जाजरकोट । ‘विहेवारी वीस बर्ष पारी’ यो सरकारको नारा हो । वीस बर्ष नपुगी गरिएको विहे कानुनी रुपमा अपराध हो । तर जाजरकोटका गाउँगाउँमा विहे गर्ने उमेरमा तीन÷चार बच्चाका आमा बनेको भेटिन्छ । ग्रामीण वस्तीहरुमा वालविवाह तीब्र रुपमा बढ्दै गएको छ । गरिबी, वेरोजगारी, अशिक्षा, जनचेतनाको कमी लगायतका थुप्रै कारणले बालविवाह बढिरहेको छ । बारेकोट गाउँपालिका वडा नं २ रोकायगाउँकी सरिता नेपाली अहिले २२ बर्षकी भईन् । २०७५ सालमा उनीले सोही गाउँका स्थानीय विकास विक सँग गरिन् । अहिले उनका तीन छोराछोरी छन् । विहे गर्दा उनी पन्ध बर्षकी थिईन् । यस्तै, सोही गाउँका स्थानीय राजेन्द्र नेपाली अहिले २१ बर्षका भए । २०७५ सालमा सोही गाउँमा बस्ने माया विकसंग विवाह गरेको थिए । अहिले उनकी दुई छोराछोरी छन् ।
उनीहरु मात्र होइन् जाजरकोटमा बालविवाह गर्नेको संख्या प्रत्येक बर्ष बढिरहेको छ । बारेकोट गाउँपालिका भित्र बर्षमा एक दर्जन भन्दा बढीले वालविवाह गर्ने गरेको बारेकोट —०२ का स्थानीय भीमबहादुर नेपालीले बताए । बारेकोटमा वाल विवाह दिन प्रतिदिन बढ्दै गएको छ । तर वाल विवाह रोकथाममा स्थानीय सरकारले कुनै ठोस कार्यक्रमहरु नल्याएको बारेकोट स्थानीयहरुको गुनासो छ ।
कानुनमा बालविवाह अपराध हो । विहे वारी, विस बर्ष पारी सरकारको नारा भएपनि स्थानीय सरकारले बालविवाह सम्बन्धी कुनै ठोस योजना ल्याएको छैन् । जनप्रतिनिधि र स्थानीयहरुको लागि बालविवाह एक परम्परागत प्रचलन जस्तै भएको छ ।
सरोकारवाला निकायहरुसंग वाल विवाहको कुनै पनि विवरण नभए पनि स्वास्थ्य क्षेत्रमा हुन आउने गर्भवती महिलाहरुको उमेर दर हेर्दा बारेकोटमा हुने विवाहरुको करिब ६० प्रतिशत वाल विवाह हुने गरेको पाईन्छ ।
कोही भागेर कोही अभिभावककै सहमतिमा बालविवाह हुने गरेको देखिन्छ । यहाँ बालविवाह रोकथामका लागि सचेतनाका कार्यक्रम नभएका कारणले पनि बालविवाह बढेको देखिन्छ । प्रायः किशोरी आमा बनेका छन् भने केही किशोरी आमा बन्ने तरखरमा छन् । बारेकोट–१ रामीडाँडा स्वास्थ्यचौकीमा सेवा लिन आएका ७६ जना सुनौला हजार दिनका आमा मध्ये ३५ जना किशोरी उमेरका महिला कसैले काखमा बच्चा च्यापेका थिए भने कोही गर्भवती थिए । बारेकोट १ रामीडाँडाकी राधिका रोकाया वर्षले १७ पुगिन् । रोकायाको काखमा एक वर्षको बच्चा छ । अभिभावककै सहमतिमा आफूले १५ वर्षको उमेरमा विवाह गरेको सुनाईन् ।
राधिका जस्तै १९ वर्षकी स्नेहा रोकाया गर्भवती छन् । पेटमा आठ महिनाको बच्चा हुर्किरहेको बताईन् । रोकायाले पनि आफू अभिभावककै सहमतिमा विवाह गरेको बताईन् । स्नेहाले के भनौं जे भयो ठिकै छ भन्दै पेटको बच्चाको राम्रोका लागि आफू स्वास्थ्य संस्थामा पटक पटक आउने गरेको बताईन् । छ महिना गर्भ बसेका र बच्चा जन्माएका महिलाहरु पोषणयुक्त पिठो लिन आएका थिए । त्यहाँ रहेका महिलाहरु अधिकांश किशोरी उमेरकै थिए ।
कसैका चार बच्चा भएका वर्षले २६ सम्मका थिए भने कोही १६ वर्षदेखि माथि र २० वर्षमुनिका महिला गर्भवती र बच्चा जन्माएका थिए । बालविवाह गर्नुहुँदैन भनेर खासै चेतनाका कार्यक्रम नभएकाले पनि यस्तो भएको यहाँका नागरिकको भनाइ छ ।
