करोड बढी रकम अपचलन गर्ने प्रभु बैङ्कका कर्मचारी विरुद्ध मुद्दा दर्ता

blog

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा रहेको प्रभु बैङ्कका एक कर्मचारीले एक करोड बढी रकम अपचलन गरेको आरोप लागेको छ । बैङ्कको अप्रेसन इन्चार्ज पदमा कार्यरत नीरजविक्रम शाहले एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शाह विरुद्ध प्रभु बैङ्कको कर्णाली प्रदेश कार्यालयले बैङ्किङ कसुर शीर्षकमा मुद्दा दिएको बताउनुभयो । उहाँका अनुसार अपरेसन इन्चार्ज शाहले बैङ्कका खातावालाहरूको रकम अनधिकृत रूपमा निकाल्ने, जम्मा गर्ने, अरूलाई ट्रान्सफर गर्ने गरेको आरोप लागेको छ । शाहले पदको दुरुपयोग गरेर करोडौँ रुपियाँ हिनामिना गरेको गुनासोपछि बैङ्कले आन्तरिक छानबिन समेत सुरु गरेको थियो । झुट्टा विवरण र खातावालाको जानकारी बिनै बैङ्कमा जम्मा गरेको रकम अपचलन गरेको पाइएपछि उक्त रहस्य खुलेको हो । बैङ्कको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वमा आएको टोलीले यस घटनाको प्रारम्भिक छानबिन गरेर आरोपी कर्मचारी विरुद्ध मुद्दा दर्ता गरेको हो ।

प्रारम्भिक छानबिनको क्रममा इन्चार्ज शाहले एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको देखिएको बताइएको छ । प्रहरी नायब उपरीक्षक भट्टराईले अब तत्कालै आवश्यक छानबिन सुरु गरिने बताउनुभयो । बैङ्कको आन्तरिक सिस्टम लगायतको गहिरो अध्ययन गर्नुपर्ने भएकोले अनुसन्धानपछि नै थप कुरा खुल्ने उहाँको भनाई छ ।

आरोपी फरार, अरू कर्मचारीलाई कारबाही

रकम अपचलन गरेको आरोप लागेका कर्मचारी शाह भने फरार रहेको बताइएको छ । प्रभु बैङ्कको आठविसकोट शाखाका प्रबन्धक डम्बर गौतमका अनुसार बिरामी छु भनेर बिदा स्वीकृत नगरेरै शाह फरार भएका छन् । माघ २० गतेदेखि शाह कार्यालयमा नआएको उहाँले बताउनुभयो । गौतमले भन्नुभयो, ‘म आफै बिदामा थिए, उहाँले १२ दिनको बिदाको निवेदन दिएर हिँड्नभएछ, अहिले सम्पर्कमा हुनुहुन्न ।’

बैङ्कको आन्तरिक छानबिन टोलीले शाखामा कार्यरत सबै कर्मचारीहरूलाई कारबाहीको प्रक्रियामा लिएको बुझिएको छ । उक्त शाखामा कार्यरत प्रबन्धकसहितका नौ जना कर्मचारीहरूलाई जिम्मेवार विहीन बनाएर नयाँ कर्मचारीको टोलीले शाखाको दैनिक काम गरिरहेको छ ।

ग्राहकप्रति घात भएको गुनासो

विश्वासको आधारमा बैङ्कमा रकम जम्मा गरेका सेवाग्राहीहरूले भने बैङ्ककै कर्मचारीबाट ठुलो घात भएको बताएका छन् । आठविसकोट नगरपालिका –१२ का डण्डे कुसारीले बैङ्कमै गएर दिएको १७ लाख रुपियाँ शाहले गायब पारेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आईपिएस मार्फत पठाउने भनी १७ लाख दिए, उहाँले फाराम भरेर बैङ्कको छाप र हस्ताक्षर गरेर कागज पनि दिनुभयो । तर अहिलेसम्म हाम्रो खातामा पैसा गएको छैन ।’

आठविसकोट नगरपालिका –११ की मनकला पुनले चेक सकिएपछि निकाल्न गएको बेला इन्चार्ज शाहले म ल्याइदिउँला भनेर चेक छोडेको तर उहाँले जानकारी नदिई आफ्नो चेकबाट रकम निकाल्ने गरेको बताउनुभयो । उहाँले छ लाख रुपियाँ शाहले निकालेर हिनामिना पारिएको सुनाउनुभयो । विश्वासको आधारमा चेक दिएका र खातामा पैसा जम्मा गर्न भनी पैसा दिएका नजिकका आफन्तहरू पनि अहिले बैङ्कको कर्मचारीबाट ठगिएको भन्दै गुनासो गर्ने गरेका छन् ।

खातामा जम्मा गर्न आएकाहरूको ठुलो रकम अहिले बैङ्कको सिस्टमले काम नगरेको, भिडभाड भएको लगायतका बहाना बनाउँदै पछि गर्दिन्छु भनेर फर्काउने तर आफूले प्रयोग गर्ने गरेको समेत बताइएको छ । यी बाहेक दर्जनौँ बचतकर्ता र सरकारी निकायको रकम दुरुपयोग भएको हुनसक्ने बत्ताइन्छ ।

तपाईको प्रतिक्रिया