जाजरकोट । एक हातमा तरबार अर्काे हातमा ढाल समाएर नाचिने नाच हो खाँडो । शुक्रबार गैरीखालीमा खाँडो नाचको रौनकता देखेर जिल्लाका नयाँ तथा पुराना पुस्ता दंग थिए । जिल्लाको कुशे गाउँपालिका वडा नं.— ५ मा परम्परा देखि नै नाचिने खाँडो नाच गैरीखालीमा सात वटै स्थानीय तहका दर्शकले हेरे । नेपाल एकीकरणको वेला नाचिएको नाच जोगाउन कुशेका जनप्रतिनिधी निकै सक्रिय छन् । वडाध्यक्ष हरीबहादुर सिंहको नेतृत्वमा नै खाँडो नाच नाचिएको थियो । यस्तै, जुनीचाँदे गाउँपालिकाका सहभागीहरुले आफ्नै सुर र तालमा देउडा गीत प्रस्तुत गरे ।
देउडा पारखीहरु आनन्द लिई रमाईरहे । त्यहाँको नेतृत्व वडा नं —२ का वडाध्यक्ष रामबहादुर नेपालीले गरेका थिए । यी त केही उदाहरण मात्रै हुन् । शु्क्रबार जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको दोस्रो बार्षिक उत्सव समारोहमा जिल्लाका सात वटै स्थानीय तहका प्रस्तुती रहेका थिए । नलगाड नगरपालिकाको ख्याली नाच, शिवालय गाउँपालिकाको मारुनी, बारेकोटको दरी, भेरीको सिंगारु नाचले हेर्ने जतिले जाजरकोट संस्कृतिको खानी भएको दावी गरे । बारेकोट गाउँपालिका ०२ रोकायगाउँका ६४ बर्षिय जस्वीर रोकाय पनि कार्यक्रमका दर्शक बनेर आएका थिए । जव कार्यक्रममा पौराणिक नाच तथा एतिहासिक संस्कृतिहरु झल्किन थाले । उनले आफु जवानी भएको वेला रमाईलो गरेको याद आएको बताए ।
‘आज मलाई निकै खुशी लागेको छ, मेरो जवानीको सम्झना दिलाईदियो उनले भने, ‘यस्ता कार्यंक्रमहरुले जाजरकोटको पहिचान बोल्छन् ।’ जाजरकोट कला तथा साहित्यको उद्गम थलो भएको वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयका प्रधानध्यापक गोरखबहादुर सिंहले बताए । यहाँको कला, साहित्य र रहनसहन नै जाजरकोटको पहिचान भएको समेत सिंहले बताए ।
जाजरकोटका हरेक सम्पदा संरक्षण गर्ने दायित्व यूवा पुस्ताको भएको र पौराणिक तथा ऐतिहासिक नाचलाई महत्व दिईएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए । संस्कृति संरक्षणका लागि जाजरकोट सम्पदाले ठूलो पहल चालिरहेको समेत अध्यक्ष केसीको भनाई छ ।
जाजरकोटमा लुकेका र लुकाईएका प्रतिभाको खोजी गरी जाजरकोटको छुट्टै पहिचान बनाउनु्पर्नेमा सरोकारवालाहरुको जोड छ । गैरीखालीमा देखिएको दृश्यले जाजरकोटको पहिचान बोलेको नागरिक समाज जाजरकोटका अध्यक्ष राजेन्द्र विक्रम शाहले बताए । उनले भने, ’गैरीखालीमा देखिएको दृश्यले जाजरकोटीको पहिचान बोल्छ,संस्कृति संरक्षणमा हामी सबै जुट्नुपर्ने वेला आएको छ ।‘ हामीले अहिले हाम्रो पहिचानलाई विर्सियौं भने हाम्रो अस्तित्व समेत मेटिने अध्यक्ष शाहको भनाई छ ।
अहिलेको समयमा विभिन्न खालका विकृतिहरु आईरहेको वेला प्रतिष्ठाले गरेको यो निकै महत्वपूर्ण कार्यक्रम भएको शाहको दावी छ । लोकझांक्री, लोकबाजा सहितले गैरीखालीमा जाजरकोटीको पहिचान बोलिरहेको छ । यसको संरक्षणका स्थानीय सरकार सहित सरोकारवालाहरु जुट्न आवश्यक रहेको देखिन्छ । सम्पदा रहे मात्र हाम्रो सम्पति जोगिन सक्छ ।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको दोस्रो बार्षिकोत्सव
