जाजरकोट । जिल्लामा हाल सम्म १८ हजार ८ सय ५९ जनाले अस्थायी आवास निर्माण गरेका छन् । ४२ हजार ५ सय २४ लाभग्राही रहेको जाजरकोटमा १८ हजार बढीको अस्थायी आवास निर्माण भएको हो । ३२ हजार ७ सय ७७ जनाले सम्झौता गरेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । १० हजार ६ सय ९४ जनाले पहिलो किस्ता समेत पाउन सकेका छैनन् । प्रशासनको तथ्यांक अनुसार ३१ हजार ८ सय ३० जनाले अस्थायी आवासको पहिलो किस्ता प्राप्त गरेका छन् । भेरी नगरपालिकामा १ हजार ७ सय वटा अस्थायी आवास निर्माण भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।
प्रजिअ सुनारका अनुसार नलगाड नगरपालिकामा ७ हजार ५ सय १७ वटा आवास निर्माण गरिएको छ । जसमा नेपाल सरकार बाट ६ हजार ९ सय ९५ र संस्थाहरुले ५ सय २२ निर्माण गरेका छन् । छेडागाडमा २ हजार २ सय ९२, बारेकोटमा २ हजार ६ सय ६७, कुशेमा २ हजार ५ सय ८५, जुनीचाँदेमा ५ सय ७२ र शिवालय गाउँपालिकामा १ हजार ५ सक्ष्य २६ अस्थायी आवास निर्माण भएका छन् । अहिले सम्म सरकार, स्थानीय तहले १८ हजार ८६ र संघ संथाले ७ सय ७३ अस्थायी आवास निर्माण गरेको प्रजिअ सुनारले बताए ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पका कारण जाजरकोटमा मात्रै १ सय १ जनाले ज्यान गुमाएका थिए । भूकम्प गएको तीन महिना पुरा भएपनि अहिले सम्म अधिकांश भूकम्प पीडितले अस्थायी आवासको पहिलो किस्ता समेत पाउन सकेका छैनन् । जिल्ला विपद व्यवस्थापन समितिले स्थानीय विपद् समितिको खातामा पैसा पठाएपनि अस्थायी तहको ढिलासुस्तीका कारण भूकम्प पीडितले पहिलो किस्ता समेत पाउन नसकेको गुनासो गरेका छन् । हिउँद सकिन लाग्दा पनि अझै कुल लाभग्राहीको आधाले पनि अस्थायी आवास बनाउन सकेका छैनन् । हिउँदको चिसोमा भुकम्प पीडितहरु त्रिपालमै रात कटाउन बाध्य छन् । सरकारी प्रक्रियागत झण्झट र ढिलासुस्तीका कारण पुर्ननिर्माणमा ढिलाई भैरहेको पीडितहरुको गुनासो छ । सरकारी ढिलासुस्ती र प्रक्रियागत समस्याका कारण अस्थायी आवास निर्माणका साथै पुर्ननिर्माणमा ढिलाई भैरहेको बारेकोट— ०४ का मालबहादुर सिंहले बताए ।
स्थानीय सरकारहरुले भने लाभग्राही छनौटमा समय लागेको बताउने गरेका छन् । जुनीचाँदे गाउँपालिकाका अध्यक्ष वेदबहादुर शाहीले अघि लाभग्राही छनौटमा समय लागेपनि अस्थायी आवासको काम धमाधम चलिरहेको बताए । उनले भने, ‘अलि पहिला हामीलाई लाभग्राही छनौटमा समस्या आयो, अहिले भने धमाधम काम भईरहेको छ ।’
पाल सरकारबाट जिल्ला विपत् व्यवस्थापन कोषमा भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न प्राप्त एक अर्ब तीन करोड ४१ लाख ७५ हजार रुपैयाँ स्थानीय तहको विपत् व्यवस्थापन समितिको खातामा पठाइसकेको प्रशासकीय अधिकृत शर्माले बताए ।
