जाजरकोट । जाजरकोटमा यस बर्ष ३२ करोड ४८ लाख बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको छ ।
आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लामा आठ हजार १ सय २० मेट्रिक टन सुन्तला जात उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना कार्यान्वयन इकाई जाजरकोटले जनाएको छ । उक्त सुन्तला बिक्री गरेर कृषकले २७ करोड आम्दानी गरेको प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना कार्यान्वयन इकाइ जाजरकोटका प्रमुख दिपेन्द्र पोखरेलले जानकारी दिए । कृषकको खेतबारीमा ३२ करोड ४८ लाख बराबरको सुन्तला उत्पादन भएको मुल्यांकन गरेपनि हाल सम्म २७ करोड बराबरको आम्दानी भएको तथ्यांक संकलन गरिएको प्रमुख पोखरेलले बताए ।
चालु आवमा छ सय २० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो । गत बर्षको तुलनामा २२ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको पोखरेलले बताए । ‘गत बर्ष १ हेक्टर क्षेत्रफल बाट १०.७ मेट्रिक टन उत्पादन भएको थियो’ उनले भने, ‘चालु आवमा १३.१ मेट्रिक टन प्रति हेक्टर उत्पादन भएको छ ।’
आ.ब २०७९÷८० मा ५६० हेक्टर क्षेत्रफलमा सुन्तलाजात फलफुल खेती गरिएको थियो साथै आ.व ०८०÷८१ मा खेति गरिएको क्षेत्रफल ६२० हेक्टर खेति भएको जोन क्षेत्र भित्रका कुशे गाउपालिका, नलगाड नगरपालिका, भेरी नगरपालिका र छेडागाड नगरपालिकाका वडाहरुमा खेति भईरहेको छ ।
आर्थिक २०७९÷ ८० जोन क्षेत्र भित्रको उत्पादकत्व अनुमान गर्दा १०.७ मे.टन प्रति हेक्टर रहेको थियो । चालु आ.वमा उत्पादकत्व अनुमान गर्दा १३.१ रहेको छ । जुन गत आ.व २०७९÷८० को भन्दा २२ % उत्पादकत्वमा वृद्धि भएको छ ।
उत्पादकत्व बृद्धि हुनुका मुख्य कारणहरु असल बगैचा व्यवस्थापन, काटछाट, अनुकुल मौसम, सिंचाई क्षेत्र विस्तार, बगैचा सुदृढीकरण कार्यक्रम संचालन, आकस्मिक वाली संरक्षण शिविर, स्थलगत तथा जिल्ला स्तरीय क्षमता अभिवृद्धि तालिमबाट सिकेका प्राविधिक ज्ञान सिप व्यवहारमा लागु गरि उत्पादकत्व बढेको पाइन्छ ।
साथै यस वर्ष उत्पादन पनि गत आवको भन्दा बढी भएको छ यस वर्ष नयाँ उत्पादनशिल बगैचा र असल वगैचा व्यवस्थापन मुख्य कारण भएको पोखरेलले बताए । पोखरेलले भने, ‘प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित हुँदै गएका छन् । कार्यालयले सुन्तला खेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । उनले भने, ‘कृषकलाई सुन्तला बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइरहेका छौँ ।’
सुन्तला खेर जान नदिन सेलार स्टोर
सडकको पहुँचदेखि अन्य कारणले सुन्तलाले बजार पाउन नसकेको भन्दै समस्या भोगिरहेका किसानहरुका लागि सेलार स्टोर स्थापना गरेर बजारीकरण गर्न लागिएको छ । जाजरकोटका विभिन्न ठाउँमा सेलार स्टोर स्थापना गरेर यस्तो काम गरिएको हो । किसानले उत्पादन गरेका सुन्तलाबाट राम्रो आम्दानी गरि आर्थिक रुपमा सक्षम बनाउका लागि जाजरकोटमा छ ठाउँमा सेलार स्टोर स्थापना गरिएको छ । सिजनमा ४० रुपैयाँ प्रतिकिलो सुन्तला बिक्री गर्न समेत हैरानी भोग्दै आएका किसानहरू अब सेलार स्थापनासँगै खुसी भएका छन् ।
