बारेकोटमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर


बारेकोट । बारेकोट गाउँपालिकाको लिम्सामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । बारेकोट गाउँपालिकाको समन्वय, आयुर्वेद स्वास्थ्य केन्द्र खलंगा, जाजरकोटको आयोजना र आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशको सहआयोजनामा शुक्रबार उक्त शिविर सम्पन्न भएको हो ।

उक्त शिविरबाट हाडजोर्नी, नसा सम्बन्धि, महिला सम्बन्धिका विभिन्न रोग, पाइल्स, फिवर, फिस्टुला, ग्यास्टिक लगाएतका रोगका बिरामीहरुको उपचार गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र, जाजरकोटमा कार्यरत डा. धनवीर बुढाले जानकारी दिए । डा. बुढाले दिएको जानकारी अनुसार उक्त शिविरबाट ३१६ जनाले सेवा लिएका छन् । शिविरबाट सेवा लिनेहरुमा १०६ जना पुरुष रहेका छन् भने, २१० जना महिला रहेका छन् ।

आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशले उक्त शिविरमा प्राविधिक र औषधी सहयोग गरेको थियो । शिविरमा प्रदेश आयुर्वेद तथा अनुसन्धान केन्द्र सुर्खेतमा कार्यरत विशेषज्ञ चिकित्सक डा. खेम तिमिल्सिना, डा. शंकर रिजाल, आयुर्वेद स्वास्थ्य केन्द्र मुगुमा कार्यरत डा. रेणु डिसी लगाएतका चिकित्सकहरु सहभागी भएका थिए ।

डा. धनवीर बुढाको अध्यक्षतामा औपचारिक कार्यक्रमको आयोजना गरेर उक्त शिविर संचालन गरिएको थियो । आयोजित औपचारिक कार्यक्रमको प्रमुख अतिथि बारेकोट गाउँपालिकाका अध्यक्ष वीर बहादुर गिरी, विशेष अतिथि गाउँपालिकाका उपाध्यक्ष नर बहादुर गिरी रहेका थिए भने, अन्य अतिथिमा डा. शंकर प्रसाद रिजाल, आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेश अध्यक्ष छबिलाल खड्का रहेका थिए । कार्यक्रमको संचालन प्रभात सुवेदीले गरेका थिए भने, शुभकामना मन्तव्य नरेन्द्र बहादुर कठायतले गरेका थिए ।

तपाईको प्रतिक्रिया