पालिकाको खातामा रकम जम्मा भए पनि लाभग्राहीले नपाउँदा पीडित त्रिपालमुनि बस्नु परेको छ । स्थानीय सरकारले पीडितका लागि आएको रकम छिटोछरितो नदिँदा झन्झटिलो प्रक्रियाका कारण बैङ्कले समयमा निकासा नदिएपछि प्रभावित समस्यामा परेका छन् । भेरी नगरपालिका–१, मैदेका सन्तोष रानाले भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न सरकारले दिएको रकम स्थानीय सरकारको ढिलासुस्तीका कारण त्रिपालमा बस्नु परेको बताए ।
नलगाडमा गति तीव्र
नलगाड नगरपालिकामा हालसम्म ७ हजार १ सय ५० जना लाभग्राहीले अस्थायी आवासका लागि पहिलो किस्ता बापतको रकम प्राप्त गरेका छन् । ८ हजार ९७ जना लाभग्राही मध्य अव ९ सय ४७ लाभग्राहीले मात्र पहिलो किस्ता बापतको रकम प्राप्त गर्न बाँकि रहेको देखिन्छ । त्यसैगरि नलगाडका १३ वटै वडाहरुमा गरी हालसम्म ७ हजार ५ सय १७ वटा अस्थायी आवास निर्माण भएका छन् ।
विभिन्न संघ संस्था, राजनीतिक दलका भातृ संगठन, सरकार र स्थानीय सरकारको सहयोगमा उक्त आवास निर्माण भएका हुन् । ८ हजार ९७ लाभग्राही मध्य अव २ सय २९ लाभग्राहीकोे मात्रै अस्थायी आवास निर्माण हुन बाँकी छ ।
१३१ अस्थायी आवास हस्तान्तरण
स्टार्ट फण्ड नेपालको सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र वल्र्ड भिजन इन्टरनेशनलको साझेदारीमा १ सय ३१ वटा अस्थायी आवासहरु निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरेको छ । गत कार्तिक १७ गते राती जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकुम्पका कारण भएको भौतिक क्षतिको सामना गर्न स्टार्ट फण्ड नेपालको सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र वल्र्ड भिजन इन्टरनेशनलको साझेदारीमा १ सय ३१ वटा अस्थायी आवास निर्माण गरेका थिए ।
भुकम्पले अस्त व्यस्त भएको जनजीवनमा सहजता ल्याउन जाजरकोट र रुकुम (पश्चिम) जिल्ला बिपद ब्यबस्थापन समितिको अनुमतिमा स्थानीय सरकारसंगको समन्वयमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं ६ र रुकुम (पश्चिम) जिल्लाको आठबिसकोट नगरपालिका वडा नं ४ मा १ सय ३१ वटा अस्थायी आवा निर्माण गरिएको थियो ।
अस्थायी आवास निर्माण कार्यक्रममा फलामे ट्रस सहितको रंगिन टिनको छाना र टिनकै भित्ता रहेको आवास सहित शौचालय र खानेपानी केन्द्र समेत निर्माण गरि हस्तान्तरण गरिएको पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवी पन्तले बताए । अस्थायी आवास निर्माण गर्न प्रति घरधुरी १ लाख ६२ हजार ५०० शौचालयका लागी १५ हजार र खानेपानी केन्द्रका लागी ६ हजार ५०० गरी जम्मा १ लाख ८४ हजार प्रदान गरिएको छ । १ सय ३१ घरधुरीमा कुल लागत २ करोड ४१ लाख ४ हजार रहेको थियो ।
जसमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ४ मा ६७ वटा र जाजरकोट जिल्लाको नलगाड नगरपालिका ६ मा ६४ वटा आवास निर्माणको प्याकेज सम्पन्न गरी औपचारिक कार्यक्रमका बिच स्थानीय सरकारको रोहबरमा सम्बन्धित वडाका वडा अध्यक्षहरुलाई हस्तान्तरण गरिएको थियो ।
