधुनिक बनाउन नसक्दा भोकभोकै बस्नुपर्ने अवस्था आएको छ”, उनले भने, “आरनलाई आधुनिक बनाउन सरकारी पक्षबाट अनुदानको व्यवस्था गरिनुपर्दछ ।”
बाबुबाजेदेखि सिकेको पेसा नै यही भएकाले अरु काम गर्न नआउँदा अन्योता छाएको उनले बताए । “आरनको काम गर्नेको कमाइ छैन, समाजमा मानप्रतिष्ठा पनि छैन”, उनले भने, “त्यही भएर घरका छोरा भारतमा काम गर्न बाध्य छन् ।”
भारतीय पहाडमा विद्युतका पोल बोक्ने, सडक खन्ने, विद्युत् पावर हाउसको सुरुङ निर्माण गर्ने र पानीको बाँध बनाउने कार्यमा दलित समुदायका युवाहरू संलग्न छन् । अर्काको जमिनमा खोकाछाप्रा बनाएर आरन चलाउँदै आएका पदम कामी परम्परागत पेसालाई निरन्तरता दिँदै आएका छन् ।
“हातमा सीप भनेको त्यही परम्परागत आरन चलाउनुमात्रै हो”, उनले भने, “यसबाट आएको रकम र अन्नले सात जनाको परिवारको पेट पाल्न मुस्किलले पुगेको छ”, रातदिन फलाम थिच्दा पनि मुस्किलले दुई छाक खान नपुग्ने गरेको उनको दुःखेसो छ ।
“पेसालाई आधुनिकीकरण गरी सहजरूपमा जीवनयापन गर्नका लागि स्थानीय तहले योजना बनाउनुपर्ने हुन्छ”, दलित अगुवा गोपाल कामी बताउँछन् । उनले भने, “अहिलेसम्म आरन चलाएर जीविका चलाउने दलित समुदायका व्यक्तिका लागि योजना बनाइएका छैनन्, पेसालाई आधुनिकीकरण गरी बिनाधितो समूह जमानीका आधारमा ऋणको व्यवस्था गरिनुपर्छ, त्यो पनि हुनसकेको छैन ।” आरन चलाउने दलित समुदायसँग भएको परम्परागत सीप पुरानो भइसकेकाले युवालाई परम्परागत सीपमा परिमार्जन गरी संलग्न गराइनुपर्ने उनको भनाइ छ ।
हाम्रो पहुँच संवाददाता । २९ फाल्गुन २०८०, मंगलवार