अस्थायी आवास निर्माणमा किन सुस्त स्थानीय सरकार ?

१४ हजार ९७२ अस्थायी आवास निर्माण


जाजरकोट । जाजरकोटमा १४ हजार ९७२ अस्थायी आवास निर्माण भएका छन् । अन्य १५ हजार बढी अस्थायी आभास निर्माणको चरणमा छन् । बारेकोटको रामीडाँडा केन्द्रविन्दु भएर भुकम्प गएको तीन महिना पुग्न लाग्दा पनि हालसम्म १४ हजार ९ सय ७२ वटा मात्रै अस्थायी आवास निर्माण भएका छन् । जम्मा ४२ हजार ५ सय २४ लाभग्राही कायम भएको जाजरकोटमा अझै २७ हजार ५ सय ८० अस्थायी आवास निर्माण हुन बाँकी छन् ।

नलगाड नगरपालिकामा ६ हजार ८ सय १८, कुशे गाउँपालिकामा २ हजार ४ सय ६६, बारेकोट गाउँपालिकामा एक हजार ६ सय ३१, भेरी नगरपालिकामा १ हजार ४ सय ३८ , छेडागाड नगरपालिकामा १ हजार ३ सय १७, शिवालय गाउँपालिकामा एक हजार २ सय ७६ र जुनीचाँदे गाउँपालिकामा २६ गरी १४ हजार ९७२ अस्थायी आवास निर्माण भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ । विकास साझेदार संघ संस्थाले ५२२ वटा अस्थायी आवास निर्माण गरेका छन् । जाजरकोटमा करिब १५ हजार अस्थायी आवास निर्माणाधीन अवस्थामा छन् । अझै १३ हजार १७० परिवारले पहिलो किस्ताकै रकम पाउन सकेका छैनन् ।

२८ हजार ४ सय सात परिवारले मात्र पहिलो किस्ताको रकम पाएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए । उनले लाभग्राही छनौट देखि अनुदान रकम हस्तान्तरण देखि अस्थायी आवास निर्माण सम्मको दायित्व स्थानीय सरकारको भएको बताउँदै जुन गतिमा काम हुनुपथ्र्यो त्यो गतिमा काम हुन नसकेको बताए । कर्मचारी अभाव, बैकको ढिलासुस्ती, लाभग्राहीकै हेलचक्रयाई, जनशक्ति अभाव आदि कारणले अस्थायी आवास निर्माणमा ढिलाई भैरहेको उनको भनाई छ ।

हिउँद सकिन लाग्दा पनि अझै कुल लाभग्राहीको आधाले पनि अस्थायी आवास बनाउन सकेका छैनन् । हिउँदको चिसोमा भुकम्प पीडितहरु त्रिपालमै रात कटाउन बाध्य छन् । सरकारी प्रक्रियागत झण्झट र ढिलासुस्तीका कारण पुर्ननिर्माणमा ढिलाई भैरहेको पीडितहरुको गुनासो छ । सरकारी ढिलासुस्ती र प्रक्रियागत समस्याका कारण अस्थायी आवास निर्माणका साथै पुर्ननिर्माणमा ढिलाई भैरहेको बारेकोट— ०४ का मालबहादुर सिंहले बताए ।

स्थानीय सरकारहरुले भने लाभग्राही छनौटमा समय लागेको बताउने गरेका छन् । जुनीचाँदे गाउँपालिकाका अध्यक्ष वेदबहादुर शाहीले अघि लाभग्राही छनौटमा समय लागेपनि अस्थायी आवासको काम धमाधम चलिरहेको बताए । उनले भने, ‘अलि पहिला हामीलाई लाभग्राही छनौटमा समस्या आयो, अहिले भने धमाधम काम भईरहेको छ ।’

तपाईको प्रतिक्रिया