सहर बनाउन जग्गा एकीकरण

blog
सुर्खेत । चौरजहारीलाई नयाँ सहरका रूपमा विकास गर्न जग्गा एकीकरण अघि बढेको छ । व्यवस्थित सहर विकास निर्माणका लागि जग्गा एकीकरणको काम तीव्र पारिएको हो ।

स्थानीयको नाममा रहेको जग्गा सरकारको नाममा सार्ने काम धमाधम अघि बढाइएको छ । माघ ३ गते बसेको मन्त्रीपरिषद् बैठकले घारीगाउँ (चौरजहारी नयाँ सहर) जग्गा एकीकरण आयोजनाका लागि ५८५ रोपनी जग्गा प्राप्त गर्न स्कीकृति प्रदान गरेको छ ।

केही स्थानमा ब्लग योजना निर्माण सम्पन्न गरेर भौतिक पूर्वाधार निर्माणको काम सुरु गरिएको आयोजनाले जनाएको छ । स्थानीयको जग्गा सरकारको नाममा सारी एकमुष्ट बनाएर मुख्य तथा सहायक सडक निर्माणको काम सुरु गरिने छ ।

चौरजहारी नगरपालिका–१ स्थित घारीगाउँमा जग्गा एकीकरण कार्य सुरु भएको आयोजनाका सबइन्जिनियर नेत्र बुड्थापाले बताउनुभयो । उहाँका अनुसार आयोजनाका विभिन्न चरणका काम धमाधम भइरहेको छ ।

सरकारले स्वीकृति प्रदान गरेको जग्गा एकीकरण गरी पूर्वाधार निर्माणका काम थालिने बुड्थापाले जानकारी दिनुभयो । आधुनिक बस्ती विकास गर्ने उद्देश्यसहित जग्गा एकीकरणको काम भइरहेको हो । पूर्वाधार निर्माणको काम पूरा भएपछि सो जग्गा जग्गाधनीलाई नै फिर्ता गरिने छ । जग्गा एकीकरण आयोजना अन्तर्गत जमिनलाई आधुनिक तथा व्यवस्थित बस्ती बसाल्न उपयुक्त बनाउन पूर्वाधार निर्माण गर्न लागिएको आयोजनाले जनाएको छ ।

ठेक्का सम्झौता

चालु आर्थिक वर्षमा चौरजहारी नयाँ सहर आयोजना निर्माणका लागि दुई वटा योजनाको ठेक्का सम्झौता गरिएको छ । बहुवर्षीय योजना अन्तर्गतका दुई वटा योजनाको ठेक्का सम्झौता गरेर काम अघि बढाइएको हो ।

आर्थिक वर्ष २०७९/८० को बहुवर्षीय कार्यक्रम अन्तर्गत सभा हल निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भएको छ । २०८० साल असार २० गते नेपाल आदर्श निर्माण कम्पनी प्रालि काठमाडौँसँग ठेक्का सम्झौता गरिएको हो ।

२०८२ साल असार ३० गतेसम्म निर्माण सम्पन्न गर्ने गरी १२ करोड ९८ लाखमा ठेक्का सम्झौता गरिएको जनाइएको छ । डिपिआर निर्माण गरेर सभा हल निर्माण कार्य थालिएको छ ।

बहुवर्षीय कार्यक्रम अन्तर्गत कभर्ड हल निर्माणका लागि ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । गत असार २० गते कभर्ड हल निर्माणका लागि ठेक्का सम्झौता गरिएको हो ।

पहिलो चरण अन्तर्गतको ‘स्ट्रक्चर’ निर्माणका लागि नयाँ ठेक्का सम्झौता भएको छ । २०८१ असार २५ गतेसम्म निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । एमबी कन्स्ट्रक्सन चौरजहारीसँग एक करोड सात लाख ६३ हजारमा कभर्ड हल निर्माणको सम्झौता गरिएको हो ।

पहिलो चरण अन्तर्गत ८० प्रतिशत काम सकिएको आयोजनाका सबइन्जिनियर बुड्थापाले बताउनुभयो । यो वर्ष कभर्ड हल निर्माणको पहिलो चरणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यस्तै दुई वटा योजना ठेक्का सम्झौताको चरणमा रहेको आयोजनाले जनाएको छ । ल्यान्डफिल्ड साइटसम्म पुग्नका लागि आठ सय मिटर सडक स्तरोन्नति गरिने छ, त्यसका लागि एक करोड बजेट विनियोजन गरिएको छ ।

उक्त योजनाको ठेक्का सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । जसका लागि ४० लाख बजेट विनियोजन गरिएको छ । विभिन्न खण्ड बनाएर निर्माण कम्पनीमार्फत सडक कालोपत्रे, ग्राभेल र ढल निकासको काम भइरहेको छ ।

हालसम्म आयोजनाको ५२ प्रतिशत काम सम्पन्न भएको छ । ५० किलोमिटर सडकको ट्र्याक खोलिएको छ । साढे सात किलोमिटर सडक कालोपत्रे भएको छ । ५६५ वटा सौर्य बत्ती जडान, चार वटा विभिन्न भवन तथा एउटा बसपार्क निर्माणको काम सम्पन्न भएको जनाइएको छ ।

अहिले ढल, फुटपाथ र नाली बनाउने काम पनि जारी छ । न्यूनतम सहरी सुविधा दिने गरी सहर बनाउने सरकारी योजना अनुरूपको काम भइरहेको छ । २० वर्षे सहर निर्माणको योजना अन्तर्गत काम थालेको १२ वर्ष बितेको छ ।

बजेट पर्याप्त भएमा तोकिएकै समयमा काम गर्न सकिने आयोजनाको दाबी छ । न्यून बजेट हुँदा काम गर्न कठिन भइरहेको छ । बजेट अभाव हुँदा समयमै ठेक्का लगाउन नसकिएको, काम अपुरो हुने गरेको, थप बजेट माग गर्नका लागि अर्थ मन्त्रालयमा धाइरहनुपर्नेलगायतका समस्या हुने गरेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ मा १७ करोड मात्र बजेट विनियोजन गरेको छ । जसले गर्दा तीव्र गतिमा काम गर्न समस्या हुने आयोजनाले जनाएको छ । आयोजना निर्माण सम्पन्न गर्न दुई अर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया