जिल्लाकै अति दुर्गम र विकट भएपनि हाम्रो मुल्साम प्राकृतिक श्रोत र जैविक विविधताले भरिपूर्ण छ । बाह्र कोटले चिनाउने बारेकोट भित्रका ठिम्कोट र भालाकोट नामको दुई वटा कोट पनि मुल्साम भित्रै पर्दछन् । यहाँको रहनसहन भेषभूषा,कला र संस्कृति आफ्नै मौलिकतामा आधारित छ ।
यहाँ मुख्यत ः ३ दलित, क्षेत्री र ठकुरी जातका मानिसहरुको बसोबास रहेको छ । यहाँ मृग हरुमा कस्तुरी,झारल,थार,घोरल,रतुवा (फट्के),बदेंल, रेडपाण्डा पाईन्छन् । बाघ र भालु पनि पाईन्छन् । चराचुरुङ्गी मध्येमा डाँफे, मुनाल, कालिज,फग्राँस्, पिउरा, भेकुरा,लेईटे, दुर्लभ पंक्षी गरुल(गिद्ध)जस्ता थुप्रै चराचुरुङ्गी हरु पाईन्छन् भने (दीपबहादुर घर्ती सरबाट सोधनी)कुशे ५ दम्दालाका तिले गाईन र बारेकोट ५ सिर्साका आदारणीय दाजु कृष्णबहादुर सिंहको जस्तो अद्भुत र सुमधुर स्वरका धनी जस्तै स्वरैको भाष्यमा विलौना मिसिएको आभास हुने
चैतमा सवैलाई बासेर रुवाउने न्याउली चरीले थप त्यहाँको जंगललाई आँसुले सिंञ्चित गरी मानिसलाई अक्सिजन दिने घना जंगलको हरियाली दृष्यले थप लोभ्याई रहेको छ । पुस देखि वैशाख अन्तिम सम्म उठ्दा वित्तिकै शिर ठाडो पारेर हेर्दा सामुन्नेमा टाकुरी पाटन, धजाहाल्न र धेले पाटनमा देखिने सेताम्य हिउँको परिदृष्ले अझ मुल्सामको शिर हाँसिरहेकोे अनि उच्च । जेठ देखि असोज सम्म गाई,भैसी,घोडा–भेंडा सबै चौपाया वस्तुहरु यिनै हरियाली पाटनमा चरेर नाचिरहेका देखिन्छन् जुन धेले(गँदबस्या) पाटन वल्लापट्टी शंख आकारको शंखदह र पल्लोपट्टि दुई दहको वीचैमा बाटो भएको हुनले पाले दह भनिन्छ ति तिन वटा दह(ताल)ले सुस्किरहेका छन् ।
यो लेखका पाठक सबैलाई निम्तो दिई रहेका छन् । यहाँको हरियाली जंगल, यि माथि उल्लेख गरिएका निला ताल, मुलबाट घुत्किने चिसो पानी, न जाडो,न गर्मी, ठिक्कको मौसमी हावापानी,उदागाड,लिरिकन्टे,दहका छेउ र काठ्या खोलाका दर्जनौं छहरा(झरना)हरु,
फलहरुमा ऐसेलु,रुख–भुईंकाफल,पाँङ्रो,ओगारे,ग्वार्या,गोब्ला,सिगुल्टा,
गुयाँली ,ईत्यादि । फूलहरुमा पाटनका अनगिन्ती फूलहरु,बिजौरी,हजारी,सिलपारो,च्याङ्ग्याँ,
फुलघापोे,नयरईत्यादि,
बालीनालीमा ः– धान,फापर,गहुँ,जौं,उवा मकै,कोदो आदि
दाल–तरकारीमाः– सिमी, भट्ट,गाभा,सिस्नो (पालौरो) पिरालु(पिंडालु) आलु आदि फलफूलमाः– स्याउ,किबी,जापानी फल(हलुवाबेद)आरु,ओखर
सागसब्जीमाः– आलु,प्याज,टमाटर,खुर्सानी,धनियाँ,लसुन,गोपी,काउली,सुईचार,हलेंदो,तिरखुलो,चोता,कोईरा
माथिका सबै चिज पाईने ठाउँ हो मुल्साम ।