दुई बच्चाकी आमा हिमाली नेपाली उमेरले २१ बर्ष पुगिन् । उनले बालविवाह गर्नुहुँदैन भनेर गाउँमा चेतना नभएकै कारणले सानै उमेरमा विवाह हुने गरेको बताईन् । आफू २१ वर्षको भएँ । तर दुई बच्चा छन् । चेतना हुन्थ्यो भने विवाह गर्ने उमेर अहिले होइन भनेर भनिन्थ्यो होला ।
चेतना अभिवृद्धि गर्ने निकायको अभावले पनि बारेकोट गाउँपालिका भरी बालविवाह हुने गरेको अभिभावकको भनाइ छ । बारेकोट ५ का दानबहादुर सिंहले यहाँ सानै उमेरमा विवाह गर्ने पुरानै चलन कायम रहेको बताए । ७६ वर्षीय सिंहले कानुनी रुपमा यति वर्ष उमेर पुगेकाले विवाह गर्ने हो भनेर जानकारी दिने निकायको अभाव भएको सुनाए । वडा नं ५ का निवर्तमान अध्यक्ष अजवीर सिंहले सरकारसँग जनशक्ति छैन, गैरसरकारी संस्थाको त्यस्तो कार्यक्रम नभएकै कारणले बालविवाह रोक्ने अभियान चलाउन नसकेको बताए ।
आफू दुई कार्यकाल गाउँ विकास समितिको अध्यक्ष र एक कार्यकाल सङ्घीयतापछि वडाध्यक्ष हुनुभएका ८१ वर्षीय अजवीर सिंहले बालविवाहका धेरै असर समाजमा देखापरे पनि समुदाय सचेत नभएको सुनाए ।
कतिपय किशोरीको सुत्केरी हुन नसकेर अकालमै ज्यान जाने गरेको छ । तर समुदाय यसमा सचेत हुन सकिरहेको छैन सिंहले चिन्ता व्यक्त गरे । कर्णालीका विभिन्न जिल्लामा बालविवाह विरुद्धको अभियान चलिरहेको छ । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल) जाजरकोटमा प्रवेश गरेको छ ।
भूकम्प प्रभावितको सहयोगका लागि बारेकोट कार्यक्षेत्र बनाएको किर्डाकले अब बालविवाहविरुद्धको अभियान पनि थाल्ने बताएको छ । किर्डाक नेपालका कार्यक्रम संयोजक गोविन्द कठायतले भूकम्प प्रभावितका लागि अस्थयी टहरासँगै बालविवाह, महिला हिंसा, गुणस्तरीय शिक्षालगायतका आफ्नो संस्थाका नियमित काम पनि जारी राख्ने बताए । टहरा निर्माणका लागि हाम्रा कर्मचारी जानुहुन्छ, त्यहाँ सबै कुरा हुन्छन् । विशेषगरी यहाँ बालविवाहको दर उच्च रहेकाले यसका असरका बारेमा सचेतना गरिने कठायतको भनाइ छ ।
बारेकोट गाउँपालिकाले पनि पछिल्लो समय बालविवाह न्यूनीकरणका लागि अनौपचारिक सल्लाह दिने गरेको बताइएको छ । गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बालविवाह, महिला हिंसा, जस्ता सामाजिक अपराधका घटना हुन नदिन सबै कर्मचारी र कार्यपालिका सदस्यलाई निर्देशन गरेको बताए ।
कारवाहीमा होईन संरक्षणमा स्थानीय सरकार
देशैभरीको प्रमुख समस्या रुपमा रहेको बालविवाह अहिले सम्म पनि ग्रामीण भेगहरुमा निरन्तर भईरहेको छ । कतिपय स्थानीय सरकारले बालविवाह गर्ने गराउने जस्ता गैरकानुनी कार्यमा संग्लन व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गरिरहेका छन् । कतिपय स्थानीय सरकारले बालविवाह जस्तो गैरकानुनी कार्यमा संग्लन भएका व्यक्तिहरुलाई संरक्षण गर्ने गरेको पाईन्छ । ग्रामीण भेगमा बालविवाह निरन्तर हुँदै आएका छन् । समाजमा दिन प्रतिदिन प्रत्यक्ष रुपमा बालविवाह निरन्तर हुँदा पनि स्थानीय सरकार र सरोकारवाला व्यक्ति मौन बसेका छन् । गरिबी, अशिक्षा, बेरोजगारी र स्थानीय सरकारको लाप्रवाहीको कारण ग्रामीण भेगमा बालविवाह निरन्तर रुपमा बढ्दै गएको हो ।
.
