जाजरकोट । जाजरकोटमा भूकम्प पीडित क्षेत्रमा पाँच हजार दुई सय तीन वटा अस्थायी आवास निर्माण भईसकेका छन् । जिल्लामा सबैभन्दा धेरै नलगाड नगरपालिकामा तीन हजार दुई सय २७ वटा अस्थायी आवास निर्माण भएका छन् ।
राजनीतिक दलका कार्यकर्ता, संघसंस्थाका स्वयम्सेवक तथा नागरिक आफैले पनि जाजरकोटमा अस्थायी आवास निर्माण गरिरहेका छन् । हालसम्म बारेकोट गाउँपालिकामा एक हजार ६ सय ३१. भेरी नगरपालिकामा एक सय ५०, कुशे गाउँपालिकामा एक सय आठ र शिवालय गाउँपालिकामा ७७ वटा अस्थायी आवास निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जाजरकोटको तथ्यांकमा नलगाड नगरपालिका र जुनीचाँदे गाउँपालिकामा अस्थायी आवास निर्माण शुरु भएको देखिदैन ।
१६ हजार लाभग्राहीसँग सम्झौता
भूकम्प प्रभावित कुल ३५ हजार एक सय ४० लाभग्राही हुन् । सो मध्ये हालसम्ममा १६ हजार दुई सय ३४ लाभग्राहीसँग अस्थायी आवास अनुदानका लागि सम्झौता भईसकेको छ ।
पालिकागत रुपमा हेर्दा भेरी नगरपालिकामा दुई हजार ३८, नलगाड नगरपालिकामा आठ हजार २२ र छेडागाड नगरपालिकामा एक हजार ८६ लाभग्राहीले अस्थायी आवासका लागि सम्झौता गरिसकेका छन् ।
बारेकोट गाउँपालिकामा एक हजार ६५, कुशे गाउँपालिकामा एक हजार एक सय ५२ र शिवालय गाउँपालिकामा दुई हजार आठ सय ७१ लाभग्राहीले सम्झौता गरेको जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।
६ हजारले पाए पहिलो किस्ता
जाजरकोटमा हालसम्म कुल १७ करोड ११ लाख ५० हजार रुपैयाँ वितरण भईसकेको छ । अस्थायी आवास निर्माणका लागि सम्झौता भएका मध्ये ६ हजार आठ सय ४६ जना लाभग्राहीले पहिलो किस्ता वापत २५ हजार रुपैयाँ पाईसकेका छन् ।
पहिलो किस्ता भुक्तानी पाएकाहरुमा भेरी नगरपालिकामा दुई हजार ३८, छेडागाड नगरपालिकामा तीन सय ७० बारेकोट गाउँपालिकामा एक हजार ६५, कुशे गाउँपालिकामा पाँच सय दुई र शिवालय गाउँपालिकामा दुई हजार आठ सय ७१ जना लाभग्राही छन् ।
७७ करोड निकासा
जिल्ला विपद् व्यवस्थापन समितिबाट हालसम्म जाजरकोटका पालिकाहरुमा ७७ करोड रकम निकासा भईसकेको छ । समितिले जाजरकोटका सात वटा स्थानीय तहलाई कुल ७७ करोड ६३ लाख ७५ हजार रुपैयाँ निकासा गरेको हो । पालिका गत रुपमा हेर्दा भेरी नगरपालिकालाई हालसम्म ६ करोड ३७ लाख २५ हजार रुपैयाँ निकासा भईसकेको छ ।
नलगाड नगरपालिकालाई २० करोड २४ लाख २५ हजार, छेडागाड नगरपालिकालाई नौ करोड १६ लाख, बारेकोट गाउँपालिकालाई १३ करोड ९६ लाख ५० हजार रुपैयाँ निकासा भएको छ । कुशे गाउँपालिकालाई १३ करोड २१ लाख ७५ हजार, जुनीचाँदे गाउँपालिकालाई ६ करोड ४० लाख ७५ हजार र शिवालय गाउँपालिकालाई आठ करोड २७ लाख २५ हजार रुपैयाँ निकासा भएको प्रजिअ सुनारले बताए ।
हाम्रो पहुँच संवाददाता । ११ पुष २०८०, बुधबार