हाम्रा कुल देवताहरुः– काल्ना–बङ्सरा,सत्य–सामरा,भयार,मष्टो,कालेगुरु,गुरुमष्टो,मुछालो, पुरानो नौलो बरा, नदाई तथा अन्य स–साना पिर्तहरुहरुलाई देवताअनुसारको पूर्णिमामा मान्ने वर्गीकरण गरिएको हुन्छ । कुलदेव –देवताहरुको पूजाआजा गर्ने प्रचलन पूर्खादेखि अहिलेसम्म रहिआएको छ ।
आद्यात्मिकवाद लाई विश्वास राख्दछौं । यहाँ विवाह,ब्रतवन्ध, कुल देवी देवताको मान्ने पूर्णीमामा उही अनुसारको देवताका मागल, आसित भन्ने, ख्याली,पैंसेरी र सिंगारु नाच नाचेर रमाइलो गर्ने चलन हो यहाँको कला र संस्कृति ।
पञ्चायतकाल देखि अघिको ईतिहास त मलाई थाहा छैन, तर पञ्चायतीकालमा पनि हाम्रो दुई टोल मुल्सामदरा सरु पैंक पञ्चायतमा पर्दथ्यो । पछि आवतजावत गर्न सजिलोका लागि दरा बारेकोट रोकायगाउँ पञ्चायतमा गाभ्न(ल्याउन) यही मुल्साम निवासी यस समयका ६९ बर्षिया लालबहादुर रोकाय अहोरात्र खटिएर अहम् भूमिका निर्वाह गरेको स्वयं लालबहादुर रोकायको मुखारबिन्दुबाट सुन्न सकिन्छ ।
उहाँलाई सहयोग र समर्थन गर्नेमा श्री वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालय लिम्साका प्राध्यापक (जो हाल उच्च मा.वि.छ) हाम्रो आदरणीय गुरु खम्बप्रसाद रोकाय र गुरु भूमिलाल रोकायका बुवा स्व.श्री खडक बहादुर रोकायको ठूलो योगदान थियो । जुन अहिले बारेकोट गाउँपालिकाको ३ नं. वडामा पर्दछ ।
पञ्चायतकाल सोही गाउँ निवासी लालबहादुर रोकाय उप–प्रधान पञ्च निर्वाचित हुनुभएको थियो । एक कार्यकाल सोही पदावधिमा रहेर मुल्सामको चेहरा फेर्नु भएको थियो । तत्पश्चात २०४६ सालको बहुदलीय व्यवस्था आएदेखि होस् या २०५२ सालतिर जनयुद्धको शंङखघोष गरेको मिति देखि जनयुद्धकालमा युद्ध गर्ने युद्धको लागि आधार ईलाका बन्यो । युद्ध गर्ने अनुकूल भूमि बन्यो ।
जुम्ला–जाजरकोट र जाजरकोट–जुम्ला आवतजावत गर्नका लागि उपयुक्त केन्द्र बन्यो । आजकै मितिसम्म पनि ८० किलोवाटको गाग्रा खोला लघु–जलविद्युत् बारेकोट गाउँपालिकाको कार्यालय, वीरेन्द्र ऐश्वर्य उच्च मा.वि.र पुरै बारेकोटीवासीहरु ईलाका स्वास्थ्य उपचार केन्द्र लिम्सामा पनि विद्युतलाईन दिने पावरहाउसको मुहान यही मुल्साम भित्र नै पर्दछ । जिल्लामा पाईने सयौं प्रजातिका जडिबुटी मध्ये दर्जनौं जातका जडिबुटी हाम्रो मल्सामको लेक र वन जंगलमा पाईन्छ । बारेकोटका घरहरु छाउने सवै ठाउँको भन्दा उत्कृष्ट ढुंङगा खानी पनि मुल्साममा नै पाईन्छ । हामी मान्दै आएको रीतिरिवाज, सुन्दै गरेको कहानी, देखिरहेने मनोहर लोभलाग्दो प्राकृतिक भू–वनावटले भरिपूर्ण हो मुल्साम । मुल्साम मुल्सामवासीका लागि स्वर्ग जस्तै भएपनि अरुले हेर्ने दृष्टिमा धेरै भिन्नता छ ।