कारितासले बनायो २ सय अस्थायी आवास
भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा कारितास नेपालले २ सय अस्थायि आवास निर्माण गरेको छ । भेरी नगरपालिका, नलगाड नगरपालिकार रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोट सँगको सहकार्यमा उक्त अस्थायि आवासहरु निर्माण सम्पन्ना भएका हुन् ।
भुकम्प अति प्रभावित पिडित नागरिकहरुका लागि कारितास नेपाल, कारितास अष्ट्रेलिया, कारितास अष्ट्रिया,मीजेरीयस नेपाल कारितास जर्मनी,र सीआरएस नेपाल सँगको आर्थिक सहयोगमा संचालित भुकम्प प्रभावितहरुका लागि तत्काल राहत तथा पुर्नलाभ कार्यक्रम अन्तरगत उक्त २ सय अस्थायि आवासहरु निर्माण गरिएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति तथा स्थानीय सरकार सँगको समन्वय तथा अनुमतिमा संस्थाले उक्त आवासहरु सरकारी मापदण्ड भित्र रहि निर्माण गरेको हो । कारितास नेपालका प्रादेशिक प्रमुख जनक शर्माले आफुहरुले लाभग्राहीहरुको स्थानिय श्रोत शाधनको प्रयोग गरि २ वटा सुत्ने कोठा, १ भान्सा कोठा र १ वटा वरण्डा सहितको आवास निर्माण गरेको जानकारी दिए । छाना छाउने जस्ता पाता र कीला काँठा वाहेक सवै स्थानीय सामाग्रीहरुको प्रयोग गरिएको शर्माले जानकारी दिए ।
यार्सन जाजरकोटका अध्यक्ष अमर सिंह राठौरले भुकम्प वाट अति प्रभावित भेरी नगरपालिकाको वडा नं १ मैदे गाउँमा ४९ वटा, कोल्चौर गाउँमा २२ वटा, नलगाड नगरपालिकाको वडा नं १ कल्पत गाउँमा ४३ वटा र रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा ६६ वटा गरि कुल २ सय वटा अस्थायि आवास निर्माण गरिएको बताए ।
भेरी नगरपालिका १ मैदे गाउँकी ७२ वर्षीय बली रानाले अस्थायि आवास पाए सँगै आफुहरु सुरक्षीत घरमा वस्न पाएको बताए । त्रिपालमा असुरक्षीत साथ बसीरहेका आफुहरुलाई संस्थाले आवास वनाए पछि महिला हरुले निकै सुरक्षीत महसुस गरेको बताए ।
नलगाड नगरपालिका का १ का वडा अध्यक्ष धर्म वहादुर नेपालीले कारितास नेपाल र यार्सन वाट निर्माण भएका अस्थायि आवासहरु निकै नमुनायोग्य रहेको बताए । स्थानीय स्रोतशाधनको समेत प्रयोग भएको र स्थानीयले रोजगारसमेत पाएको वडाअध्यक्ष नेपालीको भनाई छ । आफ्नो घर पनि निर्माण भएको र श्रम गरेवापत रकम पनि पाउँदा आफुहरु निकै खुसी भएको भेरी १ कोल्चौरका हस्तबीर नेपालीले खुसी व्यक्त गरे । छाना जस्ताले छाएको र वरी परी स्थानीय काठ , फलेकले बारेर लीपपोत गरेकार्ले आफुहरुलाई गर्मी र चिसो वाट निकै सुरक्षा दिएको नेपालीको भनाई छ ।
कारितास नेपालका विपद व्यवस्थापन अधिकृत शुभम पौडेलले २ सय अस्थायि आवास निर्माण सम्पन्न भइसकेको र लीपपोत लगायतको बाँकी काम एक हप्ता भित्रै सम्पन्न गरी सवै लाभग्राहीलाई हस्तान्तरन गरिने जानकारी दिनुभयो ।
हाम्रो पहुँच संवाददाता । २४ माघ २०८०, बुधबार