बालविवाह जस्तो गैरकानुनी कार्यमा संग्लन भएको व्यक्तिलाई कानुन बामोजिम सजाय गर्नुपर्नेमा हाम्रो स्थानीय सरकारका प्रतिनिधीहरु र सरोकोरवालाहरुले बालविवाह गर्ने गराउने व्यक्तिलाई संरक्षण गर्न तर्फ लागेको छन् । स्थानीय सरकार बनेको एक दशक पुग्न थालेको छ, यो समय अवधिमा दर्जनौं जोडीहरुले बालविवाह गर्दापनि एउटा पनि जोडीलाई कारवाही भएको छैन् । उल्टै चुनावमा भोटको संख्या बढ्छ भन्ने मनसायले उमेर पुग्दै विवाह गरेका व्यक्तिहरुलाई नगरेको भन्न लगाएर नेपाली नागरिकताको प्रमाण पत्रको सिफारिस गरी नागरिकताको प्रमाण पत्र दिने जस्ता गैरकानुनी काम गरेको स्थानीय बताउँछन् ।
वालविवाहबाट जीवनमा पर्न सक्ने असर, बालिकाको प्रजनन स्वास्थ्यमा पर्न प्रत्यक्ष अप्रत्यक्ष असरहरुको बारेमा थाहा नपाउनु, बाल अधिकार, कानूनी व्यवस्था बारेमा जानकारी नपाएका कारण पनि बालविवाह हुने गरेका छन् । बालबालिका सम्वन्धी ऐनले १६ वर्ष उमेर नपुगेका लाई बालबालिका भनिएको छ । कसैले विवाहको नाममा वा अन्य कारणले १६ वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा जर्वजस्ती करणीको गम्भीर अपराध हुने व्यवस्था रहेको छ ।
नेपाल सरकारको विवाह सम्बन्धी कानुनी व्यवस्था अनुसार अभिभावको मन्जुरीले केटा केटीको उमेर १८ वर्ष पूरा भएको र प्रेम विवाहको लागि केटाकेटी दुवैको उमेर २० वर्ष पुरा भएको हुनुपर्ने छ । विवाह गर्दा गर्दा वा गराउदा ढाँटेर, झुक्याएर, गफलतमा पारेर र केटा केटीको इच्छा एवं सहमति विपरित विवाह गर्न गर्न वा गराउन हुँदैन ।
कसैले कानूनले तोकेको उमेर पूरा नभएको अवस्थामा वा झुक्याएर वा केटा केटीको इच्छा विपरित जात, धर्म, परम्परा आदिका नाममा विवाह गरे गराएका खण्डमा विवाह बदर हुने र त्यसरी विवाह गर्ने गराउनेलाई उमेरको अवस्था हेरी ६ महिला देखि ३ वर्ष सम्म कैद र जरिवाना हुने व्यवस्था गरिएको छ । कानुनी व्यवस्थालाई स्थानीय सरकारले पुर्णरुपमा पालना गर्नुपर्ने स्थानीय सरकार र सरोकारवाला व्यक्तिहरुले नै यसको संरक्षण गरेको स्थानीयको गुनासो छ ।
विवाह अघि वडाको सिफारिस अनिवार्य
कुशे गाउँपालिका वडा नम्बर ९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो । वडाध्यक्ष शिवराज गिरीले भने, ‘बढ्दै गएको बाल विवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीहरूमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ ।’ विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बाल विवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको अध्यक्ष गिरीले जानकारी दिए ।
वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री वडाको दिगोपनका लागि विवाहका लागि उमेर पुगेका यूवायूवतीले वडा कार्यालय बाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनाईएको वडाध्यक्ष गिरीले बताए । जन्मदर्ता र नागरिकता साथमा ल्याई विवाहका लागि सिफारिस लिन सकिने छ । गत बर्ष देखि वडाले सो नियम कार्यान्वयनमा ल्याएको छ । अहिले नियम कार्यान्वयन भईरहेको अध्यक्ष गिरीले बताए ।
हाम्रो पहुँच संवाददाता । २३ माघ २०८०, मंगलवार