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको दोस्रो बार्षिकोत्सव समारोह सम्पन्न भएको छ । दुई दिने समारोहमा भुकम्पपछि जाजरकोटी सम्पदाहरुको पुर्ननिर्माणमा हाम्रो दायित्व बिषयक बक्तित्वकला र डेउडागीत प्रतियोगिता, जाजरकोट दरबारको चित्रकला प्रतियोगिता, कृषि मेला, औद्योगिक प्रदर्शनी, मौलिक संस्कृतिक प्रस्तुती, सम्मान लगाएतका कार्यक्रमको आयोजना गरेर प्रतिष्ठानको दोस्रो बार्षिकोत्सव समारोह सम्पन्न भएको हो ।
संस्था दर्ता ऐन–२०३४ अनुसार जिल्ला प्रशासन कार्यालय, जाजरकोटमा दर्ता भएको दुई बर्ष पुरा भएको अबसरमा प्रतिष्ठानले दोस्रो बार्षिकोत्सव समारोहको आयोजना गरेको थियो । समग्र जिल्लाका सम्पदा संरक्षणमा योगदान गर्ने उदेश्य राखेर गठन तथा दर्ता गरिएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको दोस्रो बार्षिकोत्सवमा कृषि विकास कार्यालय, जाजरकोटले कृषि मेला प्रदर्शनीको आयोजना गरेको थियो भने, उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटले औद्योगिक प्रदर्शनी तथा प्रतियोगिताको आयोजना गरिएको थियो । कृषि तथा औद्योगिक प्रदर्शनी मेलामा फलफुल, कन्दमुल, तरकारी, मौरीको मह, नेपाली हाते कागज, अल्लोको धागोबाट बनाइएका विभिन्न कपडाहरु, सुइटर लगाएतका हातबाट बनाइएका विभिन्न सामाग्रीहरु प्रदर्शनी गरिएको थियो ।
प्रतिष्ठानको दोस्रो बार्षिकोत्सव समारोहमा आयोजित जाजरकोट दरबार सम्बन्धिको चित्रकला प्रतियोगिता र भुकम्पपछि जाजरकोटी सम्पदाहरुको पुर्ननिर्माणमा हाम्रो दायित्व बिषयक बक्तित्वकला प्रतियोगितामा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले भाग लिएका थिए भने, डेउडागीत प्रतियोगितामा स्थानीय महिला तथा पूरुषहरुले भाग लिएका थिए । कुशे गाउँपालिकाको खाँडो, नलगाड नगरपालिकाको ख्याली, शिवालय गाउँपालिकाको मारुनी, जुनीचाँदे गाउँपालिकाको डेउडा, बारेकोट गाउँपालिकाको लहरे पैसेरु, छेडागाड नगरपालिकाको मयुर नाँच प्रदर्शन गरिएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको दोस्रो बार्षिकोत्सव समारोहका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्मा रहेका थिए भने, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी सुरेश सुनार रहेका थिए ।
अन्य अतिथिहरुमा लब्ध प्रतिष्ठीत व्यक्तिहरु रहेका थिए । त्यसैगरी प्रतिष्ठानको बार्षिकोत्सव समारोहमा जाजरकोट जिल्लाकी अन्तराष्ट्रिय भलिवल खेलाडी कामना विष्ठलाइ जाजरकोटी तारा सम्मान गरिएको थियो । विष्ठलाइ दोसल्ला, माला र सम्मान पत्रसंगै नगद प्रदान गरेर सम्मान गरिएको थियो ।
हाम्रो पहुँच संवाददाता । १३ माघ २०८०, शनिबार