जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले घर बनाउँदा नक्सा पास अनिवार्य बनाएको छ । विहीबार एक सूचना जारी गर्दै नगरपालिकाले पक्की वा कच्ची घर बनाउँदा नक्सा पास अनिवार्य बनाएको हो ।
गत कात्तिक १७ गते बारेकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भुकम्पले नगरपालिका भित्र जनधन, पशुचौपाया लगाएत धेरै घरहरु भत्किएका तथा चर्कियर वस्न नमिल्ने भएका घरहरु पुनः निर्माण गर्नुपर्ने भएकाले अनिवार्य नक्सा पास गर्न आग्रह गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए ।
राष्ट्रिय भवन सहिंता कार्यान्वयन कार्यविधी २०६०, वस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ तथा यस नगरपालिकाको भवन निर्माण तथा नक्सा पास निर्देशिका २०७९ अनुसार सुरक्षित आवास तथा भुकम्प प्रतिरोधी घर निर्माण गर्नको लागि अनिवार्य नक्सा पास लिई पक्की वा कच्ची निर्माण गर्न आग्रह गरिएको अधिकृत घर्तीले बताए ।
सुचनाको अवज्ञा गरी घर निर्माण गरेमा सम्बन्धित घरधनिलाई यस नगरपालिका तथा सम्बन्धित वडा कार्यालयबाट प्राप्त हुने स्थायी आवास पुनःनिर्माण, वैंकिङ लोन प्रयोजन, विमा प्रयोजन, पानी, विजुली, लगायत अतिआवश्यक सिफारिसहरुमा रोक लगाई सेवा दिन नसकिने समेत अधिकृत घर्तीले बताए ।
याे सूचना हेर्नुहाेस्
हाम्रो पहुँच संवाददाता । १९ पुष २०८०, बिहीबार