सुन्तला सेलार स्टोरमा राखेर फागुन देखि चैत सम्म बिक्री गर्न पाएमा राम्रो मूल्य पाउने सम्भावना रहेको छेडागाड नगरपालिका–१० का नरेश बिक्रम शाहले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना , परियोजना कार्यान्वयन इकाइ कार्यालय जाजरकोटको आर्थिक सहयोगमा निर्माण भएका सेलार स्टोरमा सुन्तला जम्म गरि सुरक्षित राखेमा चैत महिना गर्मी याममा राम्रो आम्दानी गर्न सकिने उनले बताए ।
गर्मी मौसममा सुन्तलाको माग उच्च हुने भएपछि सो समय सम्मा सेलार स्टोर बाहेक अन्यमा सुन्तला राख्न समस्य हुने गर्दछ । सुन्तलालाई उचित तापक्रममा सुरक्षित राखेर मूल्य पाउने समयमा बिक्री गर्ने उदेश्यका साथ सेलार स्थापना गरिएको परियोजनाका प्रमुख दीपेन्द्र पोखरेलले जानकारी दिए । कुशे गाउँपालिका–५,७ र ८ ,छेडागाड नगरपालिका–१०र १२ , नलगाड नगरपालिका– ३ मा सेलार स्थापना भएका हुन् । यि क्षेत्रमा सबै भन्दा बढी सुन्तला उत्पादन हुने गर्दछ । बेमौसममा पनि सुन्तला तथा अन्य तरकारीहरु बजारमा ल्याइ बिक्री वितरण गरि आर्थिक रुपमा बलियो बन्नु रहेको छ । सिजनमा सस्तोमा बिक्री वितरण तथा कुहिएर खेर जाने समस्या हल गर्नका लागि यो काम थालिएको पोखरेलले जानकारी दिए ।
प्रतिसेलार १५ लाख ८५ हजारमा निर्माण गरिएका सेलारलाई परियोजनाले १० लाख ३३ हजार ३३३ रुपैयाँ र कृषकले ५ लाख ६१ हजार ६६७ रूपैयाँ ब्यहोरेर सेलार स्टोर निर्माण गरिएको छ । ६ वटा ठाउँ यही तरिकाले अनुदान उपलब्ध गराएको छ । किसानलाई आधुनिकीकरण र व्यवसायीकरणमा जोडनका लागि सेलार सिस्टमा लगानी गरेको प्रमुख पोखरेलले जानकारी दिए । सडकको पहुँच सबै ठाउँमा नहुँनुका साथै सस्तोमा बिक्री गर्दा आर्थिक रुपमा ठूलो नोक्सान हुने भएकाले सेलार स्टोरमा सुरक्षित गरि उचित समयमा बिक्री गर्न सकिने उनले बताए ।
५ मेट्रिक टन क्षमताको रहेका सेलारहरुमा ६ महिना सम्म सुन्तला सुरक्षित गर्न सकिन्छ । त्यस्तै सुन्तलालाई हुकाउन तथा बढाउनका साथै प्राविधिक सल्लाह समेत दिने गरिएको छ । त्यस्तै विभिन्न तरकारी तथा फलफूल ढुवानी गर्नका तीन वटा गाडी खरिदमा परियोजनाले आर्थिक सहयोग समेत गरेको छ । विद्युत पुगेको ठाउँमा विद्युतबाट र अन्य ठाउँमा सोलार सिस्टमबाट चार्ज गरेर सुन्तला राख्ने व्यवस्था मिलाएको छ । परियोजनाका अनुसार किसानको मागहरु प्रत्येक वर्ष नयाँ ,नयाँ सेलारहरु स्थापना गर्दै जाने योजना रहेको छ ।
किसानको खेतबारीमै पुगेर मल प्रयोग ,काटछाट तथा औषधि दिने सम्मको प्राविधिक कुराहरू दिएर किसानलाई सहयोग गरिरहेको परियोजनाका धरम चन्दले जानकारी दिए । परियोजना लागू भएको ठाउँमा किसानको माग अनुसार प्राविधिक खटिएर सहयोग गदै आएको उनको भनाई छ । खेर जाने सुन्तलाबाट पछिल्लो समय जाजरकोटका किसानहरूले राम्रो आम्दानी गर्दै आएका छन् । वर्षेनी लाखौँको सुन्तला बिक्री हुँदै आएको कुशे ५ दम्दालाका दिपक ओलीले जानकारी दिए । सुन्तलाको माग उच्च रहेको समेत उनको भनाई छ । आफ्नै गाडी भएकाले माग अनुसार विभिन्न ठाउँमा लिएर बिक्री हुँदै आएको उनले जानकारी दिए ।
हाम्रो पहुँच संवाददाता । ७ माघ २०८०, आईतवार