जाजरकोट । नेपाल रेडक्रस सोसाइटीले जाजरकोटमा ३ सय ५० वटा अस्थायी आवास निर्माण गरेको छ । नेपाल रेडक्रस सोसाइटीले जाजरकोटका ३५० भुकम्प प्रभावितहरुको अस्थायी आवास निर्माण गरेको हो ।
९ महिनाको लागि अन्तर्राष्ट्रिय रेडक्रस महासंघको आर्थिक सहयोगमा “कर्णाली भुकम्प प्रतिकार्य कार्यक्रम” संचालन गरेको नेपाल रेडक्रस सोसाईटीले जाजरकोट जिल्लाका सात पालिका र ७७ वटा वडाहरुको भुकम्पीय क्षेतीको द्रुत सर्वेक्षण, विस्तृत अध्ययन सर्वेक्षण, गैर खाद्य विभिन्न राहत सामाग्रीहरु वितरण गरेको छ ।
टेन्ट, त्रिपाल, ब्लाङकेट, विस्तरा, डोरी, बाल्टिन, किशोरी किट, सरसफाइ सम्बन्धिका सामाग्री, सोलार बत्ति लगाएतका १२ प्रकारका ४ करोड, ४५ लाख, ८५ हजार ६०० लागतको राहत सामाग्री वितरण गरेको “कर्णाली भुकम्प प्रतिकार्य कार्यक्रम” संयोजक प्रकाश कार्कीले जानकारी दिए ।
अस्थायी आवास निर्माण, सरसफाई, स्वास्थ्य, सामुदायिक संलग्नता, जवाफदेहीता संरक्षण तथा लैङ्गिक सामावेशिकरणका क्षेत्रमा काम गर्न “कर्णाली भुकम्प प्रतिकार्य कार्यक्रम” लाई जिल्ला विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन समितिले भेरी नगरपालिका दिएको थियो । नगर विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन समितिले दिएको कार्यक्षेत्र अनुसार वडा नं. १ का २५० र वडा नं. ३ का १०० गरी जम्मा ३५० घरधुरीमा कार्यक्रमले अस्थायी आबास, शौचालय निर्माण गर्नुको साथै पानी टंकीको व्यवस्था गरेको कार्यक्रम संयोजक कार्कीले जानकारी दिए ।
त्यसैगरी कार्यक्रमले भेरी नगरपालिका वडा नं. १ मा ६३३, वडा नं. २ मा ६९० र वडा नं. ३ मा ३०० गरी जम्मा एक हजार ६२३ घरपरिवारमा प्रतिपरिवार १५ हजारका दरले बहुउदेश्य नगद सहयोग गरेको संयोजक कार्कीले बताएका छन् । अस्थायी आबासको लागि ५० हजार, शौचालयको लागि १५ हजार, पानी टंकीको लागि ७ हजार र बहुउदेश्य नगद सहयोग १५ हजार गरी प्रति परिवारमा ८७ हजारको प्याकेज रहेको कार्कीले जानकारी दिएका थिए ।
अस्थायी आबास, शौचालय, खानेपानी टंकी र बहुउदेश्य नगद सहयोगका क्षेत्रमा नेपाल रेडक्रस सोसाइटीले ४ करोड ४२ लाख ९५ हजार खर्च गर्ने लक्ष्य लिएको संयोजक काकीले वताएका छन् । अस्थायी संरचना निर्माण सम्बन्धि वडा नं १ मा ९८ प्रतिशत, वडा नं. ३ मा ९७ प्रतिशत काम सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी जाजरकोटले जनाएको छ ।
हाम्रो पहुँच संवाददाता । ५ फाल्गुन २०८०, शनिबार