यो गाउँको दूरी धेरै टाढा छ । त्यो भन्दा झन् टाढा संघीय, प्रदेश र स्थानीय सरकारका लागि, पदमा पुग्ने जनप्रतिनिधिहरुका लागि, कलम चलाउने पत्रकार देखि, सुरक्षा दिने सुरक्षाकर्मीहरुका लागि,बजेट हाल्ने नेताका लागि स्कुलमा पढाउने शिक्षकहरुका लागि महिनौंसम्म हिड्दा पनि नदेखिने ठाउँ हो मुल्साम । स्याँला मुल्साम पठे बोहराको छोरालाई पहाडा मुल्सामका रमन विश्वकर्माको व्यक्तिगत पहलमा काठमाडौंको कुनै संस्थालाई गुहार्दै ओषधी गर्दासमेत कसैको ध्यान नपुग्ने ठाउँ हो मुल्साम । अकालमा मृत्यु हुँदा लासले हतारमा हार्दिक श्रद्धाञ्जलीको शब्द पाउने ठाउँ हो । चुनावको समयमा मुसाले बिरालो माथि शासन गर्ने ठाउँ हो । चुनावका बेला उधारो नारामा पनि बिक्ने चेतना भएको जनताको बसोबास रहेको बस्ती हो मुल्साम ।
दिपेन्द्र मा.बि.मतदान केन्द्रबाट उल्लेख्य मत खस्छन् र उधारो नाराले मतदाताको काम होइन मन जित्नु पर्छ । पलेटी कस्ने ठाउँ हो । उधारो नारा, उधारो भाषण, उधारै आश्वासन पाएर रुखको टुप्पोमा पुग्ने जनता छन् भन्ने बुझ्नेहरुका लागि पौष्टिक खुराक बनिदिने बसोबास रहेको स्थान हो मुल्साम ।
तीन जिल्लाः– हुम्ला,मुगु र जुम्लाका जनताहरुका लागि जुम्ला जिल्ला तातोपानी ८ टोप्ला बैंतडी बाट यहि मुल्सामको चोर्तिगोठ भन्ने स्थानमा सुरुङ्गमार्ग बनाउदा केन्द्र राजधानी काठमाडौंमा पुग्न र ४१७ मेघावाटको नलगाड हाईड्रो–पावर लाई पनि टेवा पुग्छ भन्ने लिष्टमा नपर्ने गाउँ हो मुल्साम । जनयुद्धकालदेखि हालसम्म प्रयोग हुने तर युज एण्ड थ्रो हुने जनताको थात थलो हो मुल्साम । गाग्राखोला साना लघु–जलविद्युत् का लागि प्रयाप्त मात्रामा योजना हाल्न नदेख्ने भूमि हो मुल्साम । ठाउँमै बसेर मुल्सामको बख्यान गरि चारो बनिदिने ठाउँ हो मुल्साम । यसको अलवा अरु केही देख्नेहरुले देखेमा अपवाद वा समयको संयोग बाहेक अरु केहि भए प्रतिक्रिया दिनुहोला ।
अतःहामी मुल्सामवासीले देखेको बयान गरी नसक्ने र साँच्चिकै स्वर्ग बन्ने प्रचुर संभावना हुँदाहुँदै बिडम्बना अर्काको बुई चढ्दा र अरुकै भरमा पर्दा सजिलो ठाउँमा तीन गिल्टयाङ्ग खाई शसख्त घाइते हुनुभन्दा आफ्नै खुट्टामा उभिएर गन्तव्यमा पुग्न सकिन्छ भन्ने सदबुद्धी हाम्रो मान्ने कुलदेवीदेवताहरुले दिनेछन् भन्ने आशा राख्दै सबैले देख्ने सबैको नजरमा समृद्ध मुल्साम सुखी हामी मुल्सामी बनाउनमा एकजुट भएर अघि बढौं । म अस्थायी रुपमा जीवन धान्न जहाँ भए पनि आखिर जननी जन्म भूमिश्र्चः स्वर्गदपी गरियसीः धन्यवाद ।
प्रेमबहादुर बोहरा । ९ फाल्गुन २०८०, बुधबार